गर्मी छल्न विद्यालय पाँच दिन बिदा



हेटौंडा ।
पछिल्ला दिन हेटौंडामा गर्मी बढेपछि सामुदायिक तथा संस्थागत विद्यालय पाँच दिनका लागि बिदा दिइएको छ ।
विद्यार्थी तथा शिक्षक गर्मीका कारण बेहोस हुने, ढल्ने, स्कुलमा बस्नै नसक्ने भएका कारण नगरभरका विद्यालय पाँच दिन बिदा दिइएको हेटौंडा उपमहानगर मेयर हरिबहादुर महतले बताउनुभयो । शिक्षक तथा अभिभावकको आग्रहपछि विद्यालय छुट्टी दिइएको मेयर महतले बताउनुभयो ।

सोमबारदेखि शुक्रबारसम्म हेटौंडाका विद्यालय बिदा गरिएको हो । हाल गरिएको बिदा अन्य समयको बिदामा मिलान गर्ने गरी दिइएको हो । तराईका जिल्लाजस्तै हेटौंडामा पनि शनिवारदेखि गर्मी बढेर करिब ४० डिग्री पुगेको छ ।

मकवानपुरको पश्चिमी गाउँपालिका मनहरीले सार्वजनिक विद्यालयमा सोमबारदेखि ३ दिन बिदा दिएको छ । मकवानपुरमा उखारमाउलो गर्मीका कारण विद्यार्थीलाई अध्ययनमा कठिनाइ भएपछि गाउँपालिकाले आइतबार गाउँपालिकाका सार्वजनिक विद्यालयमा बिदा दिने निर्णय गरेको हो ।

मनहरीको गाउँ शिक्षा समितिको बैठकले गर्मीले अध्ययनमा समस्या हुनुका साथै स्वास्थ्यमा असर पुग्ने भन्दै ३ दिन बिदा दिने निर्णय गरेको हो । समितिले ३ दिनसम्म पनि मौसममा सुधार नआए बिहीवार र शुक्रबार पनि बिदा दिने निर्णय गरेको छ । मनहरी गाउँपालिकामा ३२ वटा सार्वजनिक विद्यालय छन् । ८ वटा मावि छन् भने बाँकी निमावि र प्रावि छन् ।

प्रतिक्रिया दिनुहोस्