सपना चकनाचुर ! यार्सा बेचेको पैसा लुटियो



धनवीर दाहाल, रुकुम ।
यार्साबाट केही कमाई होला अनि घर खर्चको जोहो गरौँला भन्ने सोचका साथ ज्यानको बाजी राखेर बुकि पाटन गएकी जुनकुमारी पुनको सपना चकनाचुर भयो । विद्यालयमा पढ्दै गरेकी छोरीलाई सँगै लिएर यार्सा टिप्न गएकी जुनकुमारीले न यार्सा बेचेको पैसा हात पार्नुभयो नत ज्यानको सुरक्षा पाउनुभयो ।

बुकि पाटनबाट यार्सा टिपेर घर फर्कदै गर्दा जुनकुमारीकी आमा छोरीलाई लुटेराको समुहले कुटपीट गरी नगद तथा गरगहना लुटेको छ । रुकुम पुर्वको पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ मैकोटमा दुइ जना लुटिएका हुन् । पुथाउत्तरगंगा गाँउपालिका वडा नं १ की जुनकुमारी पुन र उहाँकी १४ बर्षिया छोरी रश्मी पुनलाई कुटपिट गरी गरगहना र यार्सा बेचेर ल्याएको नगद १लाख १५ हजार लुटेराको समुहले लुटेको स्थानीयले बताएका छन् । पुन आमा छोरीलाई स्थानीयले गम्भीर घाइते अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

टाउको र शरिरमा गम्भीर चोट भएका कारण जिल्लामा उपचार सम्भव नभएपछि हेलिकप्टर मार्फत काठमान्डौ पु्र्याइएको छ । रुकुम पुर्वका सांसद कमला रोका र पुर्वमन्त्री गणेशमान पुनको पहलमा घाइतेहरुलाई काठमान्डौ पुर्याइएको स्थानीय मरिचमान पुनले बताउनुभयो ।

यसै गरी रोल्पाको थवांग घर भएका चिन्तन वि.क यार्सा टिप्ने क्रममा भीरबाट लडेर घाइते भएकोले उहाँलाई पनि सोही हेलिकप्टर मार्फत उद्धार गरिएको पुनले जानकारी दिनुभयो । यार्सा बेचेर कमाएको पैंसा लुटिंदा सम्म स्थानीय प्रशासनले वास्था नगरेको स्थानीयबासीको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस्