मार्टाले क्लोजलाई पनि पछि पारिन्



लन्डन, (एजेन्सी)
फीफा महिला विश्वकप फुटबलअन्तर्गत मंगलबार रातिको खेलमा ब्राजिलले इटालीलाई १–० ले हराउँदा मार्टाले इतिहास रचेकी छन् ।

समूह ‘सी’ को खेलमा पेनाल्टी गोल गरेसँगै मार्टाले विश्वकपमा १७औं गोल गर्दै नयाँ कीर्तिमान राखिन् । पुरुष र महिला विश्वकपमै यो सर्वाधिक व्यक्तिगत गोलसंख्या हो । योसँगै मार्टाले जर्मनीका स्ट्राइकर मिरोस्लोभ क्लोजलाई समेत पछि पारेकी छिन् । क्लोजले पुरुष विश्वकपमा सर्वाधिक १६ गोल गरेका छन् ।

यस्तै यसै समूहको अर्को खेलमा अस्ट्रेलियाले जमैकामाथि ४–१ गोलअन्तरको जित निकालेको थियो । समूहका सबै खेलहरु सकिंदा ईटाली, अस्ट्रेलिया र ब्राजिलको समान ६–६ अंक भएको छ । गोलअन्तरको आधारमा ईटाली शीर्ष स्थानमा रहँदा अस्ट्रेलिया दोस्रो तथा ब्राजिल तेस्रो स्थानमा छ । यी तीनवटै टोलीहरु नक आउट चरणमा प्रवेश गरेका छन् ।

महिला विश्वकप फुटबलमा सहभागी २४ टोलीलाई ६ समुहमा विभाजन गरिएको छ । प्रत्येक समूहका विजेता र उपविजेताले स्वतः नक आउट चरणमा प्रवेश पाउनेछन् । त्यसैगरी तेस्रो हुने ६ टोलीमध्ये उत्कृष्ट ४ टोली पनि राउन्ड अफ–१६ पुग्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्