प्रविधिको प्रयोगले निम्त्याएको दुर्दशा



प्रविधिको प्रयोगका कारण अहिले संसार साँघुरो हुँदै गएको छ । विश्वका जुनसुकै कुनामा भएका राम्रा वा नराम्रा खबर छिन्भरमै संसारभर फैलने गरेको छ । बढ्दो प्रविधिको प्रयोगलाई सदुपयोग मात्र होइन दुरूपयोग गर्नेको संख्या संसारभर दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।

यसले मानवजीवनमा कतै राम्रो प्रभाव पारेको देखिन्छ भने कतै यसले गर्दा मान्छेको ज्यान लिनेसम्मको हर्कत पनि गरेको छ । नेपालमा पनि प्रविधिको प्रयोगलाई दुरूपयोग गर्नेको संख्या दिन–प्रतिदिन बढ्दो अवस्थामा रहेको छ ।

दैनिकजसो प्रहरी कार्यालयमा सामाजिक सञ्जालका कारण आफू पीडित हुनुपरेको भन्दै युवतीहरूले निवेदन दर्ता गराउने र चाँडो न्याय नपाए आत्महत्या गर्नेसम्मको काम गरेको प्रहरीको तथ्यांकले देखाएको छ । नेपालमा हरेक दिन सरदर १५ जनाले आत्महत्या गर्ने गरेको र त्यसमा २४ प्रतिशतले आफू बदनाम हुने भएपछि मृत्युवरण गर्ने गरेको पाइन्छ ।

प्रविधिको विकाससँगै सामाजिक सञ्जालमा जोडिने युवायुवतीले आफ्ना सबै कुरा साथीसँग सेयर गर्ने र मन नमिलेपछि आफ्नै साथीलाई बदनाम गराउन सामाजिक सञ्जालमा चरित्रसँग जोडेर गोप्य कुरा सार्वजनिक गरिदिएपछि विषेश गरी युवाभन्दा पनि युवतीहरूले सामाजिक प्रतिष्ठाका कारण आत्महत्या गर्ने गरेको पाइन्छ । जुन कुरा प्रहरीले पछिल्लोपटक गरेको अनुसन्धानले पनि पुष्टि गरेको छ ।

प्रविधिलाई दुरूपयोग गर्नेहरूविरुद्ध राज्य जति कठोर हुनुपर्ने हो त्यो नहुँदा समाजमा आत्महत्याजस्तो अपराधले प्रश्रय पाएको छ । मुलुकमा हुने मानवमृत्युको पहिलो कारण सडक दुर्घटनापछि दोस्रो स्थान आत्महत्याले ओगटेको देखिन्छ । आत्महत्या गर्नेको संख्या दिन–प्रतिदिन बढ्दै जानु र यसको नियन्त्रणका लागि कहीँ–कतैबाट पनि प्रभावकारी पहल नहुनुले यो समस्या विकसित मुलुकको जस्तै टाउको दुखाइको विषय नबन्ला भन्न सकिन्न । यसतर्फ सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

हरेक वर्ष नेपालमा आत्महत्या गर्नेको संख्याको वृद्धिदर हेर्ने हो भने पनि त्यो कहाली लाग्दो अवस्था देखिन्छ । सरकारले सामाजिक सञ्जालको प्रयोगकर्तालाई नियमन गर्न खोज्दा राज्यविरुद्ध लाग्नेको संख्या पनि अत्यधिक देखिन थालेको छ ।

जो प्रविधिको बढी दुरूपयोग गर्ने काममा सक्रिय छन् तिनै व्यक्ति वा निकाय अहिले सरकारविरुद्ध लागेको देखिन्छ । यस्ता खाले हर्कत नियन्त्रण गर्न सरकारले कठोर नीति नअपनाउने हो भने भोलि सरकारले जतिसुकै राम्रा काम ल्याए पनि त्यही तत्वले जनतालाई विभिन्न भ्रम छरेर जनमानसलाई विछिप्त नबनाऊलान् भन्न सकिन्न । त्यसतर्फ पनि राज्यको ध्यान जान जरुरी भइसकेको छ । नेपालमा मध्यम वर्गीय समाज प्रविधिको पहुँचमा छ ।

यसले राज्यले गरेका गलत कामको खबरदारी गर्नुपर्नेमा राम्रा, नराम्रा सबै कामलाई एउटै बास्केटमा हालेर हेर्ने दृष्टिकोण बनाएका कारण समाज अहिले त्यही वर्गको पछि–पछि लागेको देखिन्छ । प्रविधिको प्रयोगलाई दुरूपयोग होइन, सदुपयोग गर्ने र गराउनेतर्फ अग्रसर हुनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्