आज देशभर भारी वर्षा हुने सम्भावना, गर्मी ह्वात्तै घट्ने



नेपाल समाचारपत्र, काठमाडौं ।

आज बुधबार देशभर वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशभर आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन तथा हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

अहिले पूर्वी क्षेत्रमा मौसम बदली छ। पूर्वी क्षेत्रका बाक्लो बादल लागेकाले त्यहाँ केहीबेरमै पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन ।

यसैगरी आज मध्यपश्चिम र सुदूरपश्चिमका धेरै स्थानमा वर्षा हुने सम्भावना छ। यी स्थानका तराई क्षेत्रमा पनि आज पानी पर्ने सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

त्यसै गरी मनसुन सुरु हुने संकेत देखिन थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसमविदहरुले बताएका छन् । मनसुन भित्रिनका लागि पश्चिमी वायुको प्रभाव पूर्णरुपमा हट्नु पर्ने र अहिलेसम्म पनि त्यस्तो अवस्था नआएकाले ढिलाइ भएको हो । तर पूर्वबाट बिस्तारै पूर्वी वायुको प्रभाव देखिन थालेको छ । नेपालमा मनसुन भित्र्याउने पूर्वी वायु हो ।

मनसुन सक्रिय हुनका लागि कम्तिमा वायुमण्डलको तल्लो तहको तल्लो सतहमा पश्चिमी वायुको प्रभाव रहनु हुँदैन । अर्थात त्यसलाई पूर्वी वायुले विस्थापित गर्नु पर्छ ।

गएको सोमबार दिउँसोदेखि आंशिक तथा सामान्य बद्ली भएर बेलुका पानी परेपछि तापक्रम केही मात्रामा घट्दै गइरहेको छ ।

मनसुनको संकेत देखा पर्न थालेकाले अब बिस्तारै तापक्रम घट्दै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अब केहि दिन आशिंकदेखि सामान्य बद्ली भई बेलुका धेरै ठाउँमा पानी पर्ने र त्यसपछि मनसुन भित्रने भएकाले अब गर्मी बढ्ने सम्भावना नरहेको महाशाखाका मौसमविद्ले बताए ।

प्रतिक्रिया दिनुहोस्