नेपाली पासवर्डमा सन्नीको आइटम डान्स



फिल्मप्रति रुचि जगाउन यदाकदा भारतीय कलाकारलाई पनि समावेश गर्ने गरिन्छ। यसै क्रममा पासवर्ड नामक फिल्ममा क्यानेडियन पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीलाई प्रस्तुत गरिएको छ।

आगामी भदौ २७ गते अल नेपाल रिलिज गरिने फिल्ममा सन्नी लियोनीले आइटम डान्स गरेकी छिन्। उनको यो गीत हालै राजधानीमा आयोजित एक समारोहबीच सार्वजनिक गरिएको छ। आजको साम बोलको यो आइटम गीतमा सन्नीले करिब २ सय कोरस कलाकारका साथ हट डान्स गरेकी छिन्। अर्जुन पोखरेलद्वारा संगीतबद्ध गीतमा सन्नीकै नाम पनि जोडिएको छ। यसको छायांकन लन्डनमा गरिएको छ। यसको कोरियोग्राफी बलिउड कोरियोग्राफर विष्णु देभाले गरेका छन्।

विष्णुले साहरूख खान, सलमान खानजस्ता बलिउड हस्तीहरूलाई कोरियोग्राफी गर्दै आएका छन्। गीतमा रचना विक्रम जोशीको रहेको छ भने यसका नायक अनुपविक्रम शाहीलगायतलाई देखाइएको छ। सन्नीले यो गीतका लागि २ करोड भारतीय रुपियाँ लिएको दाबी निर्माण पक्षले गरेको छ।

एबी इन्टरनेसनलको ब्यानरमा विक्रम जोशी, हिरल जोशी र अमित बस्नेतले निर्माण गरेको एक्सन र थ्रिलर कथाको फिल्म सम्राट बस्नेतले निर्देशन गरेका हुन्। अनुपविक्रम शाही, विक्रम शाही, बुद्धि तामाङ, छुल्ठिम गुरुङलगायतका कलाकारले अभिनय गरेको फिल्म सौरभ लामाले छायांकन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्