न्यूरोडमा शुरु भयो स्मार्ट पार्किङ



काठमाडौँ ।
काठमाडौँ उपत्यकाको व्यस्त बजारमध्ये एक न्यूरोड क्षेत्र पनि हो । यस क्षेत्रमा मानिसको घुईँचो नभएको कुनै दिन हुँदैन । मानिसको घुईँचो त जताततै हुन्छ नै तर पनि यहाँ अव्यवस्थित सवारी साधन पार्किङका कारण धेरैले सास्ती खेप्दै आईरहनु परेको थियो । तर आजबाट भने न्यूरोड क्षेत्रमा स्मार्ट पार्किङ सेवाको सुरुवात भएको छ । काठमाडौं महानगरपालिकाले निजी क्षेत्रसँगको सहकार्यमा न्यूरोड आसपासमा स्मार्ट पार्किङ सेवा शुरु गरेको हो ।

स्मार्ट पार्किङ स्टेशनमा एकपटकमा मोटरसाइकल र गाडीहरु गरि तीन सय देखी चार सय वटा सम्म पार्किङ गर्न सकिने काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले बताउनुभयो । डंगोलका अनुसार ह्वील्स ट्रली योर्स प्रालिसँगको सहकार्यमा न्यूरोडको विशाल बजार अगाडि इन्द्रचोक जाने सडक, धर्मपथ, न्यूरोड पाको, रामेश्वर मिठाई पछाडिको भाग र आरबी कम्प्लेक्स अगाडिको स्थान गरि पाँच स्थानमा स्मार्ट पार्किङको व्यवस्था भएको छ । ती सम्पूर्ण ठाउँमा स्मार्ट अटोमेटेड पार्किङ सिस्टम बनाइएको छ ।

आज काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले उद्घाटन गर्नुभएको हो । उपभोक्ताहरुले ती स्थानहरुमा पार्किङको सूविधाका लागि मोबााईलबाट पनि पार्किङ स्थल बुकिङ गर्न सक्नेछन् । जसका लागि ‘केएमसी पार्किङ’ एन्ड्रोइड एप डाउनलोड गर्न सकिनेछ ।

ठाउँ रिजर्भ नगरी त्यँहा जानुभयो भने अगाडि राखिएको स्क्रिन हेरेर पार्किङ गर्ने ठाउँ हेर्न सक्ने प्रवक्ता डंगोलले जानकारी दिनुभयो । उहाँले त्यस ठाउँको व्यवस्थापनका लागि गोप्रो क्यामरासहितका पार्किङ सहयोगी राखिएको र उनीहरुसँग भएको क्यामराले त्यस क्षेत्रमा भएका गतिविधि आवाजसहित रेकर्ड हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्