ए सरकार हामी भयौं बेरोजगार



हेटौंडा, (नेस)। देशमा व्याप्त अभाव, गरिबी र भ्रष्टाचारमाथि तिखो व्यंग्य प्रहार गरिएको हेटौंडेली युवा स्रष्टाको गीत ए सरकार–२ सार्वजनिक गरिएको छ। यसअघि पुष्पण प्रधानको स्वरमा भीमफेदी गाइजले फिचरिङ गरेको ए सरकारको सिक्वेलका रूपमा म्युजिक भिडियो सार्वजनिक गरिएकोे हो।
युवा दिवसको दिन पारेर भीमफेदी गाइजले ए सरकार, हामी भयौं बेरोजगार, कहिले हुन्छ हाम्रो घरबार बोलको गीत सार्वजनिक गरेको हो।

साहित्यकार एवं पत्रकार गिरिजा अधिकारीको शब्द रहेको गीतमा विकास पाण्डेको संगीत र देवेन्द्र कार्कीको स्वर छ। सरकार र पहुँचमा रहेका व्यक्तिले आफन्त र परिवारलाई राम्रो स्थानमा जागिर लगाएको भन्दै गीतमा कटाक्ष गरिएको छ। गीतले सरकारप्रतिको चरम वितृष्णा र खबरदारीलाई एकसाथ समेटेको छ।
म्युजिक भिडियोमा सिंहदरबार निदाएको भन्दै व्यंग्य गरिएको छ।

घूसखोरी र भ्रष्टाचार अन्त्य कहिले हुने भन्दै सरकारमाथि लगातार प्रश्न सोधिएको छ। सरकारले जनअपेक्षाअनुसार काम नगरेको भन्दै सिंहदरबार निदाएको उल्लेख छ। भीमफेदी गाइजको अभिनय रहेको भिडियोमा देशको विकृति र विसंगतिलाई कलात्मक शैलीमा देखाइएको छ।

आक्रामक शैलीको गीतलाई भीमफेदी गाइजका निर्मलले निर्देशन गरेका हुन्। पवन सुष्लिङको सिनेमेटोग्राफी रहेको गीतको भिडियोमा ऐतिहासिक मकवानपुरगढी दरबारलाई देखाइएको छ।

प्रतिक्रिया दिनुहोस्