संगठनको अपनत्व र छवि



भीमबहादुर पन्थ
संगठन यस्तो होस् कि जीवनपर्यन्तसम्म पनि स्मरणीय रहिरहोस् । हजारौं–लाखौंमा एकादुई फरक स्वभाव र सोचाइका हुन सक्लान्, समग्रमा संगठनमा आबद्ध बहालवाला हुन् वा अवकाशप्राप्त किन नहुन्, सबैका मानसपटलमा सदा स्मरणीय हुन सकेमात्र कुनै पनि संगठनको छवि चिरकालसम्म मननीय रहन्छ । सकारात्मक छवि स्थापित गर्न संगठन प्रमुखलगायत मातहतका कार्यालय प्रमुखहरु एकाग्र भई लाग्नु जरुरी छ । अन्यथा अनुशासित फौजी संगठनको मर्यादा, संस्कार इतिहासमा सीमित हुने निश्चित छ ।

कुनै पनि फौजी संगठनमा आबद्ध भई निश्चित अवधि बिताई संगठनबाट बिदाइ भए तापनि उसको मानसपटलमा संगठनप्रतिको झुकाव, माया, ममता कहिल्यै हट्दैन । भलै आ–आफ्ना व्यक्तिगत परिस्थिति र बाध्यताले प्रत्यक्षरुपमा व्यक्त नभएका होलान्, अन्तष्करणबाट कहिल्यै मेटिँदैन । फौजी संस्कार, कल्चरमा सम्लग्न भैसकेको व्यक्ति सिभिलियनजस्तो हुनै सक्दैन । उदाहरणको रुपमा यदि कुनै समारोहमा राष्ट्रिय धुन बज्न शुरु हुन्छ ऊ आफैं सतर्क पोजिसनमा उभिएर सम्मान व्यक्त गर्छ । आयोजक वा उद्घोषकले अनुरोध गरिरहनै पर्दैन । स्वस्फूर्तरुपमा प्रस्फुटित भैदिन्छ । केही चामलका घुन हुन सक्लान्, अधिकांशमा यही संस्कार विद्यमान रहन्छ ।

संगठन भनेको केही दिनको शीतल ताप्ने चौतारी मात्रै हो । जीवनको पहिलो एकचरण समाजमै रहेका थियौं, सेवापश्चात्को करिब दुई चरण समाजमै रहन बाध्य छौं । तसर्थ एक चौथाइ अवधिलाई पनि आफ्ना सहकर्मीसँग घनिष्ट सम्बन्ध राख्दै आफ्नो कार्यकाल सहजरुपमा बिताउने हो भने अवकाशपश्चात्को जीवन पनि सम्मानजनकरुपमै व्यतीत हुन्छ । एक चौथाइ सेवाकाललाई कठोरताका साथ व्यतीत गरियो भने अवकाशपश्चात्को जीवन चास्नीबाट निकालेको माखो (झिँगो) जस्तै हुने कुरामा दुईमत नहोला । उदाहरण धेरै छन्, व्यक्त गरिरहन नपर्ला ।

फौजी संगठनको कार्यप्रकृति नै अत्यन्त कठोर, निर्दयी स्वभावको हुने कुरामा कसैको दुईमत छैन । तैपनि अन्य सामान्य अवस्थामा पनि कठोर, निर्दयी, अमर्यादित, असमान व्यवहार प्रस्तुत हुने गरेका धेरै उदाहरण देखिँदै, भोगिँदै आएको छ । असमान व्यवहारको खुलेर विरोध नगर्नुको अर्थ यो होइन कि अन्याय भएकै छैन । आफ्ना कुरा राख्ने अवसर नपाएको कारणले विरोधका आवाज नसुनिएका मात्र हुन् । समान व्यवहारको अपेक्षा सबैले गरेकै हुन्छन्, भलै कोही खुलेरै विद्रोहमा उत्रिन्छन् भने कोही मनमा उकुसमुकुस हुँदै सही दिनुको विकल्प देख्दैनन् । फौजका जवानहरुमा विद्रोहको जन्म नभएका भने होइनन्, यदाकदा विदेशमा मात्र होइन कि नेपालमै पनि देखिएकै छ । तसर्थ यस्तो अवस्था आउन नदिन नेतृत्व गर्ने वर्ग सचेत हुन जरुरी छ । कोही काखा कोही पाखा पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै अवसरको समान वितरण सबैभन्दा महत्वपूर्ण विषय हो ।

फौजका जवानहरुमा विद्रोहको जन्म नभएका भने होइनन्, यदाकदा विदेशमा मात्र होइन कि नेपालमै पनि देखिएकै छ । तसर्थ यस्तो अवस्था आउन नदिन नेतृत्व गर्ने वर्ग सचेत हुन जरुरी छ । कोही काखा कोही पाखा पार्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै अवसरको समान वितरण सबैभन्दा महत्वपूर्ण विषय हो ।

एउटा जवान तयार गर्न कति लगानी गर्नुपर्छ भन्ने कुरा त बेला–बेलामा सुन्नमा आएकै छ । अनुभवी, तालिमप्राप्त दक्ष जनशक्तिलाई संगठनमा आबद्ध भइरहने माहोल सृजना गर्न नसकेमा संगठन सधैँ कमजोर, विकासक्रममै रहिरहन्छ, कहिल्यै परिपक्वता आउँदैन र सहयात्री संगठनहरुले हेयको दृष्टिकोणबाट व्यवहार गर्ने गर्दछन् । संगठनलाई परिपक्व, सुदृढ, सक्षम बनाउने संगठनका सदस्यहरुले नै हो । आफ्ना सदस्यहरुमा आफ्नो भविष्य सुदृढ, सुरक्षित हुने कुरामा निर्धक्क भई हरदम संगठनप्रति नै बफादार रहने वातावरण सृजना गरिनुपर्दछ । आफ्नो कार्यकालको एकदिन पनि ड्युटीमा रहने अठोट गर्नेसम्मको लोयल बनाउन सकेमा मात्र संगठन नं. १ बन्न सक्छ । उदाहरणको रुपमा स.प्र. बल नेपालको शुरुका संगठन प्रमुखहरुका कार्यशैलीलाई अवलम्बन गरे मात्रै पनि पर्याप्त हुन्छ । त्यस्तै संगठनप्रति निष्ठावान् संगठन प्रमुख÷युनिट प्रमुखको खाँचो छ । तत्कालको अत्यन्त जोखिमपूर्ण अवस्थामा पनि निडरताका साथ प्रतिकारमा उत्रिएकै कारण धेरै क्षति व्यहोर्नुपरेन सशस्त्र प्रहरी बल संगठनले । द्वन्द्व चरम उत्कर्षमा पुगेको ०६१ देखि ०६३ सम्म दाङ र बाँके जिल्लाको विभिन्न सुरक्षा युनिटको प्रमुख र सहयोगी सुरक्षा अधिकारीको नाताले धेरै अनुभव बटुल्ने अवसर यस लेखका पंक्तिकारलाई पनि प्राप्त भयो । अझसम्म पनि ती परिघटनाहरु मानसपटलमा ताजै छन् ।

‘कि आफू जान्नु नभए अरुले भनेको मान्नु’ भनेझैँ आफूभन्दा अग्रज लामो इतिहास बोकेका संगठनहरुको सकारात्मक कार्यशैलीको अनुसरण गर्दै आफ्ना सदस्यहरुको हित तथा भलाइमा अग्रसर हुनुमा नै नेतृत्ववर्गको क्षमता प्रस्टिन्छ । नेपाली सेनाले आफ्ना अधिकृतहरुलाई उनीहरुको व्यक्तिगत क्षमता हेरेर कार्यालय प्रमुखको अवसर उपलब्ध गराउने, शान्ति सेनाअन्तर्गत अव्जर्भर मिसनमा मौका दिने, मिसनमा खटिएको अवस्थामा कमान्डरको जिम्मेवारी र चेन अफ कमान्डलाई प्राथमिकता दिँदै केही रकम थप उपलब्ध गराउने गर्दै आएको देखिन्छ । अन्य सुरक्षा निकायहरु भने समानताको नाममा चेन अफ कमान्ड नै ध्वस्त हुने गरी समान सुविधा उपलब्ध गराउँदा कमान्डरको पदीय मर्यादामै खलल पर्नेसम्मको गतिविधि व्यहोरिँदै आइएको छ ।

यसै गरी अवकाशपश्चात् पनि विभिन्न कल्याणकारी सेवा प्रदान गर्ने महान् उद्देश्यले सञ्चालित केन्द्रहरुको नेतृत्व हस्तान्तरण गर्दै आएको देखिन्छ । त्यही सेनाको सकारात्मक पद्धतिलाई अनुसरण गर्न पनि अन्य सुरक्षा निकायहरु असहज मानिरहेका छन् । अब्जर्भर मिसनको अवसर पाइसकेपछि केही निश्चित समय कमान्ड नदिने परिपाटी छ । जसले त्यस्ता अवसर पाएका हुँदैनन्, तिनीहरुलाई प्राथमिकता दिने गरिन्छ । त्यस्तै अन्य सुरक्षा संगठनमा भने त्यसको ठीक उल्टो शैली अपनाउँदै आएको देखिन्छ । उदाहरणको रुपमा मिसनबाट फर्की आउन पाएको छैन, विदेशमा कार्यरत रहँदै कार्यालय प्रमुखको रुपमा पोस्टिङ गरिने गरिन्छ ।

जुन सदस्यहरुको मिसनमा छनोट हुने कम सम्भावना रहन्छ तर संगठनका व्यावसायिक क्रियाकलापहरु उत्कृष्ट हुन्छन्, त्यस्ता कर्मठ सदस्यहरुलाई कार्यालय प्रमुखको रुपमा जिम्मेवारी दिने परिपाटी अवलम्बन गरिएको पाइँदैन । यहाँसम्म कि संगठनमा लामो उतारचढाव पार गर्दै आएका वरिष्ठ अधिकृतहरुलाई पाखा लगाउँदै केही संगठन प्रमुखको कार्यकालमा त आफूले प्रशिक्षण दिएका चेलाहरुलाई मौका दिएको कटु यथार्थ स्वीकार गर्नै पर्ने अवस्था आयो । संगठन प्रमुख कार्यकाल समाप्त हुनुभन्दा एक महिना अघिदेखि बिदामा बस्नुपर्ने प्रचलनलाई लत्याउने अनि अन्य अधिकृतहरुलाई २ वर्षभन्दा कम सेवा अवधि भएका अधिकृतहरुलाई कार्यालय प्रमुखको जिम्मेवारी दिन कन्जुस्याइँ गर्ने गलत प्रवृत्ति हाबी भयो । त्यसको मुख्य आसय अवकाशको समय आइपुगेका अधिकृतहरुलाई राम्रो अवसर दिनुभन्दा आफ्ना खेमाका अधिकृतहरुलाई सुवर्ण अवसर दिई उनीहरुबाट यथेष्ट फाइदा लिनु नै हो ।

तमाम सदस्यहरुमध्ये उल्लेखनीय कार्य गर्ने सीमित सदस्यको नामसँगै उसको मातृ संगठनको समेत नाम जोडिएर आउँछ । उदाहरणको रुपमा सुरक्षा सल्लाहकार, राजदूत, थिंक ट्यांकका रुपमा पूर्वसुरक्षा अधिकारी नियुक्त हुँदा सम्बन्धित संगठनले पनि गौरव अनुभूति गर्दछ । हालका दिनहरुमा त कतिपय राजनीतिक पार्टीमा आबद्ध भई राष्ट्रिय पार्टीबाट टिकट प्राप्त गरी प्रतिनिधिसभाका माननीय सदस्यको हैसियतमा पूर्वसुरक्षा अधिकारी पुग्न सफल भइसक्नुभएको छ । सुरक्षाकर्मीहरुका लागि यो ठूलो खुशीको कुरा हो । सुरक्षाका सवालमा प्रेस जगत्मा प्रत्यक्ष कार्यक्रममा आफ्ना भनाइहरु राख्ने अवसर आएको खण्डमा आफ्नो संगठनको कर्तव्य र अधिकार प्रस्ट्यउँदै उत्कृष्ट अभिव्यक्तिले संगठनका सदस्यहरुमा गौरवको अनुभूति हुन्छ । आफ्नो विषयमा पारंगत त्यस्ता अधिकृतको प्रस्तुतिमा त गर्व गर्ने सदस्यले संगठनको कुभलो चिताउँने सम्भावना नै रहँदैन ।

क्षणिक कालखण्डलाई जीवनको अमूल्य समय ठानी आर्थिक तथा सामाजिक हैसियत अभिवृद्धिको एकमात्र विकल्प ठान्ने प्रवृत्ति हाबी हुँदासम्म संगठनका तमाम सदस्यले आफ्ना वरिष्ठ अधिकारीको कार्यशैलीप्रति अपनत्व स्वीकार गर्ने सर्वस्वीकार्य संस्कारको विकास हुनै सक्दैन । जबसम्म सर्वस्वीकार्य कार्यशैली अवलम्बन गरिँदैन तबसम्म गुटगत (खेमा) भावनाको समाप्ति नसोचे हुन्छ । नजिक र टाढाको भावनाले व्यवहार प्रस्तुत गर्ने कुत्सित मनसायले अभिप्रेरित जमातको वर्चश्व कायम रहँदासम्म सीधासाधा, पेसाप्रति बफादार, मेहनती जमातको कहिल्यै भलो हुँदैन । अवसरवादी जमातले सधैँभरि अवसर पाइरहने, संगठनप्रति निष्ठावान् सदस्यहरुले दालभातको भरमा पारिवारिक समस्याबाट गुज्रँदै कठिन फौजी जीवनको वास्तविक यथार्थको साछी बन्नुको विकल्प रहँदैन । यस्तो गलत प्रवृत्तिलाई संगठनबाट सदाका लागि पन्छाएर विशुद्ध व्यावसायिक फौजी संगठनजस्तो संगठनप्रति निष्ठावान्, कर्तव्यपरायण, अनुशासित सदस्यहरुको साझा थलोको रुपमा विकास गर्न सकिएको अवस्थामा मात्रै संगठनले देश र देशवासीको हित एवम् भलाइको लागि एकलव्य भई कर्तव्य पालनामा तल्लीन रहन सक्ने कुरामा दुईमत नहोला ।
(लेखक पन्थ अवकाशप्राप्त सशस्त्र प्रहरी उपरीक्षक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्