सिकाइ र लेखाइबाट हुन्छ द्रुत विकास



सिकेर–लेखेर के हुन्छ, कहिल्यै नभन्नुस् । कारण, आज संसारमा जति पनि विकास भइराखेको छ, यही प्रक्रियाबाट भइराखेको छ भने हाम्रो मुलुकको विकास कुन ठूलो कुरा हो र ? तर लालच नगर्नुस्, स्वार्थी नहुनुस् । सर्वप्रथम आफू सच्चिने संस्कार बनाउनुस् । मुलुकको द्रुत विकास आफसे आफ हुन्छ । लोकतन्त्रपश्चात् व्यवस्थित नभए पनि केही विकास भई पनि राखेको छ । यति मात्र हो, त्यो विकासमा हाम्रो कति योगदान छ ? त्यो सोचनीय कुरा हो ।

हामीले जतिसुकै मुलुकमा स्कुल, कलेजहरुको स्थापनाको विकास देखे पनि पढाइमा स्तरीयता हुनु जरुरी छ । त्यसमाथि पनि जबसम्म हाम्रो देशमा औसतमा शिक्षित वर्ग धेरै हुँदैनन् तबसम्म मुलुकको विकास हुन गाह्रो छ । बोली र अखबारहरुमा विकासलाई मानिसहरु मान्न तयार छैनन् । यसैको उपज हो आज देशमा लोकतन्त्र आएको ३ दशक भइसक्यो तापनि देश भाँडभैलोको रुपले गुज्रिराखेको छ, जुन भनिराख्नुपर्ने कुरा होइन ।

हामीले जतिसुकै लोकतन्त्र, प्रजातन्त्र, गणतन्त्र, संघीयताको नखरा गरेर अघि बढी राखे पनि त्यो भन्दा पनि जरुरी मानिसले आफ्नो खराब सोच–संस्कारलाई परिवर्तन गरी अघि बढ्नु हो । खै त यहाँ जनतालाई करले कस्ने ? सत्ता, भत्ता, जत्थालाई अँगाल्ने, यसबाहेक गुटबन्दी, आफ्नो मान्छे गफ, अल्छीपना आदि कुरा एकनासले दोहोरिराखेका छन् । जुन हामी सर्वसाधारणले भोगिराखेका कुरा हुन् । उदाहरणका लागि बेरोजगार, भ्रष्टाचार, लथालिंग मुलुकको हालत । यस्तो बेला पनि मुलुक हाँक्नेहरु कुर्सी, गफ, कलह आदि कुरामा अल्झिराखेको हामी पाउँछौं ।

यो मुलुकमा एउटा विडम्बनाको कुरा के छ भने, मानिसलाई परिराखेका केही समस्या पञ्चायतकालको समयदेखि अहिलेसम्म उस्तै छ । न त यसलाई समाज र सरकारले बदल्न सकेको छ, न यी बूढाखाडा नेताहरुले गम्भीर भएर यसतर्फ विचार पु¥याउन सकेका छन् । देशको अझै पनि झन्जटिलो प्रशासन, कुरुप बाटाहरु, व्यक्तिहरुको अल्लारे लालच, सोच र सरकारहरुको ढिड अनि एकोहोरोपन हिसाबको कार्य गर्नेजस्ता सोचलाई कसैले बदल्न सकेन, जुन दुःख लाग्दो कुरा हो । पुराना नेताहरुले अब बिस्तारै युवा पुस्तालाई शासन सुम्पने हो भने यो भन्दा राम्रो अरु केही हुनेछैन । अहिलेको घडीमा नयाँ पुस्ताले देशका लागि जुन कार्य गर्न सक्छन् त्यो कार्य अहिलेका राज्य चलाउनेहरुलाई गर्न गाह्रो छ ।

हन त यो मुलुकमा पुराना बूढाखाडा नेताहरुका पनि केही योगदान नभएका होइनन । यिनीहरुले विगतमा धेरै दुःख खाए, जेल गए । तर यिनीहरुले दुःखमा बितेका दिनका बदलामा चाहेका कुराहरु पनि त पाइसके नि ! मुलुकमा लोकतन्त्र आयो, मान्छेले लेख्न पाए, बोल्न पाए, मौलिक अधिकार र हकहरु पाए, साथै मानिसका जीवनस्तरहरु पहिलाभन्दा केही फेरिए । तर अब यसको मतलब यो पनि त होइन नि ! जिन्दगीभर शासन आफैंले मात्र अँगालेर बस्ने ? कि कसो ? अब यिनीहरु वाचडगको रुपमा माथि बसेर युवापुस्तालाई शासन हस्तान्तरण गरी रेखदेख गर्ने हो । अनि मात्र मुलुकको द्रुत विकास सम्भव छ, अन्यथा यो मुलुकको हाल सधैँ उस्तै हो । सधैँ रक्सीको बोतलमा रक्सी फेरी–फेरी राख्ने होइन कि रक्सीको बोतल नै फेर्नु आजको जनमानसको चाहना हो ।

हामीले जति पनि कुरा ग¥यौं, यी सब कुरा तब नै सम्भव हुन्छ जब यो देशमा राम्रा–राम्रा बुद्धिजीवीहरु अग्रसर हुन्छन् । यो मुलुकमा बुद्धिजीवी र राम्रा पढेलेखेका जमातको तब नै विकास हुन्छ, जब सरकारले स्वार्थ, लालचपना, गुटबन्दी त्यागेर स्कुल–कलेजमा विद्यार्थीका लागि अनिवार्य नैतिक तथा राजनीतिक ज्ञानका विषय अनिवार्य गर्दछ । त्यसकारण हाम्रो जस्तो मुलुकको विकास चाहने हो भने सरकारले स्वार्थ भावना र जनताले आफ्नो अल्लारे भावनालाई त्यागेर नैतिक तथा राजनीतिक शिक्षालाई अँगाल्नै पर्छ अनि हेर्नुस् हाम्रो देशको भविष्य कस्तो हुनेछ ? एकतर्फबाट नेताहरुको पनि चाहना त यही नै हो नि ! आशा गरौं, विद्यार्थीलाई यस्ता शिक्षा दिन राणा–शाहले जस्तै आजका नेताले बन्देज लगाउँदैनन् होला भन्ने लाग्छ ।
– रमेश केशरी वैद्य, छत्रपाटी, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्