सरकारलाई प्रतीपक्षको दबाबः राष्ट्रको अहितमा हुने विधेयक फिर्ता गर



काठमाडौं, (नेस) । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता शेरबहादुर देउवाले जनताको अहितमा सरकारले ल्याएका सबै विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ ।

बैठकको सुरुमा बोल्दै देउवाले नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक, राष्ट्रिय मान अधिकार विधेयक, शान्ति सुरक्षा विधेयकलगायतका धेरै विधेयक फिर्ता लिन देउवाले दबाब दिनुभयो । उहाँले कुनै पनि हालतमा नेपाल मिडिया काउन्सिलसम्बन्धी विधेयक पारित गर्न नदिने चेतावनी पनि दिनुभयो ।

कांग्रेसका अन्य सांसदले पनि विधेयकले देशको अहित हुने भएकाले सरकारलाई पुनर्विचार गर्न आग्रह गरे । केही बिबादित विधेयक संघीय संसद सचिवालयमा दर्ता भएपनि संसदमा पुग्न बाँकी छ ।

बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । हिजोको संसद बैठकको विषयमा सांसदहरुले आआफ्नो धारणा राखेका थिए ।

सत्तापक्षका सांसदले प्रधानमन्त्रीले संसदमा पहिले बोल्न पाउनुपर्छ भनेका थिए भने कांग्रेस सांसदहरुले प्रमुख प्रतिपक्षी दलले बोल्न पाउनुपर्ने अधिकार भएको भन्दै प्रधानमन्त्री र सभामुखको आलोचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्