निकासी पैठारीमा सरकारको नयाँ नीति, इनर्जी ड्रिंक्सको आयातमा रोक



नेपाल समाचारपत्र, काठमाडौं ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलले सबै प्रकारका शक्तिवद्र्धक पेयपदार्थ (इनर्जी ड्रिंक्स) को आयातमा रोक लगाएको छ।मन्त्रालयले निकासी तथा पैठारीसम्बन्धी नयाँ नीति जारी गर्दै सो रोक लगाएको हो।
मन्त्रालयले सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी निकासी पैठारीमा पूर्ण वा परिमाणात्मक बन्देज लगाउने आदेश जारी गरेको जनाएको छ। मुलुकको आयात–निर्यात व्यवस्थालाई नियमन गर्न तथा व्यापारमा सहजता एवम् स्पष्टता ल्याउनका लागि सरकारले निकासी पैठारी सूचित आदेशलाई परिमार्जन गरेको मन्त्रालयले जनाएको छ। २०६६ कार्तिक १६ गतेको राजपत्रमा प्रकाशित सूचनालाई करिब एक दशक अवधिपछि अद्यावधिक एवम् परिमार्जन गरी जेठ १० गतेको मन्त्रिपरिषद्ले नयाँ निकासी पैठारीसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको थियो।
सरकारले आयात निर्यातमा पूर्ण बन्देज लगाउने, आंशिक बन्देज लगाउने र परिमाणात्मक बन्देज लगाउने वस्तुसम्बन्धी व्यवस्थालाई परिमार्जन तथा हेरफेर गरेको छ। भन्सार विन्दुमा आइपुग्दा कुनै पनि उपभोग्य वस्तुको उपभोग्य समय ७५ प्रतिशत समय बाँकी रहनुपर्ने व्यवस्थामा गरिएको छ।
उपभोग्य वस्तुको आयात गर्दा उपभोग गर्ने समय एक वर्ष हुनुपर्ने र उत्पादन भएको चार महिनाभित्र नेपाल सीमामा हुनुपर्ने उल्लेख छ। निकासीमा पूर्ण बन्देज लगाइएका वस्तुहरूमा लागुऔषध नियन्त्रण ऐन, २०३३ ले लागुपदार्थ भनी परिभाषित गरेका सबै वस्तु, औद्योगिक, मेसिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थअन्तर्गत काँचो छाला रहेका छन्।
यसअघि, मादक पदार्थलाई पनि निकासीमा पूर्ण बन्देज लगाइएकोमा अहिले त्यसलाई हटाइएको छ। निकासीमा परिमाणात्मक बन्देज लगाएका वस्तुमा धान, चामल पनि रहेको छ। तर, हिमाली तथा उच्च पहाडी क्षेत्रमा उत्पादन हुने स्थानीय मौलिक प्रजातिका चामल सम्बन्धित निकायको सिफारिसमा निकासी गर्न परिमाणात्मक बन्देज भने लाग्ने छैन। साथै गहुँ, चिनी पनि छ। तर, यी वस्तुको निकासी परिमाण देशको आन्तरिक उत्पादन र आपूर्ति स्थितिलाई मध्यनजर राखी सरकारले निर्धारण गरे बमोजिम हुनेछ।रहरलगायत दालजन्य वस्तुको निर्यात खुला गरिएको छ।
त्यस्तै आयातमा पूर्ण बन्देज लगाइएका वस्तुमा ३० माइक्रोनभन्दा कम मोटाईका प्लास्टिक झोला तथा सिटको रहेका छन्। क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ र त्यस्ता अन्य पेय पदार्थको आयातमा पनि पूर्ण बन्देज लगाउने सरकारले निर्णय गरेको छ। मन्त्रालयले निकासीसम्बन्धी विशेष व्यवस्थामा भने स्वीकृत बैंकिङ प्रणालीअन्तर्गत भुक्तानी हुने गरी अमेरिकी डलर १० हजार मूल्यसम्मको वस्तु र बिना भुक्तानी अमेरिकी डलर एकहजार मूल्यसम्मको वस्तु हुलाक पुलिन्दा वा इजाजत प्राप्त कुरियरबाट निकासी गर्न सकिने व्यवस्था गरेको छ। सोभन्दा बढी मूल्यको निकासीको लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट इजाजत लिनुपर्नेछ।
त्यस्तै कुनै उद्योगले पैठारी गरेको मिल, मेसिनरीे उद्योगको प्रयोगमा नआउने भई अन्य मुलुकमा बिक्री गर्न चाहेमा वा उद्योग नै बन्द गरेमा दुईपक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने गरी उद्योग विभागको सिफारिसमा निकासी गर्न दिइनेछ। उद्योगले पैठारी गरेको कच्चा पदार्थ आफ्नो उत्पादनमा प्रयोग नहुने भई विदेशमा बिक्री गर्न चाहेमा दुई पक्षीय सन्धीमा प्रतिकूल असर नपर्ने गरी उद्योग विभागको सिफारिसमा निकासी गर्न दिइनेछ।
साथै उद्योगले पैठारी गरेको मिल, मेसिनरी, कच्चा पदार्थ र पार्टपूर्जाहरू सो उद्योगमा प्रयोग नहुने भएको वा गुणस्तर नमिलेको कारणले सोही प्रकारको अर्को वस्तु पैठारी गर्ने गरी वा भुक्तानी भएको विदेशी मुद्रा फिर्ता ल्याउने शर्तमा निकासीकर्तालाई नै फिर्ता पठाउनु परेमा उद्योग विभागको सिफारिसमा निकासी गर्न सकिनेछ।
निकासीमा पूर्ण बन्देज लगाइएका वस्तु
पुरातात्विक, ऐतिहासिक तथा धार्मिक महत्वका वस्तु, विदेशी तथा स्वदेशी सिक्का देवी–देवताको मूर्ति, ताम्रपत्र तथा भोजपत्र , पौबा, लागूपदार्थमा भने लागू औषध (नियन्त्रण) ऐन, २०३३ मा परिभाषा गरिए बमोजिमका लागू पदार्थ रहेका छन्।
त्यस्तै विष्फोटक तथा खरखजानाका वस्तु, विष्फोटक पदार्थलाई चाहिने फ्यूज वा फ्यूजको लागि चाहिने वस्तु, जंगी खरखजाना तयारीको लागि चाहिने पदार्थ, औद्योगिक मेसिनरी, पार्टपूर्जा तथा कच्चा पदार्थ, काँचो छाला (ड्राइ साल्टेडसमेत) तर वेट ब्लू छाला निकासीको सम्बन्धमा निकासीकर्ताले छाला निकासी परिमाणको न्यूनतम ३० प्रतिशत क्रस्ट वा पूर्ण प्रशोधित छाला वा छालाको वस्तु सोही आर्थिक वर्षमा निकासी गर्नुपर्छ। सो प्रयोजनको लागि प्रथम तहको छालाको मोटाईको आधारमा तयार हुने अन्य तहलाई समेत एक तह मानी निकासी गर्न सकिने मन्त्रालयले जनाएको छ। कच्चो ऊन तथा जंगली जीवजन्तुको रौंमा पनि बन्देज छ।
आयातमा रोक लगाइएका वस्तु
३० माइक्रोनभन्दा कम मोटाईका प्लास्टिक झोला तथा सिट, क्याफिनयुक्त शक्तिवद्र्धक पेय पदार्थ र त्यस्ता अन्य पेय पदार्थको आयातमा पनि पूर्ण बन्देज लगाउने सरकारले निर्णय गरेको छ। उपभोग्य वस्तुको आयात गर्दा उपभोग गर्ने समय एक वर्ष हुनुपर्ने र उत्पादन भएको चार महिनाभित्र नेपाल सीमामा हुनुपर्ने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्