गुठी विधेयक सच्याइन्छ: ओली



नेपाल समाचारपत्र, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी विधेयक सच्याउने प्रतिबद्धता जनाउनुभएको छ । विधेयकमा धर्म संस्कृतिलाई प्रतिकूल असर पुग्ने प्रसंग जोडिएको खण्डमा सरकारले सच्याउने उहाँको भनाइ छ ।

एक साता लामो युरोप भ्रमण पूरा गरेर आइतवार स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसँग भन्नुभयो– ‘सरकारले जनताको मन दुखाउन चाहँदैन, गुठी विधेयकले सांस्कृतिक सम्पदामाथि नजानेर धक्का दिन खोजेको रहेछ भने त्यसलाई सच्याइनेछ ।’

विधेयक कहींकतै नमिलेको वा भुलवश त्रुटि भएको भए विरोध बेकार भएको उहाँको तर्क थियो । कतिपय ठाउँमा गुठीका नाममा गरिबमाथि शोषण भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले काठमाडौंको धार्मिक सम्पदालाई एकै ठाउँ राखेर हेर्न नमिल्ने बताउनुभयो । आन्दोलनरत पक्षतर्फ लक्षित गर्दै उहाँले भन्नुभयो– ‘अब केही मानिसले खुबै मौका पायौं भन्ने ठान्या होलान् कुनै चान्स आउनेवाला छैन, किनभने यो सरकार जनताले भनेअनुसार काम गर्छ ।’

बेलायत भ्रमणका क्रममा आफूले नेपाल, भारत र बेलायतबीचको त्रिपक्षीय सन्धि पुनरावलोकन गर्ने प्रस्ताव राखेको तर सो प्रस्तावलाई बेलायतले स्वीकार नगरेको उहाँले बताउनुभयो । गोरखा सैनिकको असमान पेन्सन, सन् १९४७ मा भएको त्रिपक्षीय सन्धिबारे बेलायती समकक्षी टेरिजा मेसँगको भेटवार्तामा प्रस्ताव गरेको ओलीले जानकारी दिनुभयो । त्रिपक्षीय सम्झौता पुनरावलोकन हुनुपर्छ भन्नै नहुने वा लुकाउनुपर्ने विषय नभएकाले आफूले प्रस्ट रुपमा समकक्षी मेसँग सो प्रस्ताव राखेको ओलीको भनाइ थियो । ‘सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यसले आजका हाम्रा आवश्यकतालाई निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसैले हामी द्विपक्षीय सहमतिमा जान सक्छौं’ –ओलीले भन्नुभयो ।

युरोपियन युनियन (ईयू) ले यूरोपेली आकाशमा नेपाली जहाजलाई लगाएको उडान प्रतिबन्ध खुलाउनेबारे प्रस्ट छलफल नभएपछि प्रतिबन्ध चाँडै खुला हुने उहाँको दाबी थियो । नेपाललाई जहाज बेच्ने फ्रान्सले नेपाली विमानलाई आफ्नो मुलुकमा उडान प्रतिबन्ध लगाउनु न्यायोचित नभएकाले चाँडै उडान प्रतिबन्ध खुला हुने ओलीको भनाइ थियो । वाइडवडी विमानको भ्रष्टाचारबारे सञ्चारकर्मीले सोधेको जिज्ञासामा उहाँले भन्नुभयो– ‘छानविन हुँदै छ, जो दोषी छ उम्किन पाउँदैन, दोषीमाथि कारबाही हुन्छ ।

प्रतिक्रिया दिनुहोस्