पृतनापति ट्रफीमा भवानीदल गणको अग्रता



विमल विष्ट, डोटी । सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर व्यारेकले आयोजना गरेको सुदूरपश्चिम पृतनापती ट्रफिमामा कैलालीको श्री न. ५ बाहिनी अड्डामा तैनाथ रहेको भवानीदल गणले अग्रता लिएको छ । अहिले सम्म भएका सबै खेलहरुमा भवानीदल गण अग्र स्थानमा रहेको सुदूरपश्चिम पृतना दिपायलका महासेनानी आरसी खत्रीले जानकारी दिनुभयो ।

पृतनाले आयोजना गरेको उक्त पृतनापती ट्रफि हेर्ने दर्शकहरुको निकै घुईचो लाग्ने गरेको छ । “खेल नै स्वास्थ्य हो” भन्ने मुल उदेश्यका साथ आयोजना गरिएको उक्त खेल कैलाली र कञ्चनपुर जिल्लामा आयोजना भईरहेको छ । सुदूरपश्चिम पृतना दिपायलको आयोजनामा कैलाली र कञ्चनपूरमा भएका खेलहरुमा भवानीदल गणले अग्रता लिएको सुदूरपश्चिम पृतना मुख्यालय दिपायल राजपुर स्थित डिपिआर शाखाले जनाएको छ । कैलालीको तेघरी स्थित सैनिक खेल मैदानमा भएको फुटबल खेलमा भवानीदल गणले रुद्रध्वज गणलाई १ का विरुद्ध ३ गोल गरी जित हासिल गरेको हो ।


त्यस्तै गरी अर्को खेलमा भवानीबक्स गण र रणबम गण बिच गोल रहित भई खेल बराबर भएको थियो । तेश्रो खेलमा रणबम गण र रुद्रध्वज गण बिच ३÷३ गोल भई खेल बराबर भएको थियो । त्यसैगरी कञ्चनपूर जिल्लाको महेन्द्रनगर स्थित सैनिक खेल मैदानमा भएको भलीबल खेलमा भवानीदल गणले भवानीबक्स गणलाई ३÷० सेटमा जित हासिल गरेको थियो । अर्को खेलमा रुद्रध्वज गणले रणबम गणलाई ३÷१ सेटमा जित हासिल गरेको छ ।

कञ्चनपूर जिल्लाको महेन्द्रनगर स्थित सैनिक खेल मैदानमा भएको बाष्केटबल खेलमा भवानीदल गणले भवानीबक्स गणलाई ४५ को बिरुद्ध ५४ स्कोरले जित हासिल गरेको छ । त्यस्तै गरी अर्को खेलमा रुद्रध्वज गणले रणबम गणलाई १६ को बिरुद्ध ७२ स्कोरले जित हासिल गरेको छ । कञ्चनपूर जिल्लाको महेन्द्रनगर स्थित जिल्ला खेलकूद समितिको कभर्डहलमा भएको बक्सिङ्ग अन्तरगतका लिग खेलहरुमा भवानी बक्स गणले अग्रता लिएको छ ।

प्रतिक्रिया दिनुहोस्