जिब्रो छुचो भएसी



सञ्चार मन्त्रीले गर्ने सञ्चारले दुई चार मात्रै होइन, धेरै हजारलाई अचम्ममा पार्न थाल्या छ । जब बाँस्कोटाले सञ्चार मन्त्रालयको कुर्ची सम्हाले उनी सरकारी प्रवक्ता समेत भए । उनको तर्क सुनेर प्रतिपक्षीले आलोचना गर्नु स्वभाविक हो, अहिले त सत्ता पक्षिय समेत खुलेआम अलोचना गर्न थाल्या छन् ।

सडकमा गुठी विधेयकको चर्को विरोध र आन्दोलन भइराख्या बेला बाँस्कोटाले गुठी प्रथालाई ‘सामन्तवाद’का रुपमा व्याख्या गरेपछि आन्दोलन झनै उर्लिने निधो भएको छ । हाड नभा जिब्रो चिप्लिन्छ भन्छन्, पक्कै त्यस्तो भा त हैन होला । गुठी प्रथाबारे उनको नयाँ व्याख्या पश्चात स्वयं सत्तापक्षिय सांसद र नेता बाँस्कोटाको बास मन्त्री परिषद्मा हुनु हुँदैन भन्दै खुलेआम राजिनाम माग्न थाल्या छन् । ‘त्यसै त उनको बोली धेरै पेचिलो, खर्सो र रुखो सुनिन्छ, त्यसमाथि गुठी प्रथालाई सामन्तवादसँग जोड्ने, यस्तापनि मन्त्री हुन्छन्’–नेकपाका सांसद खुलेआम यस्तै भन्न थाल्या छन् ।

‘सरकारको काम कार्वाही सन्तोषजनक नहुनु एक ठाउँमा छ तर सरकारलाई बद्नाम गराउने बाहेक यीनले अरु केही जानेनन्’–धरहरा वरीपरी सत्ता खेमाका नेताहरुले यस्तो तर्क गर्न थाल्या धेरै दिन भइसक्यो । प्रतिपक्षीले यस्तै शैलीमा आलोचना ग¥या भए बाँस्कोटाले तत्कालै मुखैभरीको जवाफ फर्काउथे क्यार, स्वयं सत्ता खेमाकाले उछित्तो काट्न थालेसी उनले कस्तो जवाफ दिने हुन्, धरहरालाई सुन्न हतार भा’छ ।

प्रतिक्रिया दिनुहोस्