गुन्यु–चोलीको चलनलाई अवार्ड



राजधानीमा दुईदिने तामाङ अन्तर्राष्ट्रिय इन्डिपेन्डेन्ट फिल्म महोत्सव (टिफ) सम्पन्न भएको छ।
तामाङ समुदायमा छोरी हुर्केपछि गुन्यु चोली दिने चलनमाथि निर्मित छोटो फिल्म स्यामा पिन्बालाई उत्कृष्ट ठह¥याउँदै शुक्रबार महोत्सव सम्पन्न भएको हो।

सञ्चु थोकर निर्देशित १६ मिनेट लामो फिल्मलाई तामाङ समुदायको सांस्कृतिक मौलिकता उजागर गरेकोमा सेमरी छोरङान ग्रान्ड जुरी अवार्ड प्रदान गरियो। झन्डै डेढ दशकअघि जयनन्द लामाले निर्देशक गरेको पहिलो तामाङ फिल्म सेमरी छोरङानङमा नामबाट दिइएको यो अवार्डमा ५० हजार रुपियाँ नगद प्रदान गरिएको थियो।

महोत्सवमा कमल योन्जन निर्देशित ललितपुरको बुडुन्चुली गाउँमा तामाङ समुदायले मनाउने पर्वलाई उतारिएको मधुराजाले बेस्ट डकुमेन्ट्री अवार्ड चुम्यो। काँठ क्षेत्रको मिश्रित तामाङ संस्कृतिलाई पहिलोपटक उतारिएको डकुमेन्ट्रीले २५ हजारसहितको अवार्ड चुमेको छ भने अमृतमान घिसिङको क्युई (पानी) ले उत्कृष्ट सर्ट फिल्म अवार्ड जित्दा प्रेम गरी भागी विवाह गरेपछि छ्यो पोङ (चोरी सगुन) लाने चलनलाई उतारिएको कमल योञ्जनद्वारा निर्देशित छ्यो पोङले पब्लिक च्वाइस अवार्ड जितेको छ। नुवाकोट, रसुवा, धादिङ आसपासमा गाइने म्हेन्दोमायाको ऐतिहासिक पक्ष उजागर गरिएको उदय लामाको म्हेन्दोमायाले स्पेसल मेन्सन अवार्ड जितेको छ भने छोटो फिल्म नोर्बुलाई इन्करेजमेन्ट अवार्ड प्रदान गरिएको छ। छेडुप तामाङले निर्देशन गरेको फिल्मले १० हजार रुपियाँ पाएको छ।

महोत्सवमा अप्रतिस्पर्धीका रूपमा अमेरिकाबाट ङिमा पाख्रिन तामाङको गिफ्ट फ्रम मदर र नेपालबाट फूलमान वलको सेलफोन सहभागी थियो भने क्यानडाबाट ग्राब्रियल ग्रेनोटको पिल्ग्रिम्स टु पाँचपोखरी प्रतिपस्र्धामा थिए। संस्कृतिविद् एवं वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीद्वारा शुभारम्भ गरिएको महोत्सवको समापनमा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले राष्ट्र भाषाका फिल्मलाई प्रोत्साहित दिन यस्ता कार्यक्रमले सघाउने बताए। महोत्सवमा तामाङ फिल्मसम्बन्धी विषयगत छलफल, भिजुअल पोइट्री एवं कविता वाचन, पराम्परागत थांका चित्रकला एवं मूर्तिकलाबारे अन्तरक्रियालगायतका कार्यक्रम गरिएको महोत्सवका अध्यक्ष विगेन्द्र वाइबाले बताए।

राजधानीको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा सम्पन्न महोत्सवमा देश विदेशबाट विभिन्न १८ छोटा फिक्सन र डकुमेन्ट्री देखाइएको थियो।

प्रतिक्रिया दिनुहोस्