इजिप्टका पूर्व राष्ट्रपति मोर्सीको निधन



एजेन्सी  इजिप्टका पूर्व राष्ट्रपति मोहम्मद मोर्सीको अदालतमा बयान दिनेक्रममा निधन भएको छ । कायरोको एक अदालतमा बयानका लागि उपस्थित भएका बेला मोर्सीको निधन भएको हो ।

मुस्लिम ब्रदरहुडका ६७ वर्षीय नेता मुर्सी आफूविरुद्धको जासुसीको अभियोगसम्बन्धी मुद्दाको सुनुवाइको लागि अदालतमा उपस्थित थिए।

सन् २०१२ मा राष्ट्रपति बनेका उनलाई एक वर्षमा नै सेनाले अपदस्थ गरेर विभिन्न अभियोगमा जेलमा राख्दै आएको थियो । एकान्त काराबासमा राखिएका उनलाई वकिल र परिवारलाई समेत कमै मात्रै भेट्न दिइन्थ्यो ।

सन् २०११ मा अरब वसन्त भनिने आन्दोलनका क्रममा होस्नी मुबारकलाई विस्थापित गर्दै मोर्सी सत्तामा आएका थिए । मुस्लिम ब्रदरहुडका प्रवक्ताले मुर्सीलाई उपचार सेवा समेत उपलब्ध नगराइएको बताएका छन्।

जासुसीसम्बन्धी अभियोग तथा प्यालेस्टाइनी इस्लामवादी समूह हमाससँग उनको शंकास्पद सम्बन्धबारेको मुद्दामा बयान दिए लगत्तै उनी बेहोस भएका थिए।

बाहिरको आवाज सुन्न नसकिने साउन्डप्रुफ सिसाको पिँजडाभित्रबाट उनले पाँच मिनेट बयान दिएका थिए। उनले अदालती कारबाहीमा बाधा नपुर्‍याउन् भनेर त्यस्तो पिँजडामा राखिएको दाबी गरिएको थियो । उनको मृत्युको कारण भने बताइएको छैन ।

तर प्रारम्भिक रिपोर्टमा उनको शरीरमा चोटपटकका कुनै ताजा निसान नभएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्