युनिलिभर धर्नामा ४१ मजदुर पक्राउ



हेटौंडा ।
हेटौंडाको बसामाडीमा रहेको वहुर्राष्ट्रिय कम्पनी युनिलिभर लिमिटेडमा धर्ना दिएका ४१ मजदुरलाई प्रहरीले पक्राउ गरेको छ ।
युनिलिभरले मजदुरलाई बिनाजानकारी एकाएक उद्योग बन्द गरी आफूहरुको रोजीरोटी खोसेको भन्दै आन्दोलनरत् हेटौंडा औद्योगिक क्षेत्रको गंगा सोपका मजदुरले युनिलिभर बसामाडीमा धर्ना दिएका थिए ।

उद्योगको आवागमनमा समस्या हुने गरी धर्ना दिएकोले ४१ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । विहान ८ बजे धर्नामा बसेका मजदुरलाई साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको हो ।
उद्योग पुनर्संञ्चालन तथा आफूहरुको रोजगारीको ग्यारेन्टी हुनुपर्ने मागसहित आन्दोलनरत् मजदुरले १० औं वर्षबाट काम गरिरहेका आफूहरुलाई उद्योग प्रशासनले बिनाक्षतिपूर्ति जागिरविहीन बनाएको बताएका छन् ।

यसअघि पटकपटक आन्दोलन गरे पनि निष्कर्ष निस्कन नसकेपछि मजदुरले युनिलिभर गेटमा धर्ना दिएका हुन् । उद्योग बन्द गरिए पनि मजदुरले क्षतिपूर्ति पाउन सकेका छैनन् ।

बहुर्राष्ट्रिय कम्पनी युनिलिभर नेपाल र ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरबीच विवाद जारी छ । युनिलिभर व्यबस्थापक रहेको गंगा सोप केमिकल इप्रालिमा करिब १३ वर्षदेखि सेवारत् करिब ७० कामदार/कर्मचारी बिस्थापित गर्न लागिएको भन्दै ट्रेड युनियन समन्वय केन्द्र मकवानपुर युनिलिभरसँग आक्रोशित बन्न पुगेको हो ।

उद्योगको उत्पादन सुचारु सञ्चालन एवम् कार्यरत् कर्मचारीलाई रोजगार निरन्तर गर्न बारम्बार भन्दै आए पनि युनिलिभरले नसुनेको केन्द्रले जनाएको छ । सम्बन्धित निकायमा पटकौं पटक अनुरोध गर्दा पनि पहल नभएकोले बाध्य भएर दबाबमूलक कार्यक्रम सञ्चालन गर्ने निर्णयसहित तीन महासंघले जेठ ५ गते संयुक्त ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्रमा उल्लेख गरिएको समयावधिभित्र ठोस प्रगति नभएको र संघर्षका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा स्थानीय प्रशासन, उद्योग संघ एवम् जिम्मेवार संघसंस्थाबाट समेत वार्ताबाट समस्या समाधान गर्न र संघर्षका कार्यक्रम नगर्न सुझाव आएको केन्द्रले जानकारी गराएको छ । उत्पादन तथा बिक्री वितरणमा प्रभाव पर्ने विरोध तथा संघर्षका कार्यक्रम स्थगन गर्न सम्बन्धित निकायले छलफलबाट शीघ्र उचित समाधान गर्न अनुरोध गरेको छ ।

युनिलिभरले स्पष्टीकरण विज्ञप्ति प्रकाशन गरी युनिक सोप र गंगा सोप एण्ड केमिकल इण्डष्ट्रिज प्रालि बन्द भएकोबारे गलत जानकारी फैलिएको बताएको छ । युनिलिभर र तेस्रोपक्ष उत्पादकका रुपमा रहेको सञ्चालक युनिक सोप र गंगा सोप एण्ड केमिकल इण्डस्ट्रिज प्रालि दुवैले आपसी सहमतिका आधारमा व्यबसाय रोक्ने निर्णय गरेको स्पष्टीकरणमा उल्लेख छ । युनिक सोप २६ कात्तिक र गंगा सोप एण्ड केमिकल उद्योग १७ चैतदेखि प्रभाव पर्ने गरी बन्द भएको युनिलिभरले जनाएको छ ।

युनिलिभरले दुवै सञ्चालकसँग दुई पक्षीय पारस्परिक सम्झौता समापन गरे पनि तेस्रोपक्ष उत्पादकले वास्तविक अबस्थालाई नजरअन्दाज गर्दै सम्झौता समापनका लागि सौहाद्र्रपूर्ण वातावरण सिर्जना नगरेको कम्पनीको दाबी छ ।

गंगा सोप सञ्चालक तथा प्रदेश–३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले युनिलिभरले एक्कासी सम्झौता भंग गरेर श्रमिकलाई बेघरबार बनाउन खोजेको आरोप लगाउनुभयो । उहाँले वहुर्राष्ट्रिय कम्पनीले उद्योगपति र मजदुरलाई बेघरबार बनाउने काम गरेको दाबी गर्नुभएको छ । ‘युनिलिभरले मजदुरलाई क्षतिपूर्ति दिनुपर्छ । सरकार पनि यस विषयमा गम्भीर हुनुपर्छ,’ उहाँले भन्नुभयो ।
‘भारतीय उद्योगपतिलाई काखी च्यापेर नेपाली उद्योगीलाई धरासयी बनाउने काम गरिएको छ ।

यस विषयमा अहिले नै सोचिएन भने नेपाली उद्योग नरहन सक्छन्,’ उहाँले भन्नुभयो । उहाँले युनिलिभरले नेपाली उद्योगलाई धरासयी बनाउने काम गरेको भन्दै आफूले मजदुरलाई उद्योग बन्द हुनुपूर्वको सबै दायित्व भुक्तानी गरेको बताउनुभयो । क्षतिपूर्तिको सवालमा युनिलिभर जवाफदेही हुने उहाँले दाबी गर्नुभयो ।

ट्रेड युनियन समन्वय केन्द्र मकवानपुरले युनिलिभर व्यबस्थापक रहेको गंगा सोप तथा युनिक सोप बन्द गरिँदा करिब ५ सय भन्दा धेरै श्रमिकको रोजीरोटी खोसिएको भन्दै कडा आन्दोलनको चेतावनी दिएको छ ।

यस विषयमा युनिलिभरले आफूले सम्पूर्ण कानुनी प्रक्रिया पालना गरेको बताएको छ । पूर्णपारदर्शिता र निष्पक्षता कायम गरी काम गरिरहेको जारी स्पष्टीकरणमा खुलाइएको छ । युनिलिभरले हाल २८ भन्दा बढी ब्रान्डद्वारा सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्