प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने पक्राउ



सिरहा । प्रहरी अधिकृतलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक अपिलराज बोहरालाई आर्थिक प्रलोभन देखाई प्रभाव पार्न खोजेको भन्दै प्रहरीले सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी ३९ वर्षीय इन्द्रनारायण यादवलाई पक्राउ गरेको हो ।

प्रहरी नायब उपरीक्षकको कार्यकक्षमा आई यादवले तपाईसँग केही काम गराउँछु, तपार्इंलाई पनि मिलाउँछु भन्दै आर्थिकरूपमा अनुचित प्रभावमा पार्न खोजेपछि यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

पक्राउ परेका यादवमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बोहराले बताए । अवैध समानसहित तीन पक्राउ प्रहरीले सिरहाको विभिन्न स्थानबाट करीब रु तीन लाख मूल्य बराबरको अवैध समानसहित तीन जनालाई पक्राउ गरेको छ ।

सिरहाको औरही–४ बाट करीब रु दुई लाख मूल्य बराबरको अवैध कपडासहित सिरहाको अर्नामा गाउँपालिका–३ निवासी बिन्देश्वर महतो र औरही गाउँपालिका–४ निवासी बिजुली यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी औरहीबाट खटिएको टोलीले शङ्का लागेर स४प १११५ र स८प ११६ नंको मोटरसाइकल जाँच गर्ने क्रममा अवैधरूपमा ल्याउँदै गरेको कपडा अन्य सामानसहित दुवैलाई पक्राउ गरेको जनाएको छ ।

यस्तै प्रहरीले सिरहाको सुखीपुर नगरपालिका–५ स्थित बाटोमा जाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर नेपालतर्फ स५प ३१२१ नंको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा करीब रु ५० हजार मूल्य बराबरको सामानसहित सिरहा नगरपालिका–२२ हकपारा निवासी २४ वर्षीय विजयकुमार यादवलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

बरामद सबै सामान तथा व्यक्तिलाई आवश्यक कारवाहीका लागि जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्