कांग्रेसले एजेण्डा नपाएको होइन, लोकतान्त्रिक प्रतिपक्षीको आदर्श देखाएको !



राजन केसी
सांसद, काठमाडौं निर्वाचन क्षेत्र– १०
विद्यार्थी कालदेखि नेविसंघबाट राजनीति थालेका राजन केसी अहिले काठमाडौं १० नम्बर क्षेत्रबाट संघीय संसदमा सांसद हुनुहुन्छ । २०४६ सालको आन्दोलनले युवा नेताका रुपमा स्थापित केसीलाई नेपाली कांग्रेसले तीन पटक सो क्षेत्रबाट उठायो, त्यसमा दुई पटक उहाँले जीत हात पार्नुभयो । युवा तथा खेलकुद मन्त्रीसमेत बनिसकेका केसी हाल संसदको सार्वजनिक लेखा समितिको सदस्य पनि हुनुहुन्छ । नागढुंगा–नौबीसे सुरुङ मार्गदेखि चोभारमा बन्ने भनिएको तर स्थानीय जनताले तीव्र विरोध गरेको सुख्खा बन्दरगाहलगायतका चर्चित विकासका सबालहरु उहाँकै क्षेत्रमा पर्दछन् । प्रस्तुत छ, यीलगायत समसामयिक अन्य राजनीतिका विषयमा नेपाल समाचारपत्रका लागि कपिल काफ्ले र सुरेश तामाङले उहाँसँग गरेको अन्तर्वार्ताः

नेपाली काँग्रेको देशव्यापी राष्ट्रिय जागरण अभियानमा यहाँ कसरी सहभागी हुनुभयो ? त्यसको सफलता–असफलता के पाउनुभयो ?
नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानको एउटै उद्देश्य भनेको पार्टीले स्थानीय, प्रदेश र संघको चुनावमा भोग्नुपरेको लज्जास्पद हारको कारण पहिचान र उपचार । त्यो हारको कारण खोजी गर्ने क्रममा नेपाली कांग्रेस जनताको बीचमा जानुको विकल्प थिएन, र छैन । जनताले भनेका छन्, नेपाली कांग्रेसजस्तो ऐतिहाससिक परिवर्तनको बाहक पार्टी हार्नुका प्रमुख कारणमध्ये एक हो उसले हासिल गरेका उपलव्धिहरुको उचित ढंगले प्रचार गर्न नसक्नु ।

जनताको त्यही भनाई र सुझावलाई हामी पूरा गर्न जनतामा गएका हौं । हामीले पार्टीले गरेका राम्रा कामको स्मरण गराएका छौं भने विपक्षीले गरेको नराम्रो कामबारे जनतालाई सुसूचित गरेका छौं । यही कामका लागि कांग्रेसको पहिलो एक महिने अभियान लोकतन्त्र दिवसको अवसर पारेर सुरु भई सम्पन्न भइसकेको छ । यसको समीक्षात्मक बैठक भएको छ ।

अभियान कस्तो रह्यो । यहाँहरुले सोचेजस्तै रह्यो ?अभियानले लिएको उद्देश्य जुन थियो त्यो पूरा भयो ?
कांग्रेस जनताको घरदैलोमा आयो भन्ने प्रचारात्मक कुरामा नेपाली कांग्रेस सफल भएको छ । यद्यपि अभियानले गर्नुपर्ने कामहरु धेरै छन् । त्यसमा साधारण सदस्यता वितरण गर्ने वा सदस्य संख्या बढाउने भनेका छौं । जनतालाई विपक्षीले अहिले गरेका नराम्रा कामका बारेमा सुसूचित गर्ने गरेका छौं । विगतदेखि हाम्रो सरकारले गरेको राम्रा पक्षहरुको बारेमा जनतालाई सुसूचित गर्ने कुराहरु जनताको घर–घरमा पु¥यायौं । कार्यक्रम प्रचारको हिसावले अत्यन्त सफल भएको छ । जहाँसम्म कार्यान्वयनको हिसावले हामीले यसलाई राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा समापन गर्ने भनेका छौं ।

कार्यान्वयनको हिसावले भनेको के हो यसलाई प्रष्ट पारिदिनुस् न ?
यो अभियान भनेको नेताहरु जिल्लामा मात्रै जाने कुरा होइन । यसले के काम गर्ने ? किन जाने ? केका लागि जाने ? भन्ने सन्दर्भमा छलफल हुँदै गर्दा पहिलो कुरा अव नेपाली कांग्रेस प्रति अबको चुनावमा भारी जनमत प्राप्त गर्ने हो । त्यसका लागि साधरण सदस्य वितरण गर्ने, त्यस मध्यमा त्रियाशिल रहने साथीहरुको पहिचान गर्ने भन्ने कुरा हो । कांग्रेसले विगतमा भन्दा किन कम जनमत पायो भन्ने जनतासामु सुसूचित गर्नु कार्यान्वयनको पक्ष हो ।

संसदमा कांग्रेस अहिले प्रमुख प्रतिपक्षको भूमिकामा छ । तर, कांग्रेसले प्रतिपक्षको रुपमा बलियो मुद्दा बोक्न नसकेको भन्ने आलोचना खेप्दै आइरहेको छ । तपाईको टिप्पणी के छ ?
नेपाली जनताले प्रतिपक्षलाई २०४८ यता हिंसक स्वरुपमा देख्यो, त्यही मान्यता बनायो । प्रतिपक्षी भनेको कुनै पनि एजेन्डामा सडकमा निस्केर ढुंगा–मुढा गर्नुपर्ने, सार्वजनिक स्थानमा तोडफोड गर्नुपर्ने । होहल्ला गर्नुपर्ने भन्ने प्रतिपक्षको अभ्यासले मुलुकलाई क्षति भयो । नेपाली कांग्रेस जहिले पनि हिंसामा विश्वास गर्दैन ।

सार्वजनिक सम्पत्तिको तोडफोड गर्नमा विश्वास राख्दैन । जहाँसम्म कांग्रेसले एजेन्डा पाएन भन्नेछ, संसदमा आएका जतिपनि राष्ट्रिय एजेन्डाहरु छन्, नेपाली कांग्रेसले उठाएको छ । निर्मला पन्त हत्या र बलात्कारका कुरा, यातायात क्षेत्रमा रहेको सिन्डिकेटका कुरा, ३३ किलो सुनका कुरा आए । संसदमा धेरै यस्ता कुराहरु छन् । ती कांग्रेसले उठाएको छ । त्यस्तै यसै सन्दर्भमा संसदमा टेवल भएको मिडिया काउन्सिल विधेयकलाई पनि कांग्रेसले प्रमुखताका साथ उठाएको छ । त्यो विधेयक जस्ताको त्यस्तै आउन दिने पक्षमा कांग्रेस छैन । कुनै पनि हालतमा रोक्छ ।

अरु विधेयक जति आए, सबैमा सरकारको विरोध भइरहेको छ । गुठीसम्बन्धी विधेयकको पनि त्यत्तिकै विरोध भइरहेको छ । कांग्रेसले चाहिं कस्तो भूमिका खेल्दैछ ?
हामीले संसदबाट धेरै विधेयक पास गरिसकेका छौं । सर्वसम्मत हिसावले विधेयक पास भएका छन् । तर, सरकारले खराब दृष्टिकोण राखेर ल्याएका विधेयकमा सर्वत्र विरोध हुने नै भयो । सरकारको गुनगान गाउनुपर्ने, विरोध गर्न नहुने, गरेमा दण्डित गरेर तर्साउन खोज्नेजस्ता काम भएका छन् । मिडिया काउन्सिल विधेयक सरकारले ल्यायो । त्यस्तै शान्ति सुरक्षासम्बन्धी विधेयकमा सेना परिचालन प्रधानमन्त्रीले गर्ने भन्ने प्रावधान राखियो । लोकतन्त्रमा एउटा प्रधानमन्त्री अधिनायकबादी हुन सक्दैन । त्यो गलत छ भनेर हामीले भनेका हौं । त्यस्तै मानवअधिकार आयोग स्वतन्त्र हुनुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ ।

संवैधानिक आयोगलाई महान्यायाधिवक्ताको कार्यालयको रुपमा सरकारले प्रस्तुत गर्न खोज्यो । त्यो हामीलाई मान्य छैन । त्यस्तै गुठीको विधेयक सम्बन्धमा मुलुकभरि २६ सय गुठी छन् भने लाखौंलाख विघा जग्गा छ । यसको इतिहास लिच्छाविकालभन्दा पुरानो छ । यो विधेयकले गुठियारको स्वामित्व समाप्त पार्ने कोशिस गरेको छ र आफ्ना कार्यकर्तालाई लाखौंलाख विघा जग्गा वितरण गर्ने योजना बनाएको छ । काठमाडौं उपत्यकामा भएको पाँच सय गुठियार, उपत्यकाका सम्पूर्ण नेवार समुदायको सँस्कार र संस्कृति पनि हो । गुठीलाई समाप्त पार्ने खेल भएको छ । अहिले उपत्यकाबासी सबै र खासगरी नेवारहरु सडकमा उत्रेका छन् । उनीहरु गुठीलाई समाप्त पार्न दिने वाला छैनन् ।

सरकार गुठी खारेज गर्न खोजेको होइन, व्यवस्थापन गर्न लागेको भन्छ नि त ?
सरकारले के गर्न खोज्यो भने जसले गुठी राख्यो त्यसलाई सरकारले समाप्त पार्न खोज्यो। जसले खाई–नखाई आफ्नो अचल सम्पत्ति सार्वजनिक प्रयोजनमा लगाउँछ त्यो अन्ततः मोहीलाई दिने नाममा आफ्ना कार्यकर्तालाई बाँड्ने खेल मात्रै हो । यो गुठी व्यवस्थापन गर्ने सन्दर्भमा जनताले विश्वास गर्ने कुरा होइन ।

नेपाली कांग्रेसले यसलाई कसरी सघाउँछ ? नागरिक सडकमा आन्दोलित छन् । कांग्रेसले सदन तताउनेबाहेक ठोस केही तरिका अपनाउँछ कि ?
मैले अघि नै भनें । हाम्रो पार्टी भनेको लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो । शान्तिपूर्ण जुलुस गर्छौं, नारा पनि लगाउँछौं । कांग्रेस जहिले पनि शान्ति पूर्ण आन्दोलनबाट विभिन्न एजेन्डा, मुद्दा स्थापित गराउन चाहन्छ । कांग्रेस हत्या–हिंसा–काटमार विध्वंश मच्चाएर मुद्दा स्थापित गर्नेतिर लाग्दैन । कांग्रेस संविधान, लोकतन्त्रको मूल्य र मान्यताअनुसार आफ्ना कुराहरु अगाडि बढाउँछ ।

अब भर्खरै आएको बजेटको कुरा गरौं । कस्तो लाग्यो यहाँलाई बजेट ?
यो बजेट त पूर्ण रुपले वितरणमुखी छ । कार्यकर्तालाई खुशी बनाउने खालको बजेट छ । हामीले रोजगारी, उत्पादन बढाउन, आम युवालाई रोजगारीमा जोड्नका लागि यो बजेटले पूरा गर्न सक्दैन भनेका छौं । त्यसैले यो वितरणमुखी नै छ ।

सांसदलाई पूर्वाधार क्षेत्रमा खर्च गर्न रकम दिनुहुन्न भन्दै डा.रामशरण महतले जोडदार माग राख्नुभएको थियो । तर, उहाँले भनेको मानेन नि सरकारले ?
महतजीले तीनै तहको निर्वाचन भइसकेको अवस्थामा अब विकास निर्माणको जिम्मा सरकारले लिनुपर्छ, सांसदको काम भनेको कानुन निर्माण गर्ने प्रक्रियामा सक्रिय हुनुपर्छ भन्ने हो । मैले उहाँको कुरामा आपत्ति त गर्दिनँ तर म त्यस कुरालाई स्वीकार्न सक्दिनँ । किनभने हामीले हिजो चुनावमा जाँदा मलाई कानुन बनाउनका लागि भोट दिनुस् भनेका थिएनौं । हामीले त तपाईंहरुको बाटो बनाइदिन्छु, ढलबनाइदिन्छु, स्कुल राम्रो बनाइदिन्छु, पानीको समस्या रहेछ भने पानीको राम्रो व्यवस्था गरिदिन्छु भनेर भोट माग्ने ग¥यौं, मैले पनि त्यही भन्दै चुनावी प्रचार गरेको छु । संसारका अमेरिकालगायत धेरै विकसित देशदेखि छिमेकी भारतजस्ता विकासशील देशमा यो व्यवस्था छ ।

कानुन निर्माण प्रक्रियामा सांसदको महत्वपूर्ण भूमिका हुन्छ त्यसमा दुईमत छैन । तर सांसदलाई विकास निर्माणबाट अलग गराएर राख्न सकिन्न । निर्वाचन क्षेत्र विकास कोषको ६ करोड सांसदलाई दिइने रकम पनि होइन । पूर्वाधार विकास साझेदारी कार्यक्रम हो । सांसदको एउटै भूमिका के रहन्छ भने योजना छनौटमा उसले प्राथमिकता दिनसक्ने सम्भावना रहन्छ । बाँकी प्रक्रियाबाटै जाने हो । यो रकम सांसदको घरभित्र जाने बजेट होइन । सांसदले पाउने भत्ता पनि होइन । त्यस्तो अर्थमा हेरिनु हुन्न । यो बजेट चुनावमा बाचाको परिपूर्ति गर्नको लागि हो । हाम्रोजस्तो मुलुक कानुनमा भन्दा पनि विकासमा सांसदको संलग्नता र जनताको अपेक्षा खोज्छ, सांसदले के विकास गर्छ, खानेपानीको समस्या समाधान गर्छ कि गर्दैन भन्नेमा नै हुन्छ । त्यो म गर्छु भन्ने सांसदले आश्वासन गरेको हुन्छ । यसो गर्दा आफ्नो जनतासँगको सम्बन्ध पनि अनन्तकालसम्म रहिरन्छ ।

प्रादेशिक सांसदहरुले पनि यहीअनुसार रकम बाँड्ने तर्खर गरिराखेका छन् नि ?
प्रदेश सांसदको पनि उही कुरा हो । उहाँहरुले पनि चुनावमा उही बोलेर आउनुभएको छ । उहाँहरुले पनि भोट माग्ने क्रममा जनतासामु विकास निर्माणको काम गर्छु भन्ने प्रतिवद्धता जाहेर गर्नुभएको छ ।

चुनावमा भोट माग्न जाँदै गर्दा जनताको घरघरमा गएर विभिन्न आश्वासन दिंदै गर्दा चुनाव खर्चिलो हुँदै आयो । भ्रष्टाचार पनि बढ्दै गयो भन्ने भनाइ छ । त्यसैले, व्यक्ति होइन पार्टी चुनाव लडोस् भन्ने विकल्प आएको छ । तपाईं यसमा सहमत हुनुहुन्छ ?
म यसमा पूर्ण रुपले सहमत छु । चुनाव खर्चिलो भयो । चुनाव व्यापारीको हातमा गयो । संसद पनि त्यतै दौडेको भन्नेछ । पैसा नहुने र साँच्चै जनताका सेवा गर्नेहरु अबको चुनावमा उठ्न नसक्ने अबस्था देखिएको छ । अब सोच्नु पर्ने बेला आएको छ । निर्वाचन आयोगले व्यक्तिका ठाउँमा पार्टी चुनाव लड्ने सन्दर्भमा राष्ट्रिय सहमति गरेर सबै राजनीतिक दललाई मनाएर अघिबढोस् ।

यहाँ युवा तथा खेलकुद मन्त्री पनि बन्नुभयो । मन्त्री हुँदाको उपलब्धि केही बताउन चाहनुहुन्छ ?
बास्तबमा म ९ महिनाजत्ति मन्त्री भएँ । त्यस बेला संघ र प्रदेशको चुनाव आइसकेको अवस्था थियो । निर्वाचन आचारसहिंता पनि लागिसकेको अवस्था थियो । जसले गर्दा मैले धेरै काम गर्न सकिनँ । यद्यपि मैले मन्त्री भएको बेलामा कीर्तिपुरमा भलिबल कोर्ट र प्याराफिट, नैकापमा फुटबल मैदान निर्माण गरें । मातातीर्थमा फुटबल मैदान बनाएँ । यसरी खेलकुद, शिक्षा, युवाको क्षेत्रमा केही महत्वपूर्ण भूमिका निभाएको छु ।

यहाँकै निर्वाचन क्षेत्रको चोभारमा हिमाल सिमेन्ट कारखाना थियो । उक्त कारखानाले प्रदूषण फैलायो भनेर त्यसलाई विस्थापन गरियो । विस्थापन गरेपनि स्थानीयसँगको जग्गा मुआब्जाको विषय, क्षेतिपूर्ति लगायतका विषय अहिलेसम्म पनि ज्यूँका त्यूँ छन् । समस्या नसुल्झिंदै चोभारमा सुख्खा बन्दरगाह निर्माणको काम सुरु भएको छ । स्थानीयको लगातार यसमा विरोध पनि भइरहेको छ । त्यही क्षेत्रको जनप्रतिनिधि भएको हैसियतले यहाँको भनाइ के छ ? के गर्नुहुन्छ ?

सर्वप्रथम त तीसौँ वर्षसम्म त्यहाँका जनताले कारखानाको प्रदूषणले गर्दा निकै कष्टकर दैनिकी बिताए । चोभार आफैंमा रमणीय र पर्यटकीय क्षेत्र पनि हो । मैले भन्नेगर्छु चोभारमा बनिरहेको सुख्खा बन्दरगाह चोभारका लागि उपयुक्त छँदैछैन । त्यसलाई नाकामा बनाउनु पथ्र्यो । सामान धेरै पैठारी हुने नाका भनेको नागढुंगा हो । त्यही पेरीफेरीमा बन्नुपथ्र्यों । थानकोसम्म आएको कन्टेनर चोभारसम्म लगेर सुख्खा बन्दरगाहमा राख्नु बुद्धिमानी हुन्न । यो कुरा हास्यास्पद छ । सम्मानीय प्रधानमन्त्रीले सुख्खा बन्दरगाह निर्माणको शिलान्यास गर्ने कार्यक्रममा मलाई फोन गर्नुभएको थियो । म आउन सक्दिनँ, यो ठाउँ बन्दरगाहको लागि उपयुक्त छैन । साँघुरो र नदी छेउमा बाढीले बगाउने स्थानमा विश्व बैंकको ऋण सहयोगमा राज्यलाई डुबाउने गरी बन्दरगाह बन्नैहुन्न । यो सर्वथा गलत छ । यसमा मेरो सधैं विरोध छ । मैले प्रतिपक्षको नाताले स्थानीयको आवाजलाई सदनसमक्ष राख्दै आइरहेको छु । तर यो सरकारले हाम्रो कुरा बुझेन, सुनेन ।

स्थानीय जनताको आवाजलाई सम्बोधन गर्न यहाँको योगदान के हुन्छ ?
त्यहाँ धेरै समस्या छन् । हिजो सिमेन्ट कारखाना रहँदादेखि नै जग्गाको मुआब्जा नपाएका जनता छन् । म त्यतातिर प्रवेश नगरेर त्यो ठाउँ नै बन्दरगाहको लागि उपयुक्त छैन भन्नेतिर सरकारलाई दबाब दिएको हुँ । भौगोलिक हिसावले पनि यो उपयुक्त होइन । चोभार गल्छी, टौदह लगायतले गर्दा चोभार साँच्चिकै पर्यटकीय क्षेत्र नै हो । यस्तो स्थानलाई प्रदूषित पार्ने खालको योजना ल्याइयो, यो गलत छ । त्यसकारण म यसमा पूर्ण रुपमा स्थानीय जनतासँग सहमत छु ।

तपाईंको क्षेत्रमा खानेपानीको अझै अभाव नै देखिन्छ, के भन्नुहुन्छ ?
पानीको समस्याको रुपमा विशेषरुपले कीर्तिपुरमै देखिन्छ । तर, हाहाकारकै अवस्था भने होइन । स्रोतहरु पनि धेरै छन्, र पनि जनताले पानी प्राप्त गर्न सकिरहेका छैनन् । ठाउँठाउँमा बोरिङ पनि भएको छ । मेलम्ची आउनुभन्दा पहिला केही अल्पकालीन व्यवस्था गरेर जनतालाई पानी खुवाउने काम भइरहेको छ । मेलम्ची आइसकेपछि भनेर ६० लाख लिटर पानी अट्ने क्षमताको पानी ट्यांकी कीर्तिपुरमा निर्माण भइसकेकोछ । मेरो क्षेत्रमा मेलम्चीले सबै काम सम्पन्न ग¥यो तर पानी ल्याइदिएन । एउटा मन्त्री र सचिबको गैरजिम्मेवारी र अक्षमताको कारण मुखमै आइसकेको पानी हामीले जनतालाई खुवाउन सकेनौं । हामीलाई अत्यन्तै दुःख लागिरहेको छ ।

तपाईको क्षेत्रमा मुलुककै पहिलो सुरुङमार्ग बन्ने योजना छ । त्यो कहाँ पुग्यो ? के हुँदैछ ?
जापान सरकारको ऋण सहायतामा नौविसेबाट थानकोटसम्म सुरुङमार्ग बनाउने योजना छ । अहिले जग्गा अधिकरणको काम भइरहेको छ । मेरो क्षेत्रमा एक सय रोपनी जग्गा परेको छ । चार वर्षभित्र सम्पन्न गरेर २२ किलोमिटरको बाटोलाई अढाई किलोमिटरमा थानकोटदेखि धादिङ पुग्ने योजना हो । अहिले निर्माण कम्पनी छनौटकै चरणमा छ ।

तपाईंको केही भन्नु छ कि ?
काठमाडौंको सबै क्षेत्रमध्ये विकट र पहाड भएको मेरो क्षेत्र पनि हो । विशेषगरी यहाँ जनजातिहरुको बाहुल्य छ । आफ्नो क्षेत्रमा मैले आमूल परिवर्तन जनताको सुविधाको हिसावले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायातमा ल्याउनुपर्छ भनेर गुरुयोजना ल्याएको छु । जसअनुसार दक्षिणकालीको नेवार बस्तीमा पर्यटकीय क्षेत्रको विकास गरिदिएको छु । मठमन्दिर मर्मत गर्ने, बस्तीमा ढुंगा छाप्ने, जेष्ठ नागरिक बस्ने स्थल निर्माण गर्ने लगायतका पूर्वाधारका काम गरेको छु । जनताले प्रत्यक्ष अनुभूति गर्ने काम गरिरहेको छु । तर मुलुक ठिक ढंगले गइरहँदा कांग्रेसले जनमत गुमाएको छ । यो अत्यन्तै दुःखद कुरा हो ।

कांग्रेसले जनमत गुमाउनुमा कसको कमजोरी छ ? जनताले पहिचान गर्न नसकेको हो कि ? तपाईंहरुले नै पहिचान हुने गरी प्रस्तुत हुन नसकेको हो कि ?
केही कुरामा नेपाली कांग्रेसको कमी–कमजोरी रह्यो । पहिलो कुरा नेपाली कांग्रेस आफैमा एक ढिक्का हुन सकेन । नेपाली कांग्रेसले एकताको सन्देश दिन सकेन । कांग्रेसभित्र नेताहरुको मनमुटाव छ भन्ने सन्देश फैलियो । अर्काे कांग्रेसले गरेको जतिपनि राम्रा कामहरु थिए त्यसलाई हामीले प्रचार गर्न सकेनौं । हामी पछि परेको पक्कै हो ।

जनमत गुमाएर पनि कांग्रेसमा एक ढिक्का हुने, नेताहरु मिल्नसक्ने किसिमको दृश्य देखिएन नि ?
अब यो एक महिने जागरण अभियानले केही न केही सुधार भएकै छ । नेतृत्वको कुरामा मात्रै बेमेल देखिएको हो । त्यो आउने १४औँ महाधिवेसनले हल गर्छ । त्यसपछि एक–आपसमा खिचातानी हुँदैन । एक भएर जानुपर्छ भन्नेतिर सुधारोन्मुख भइरहेको छ ।

शेरबहादुर, रामचन्द्र, कृष्णसिटौला नेतृत्वमा हुनुहन्छ । त्यो वरिपरि नै भएर नेतृत्व घुमिरहेको छ । नयाँ किसिमको सबैलाई समेटिनेखाले नेतृत्व आउने कत्तिको सम्भावना छ ? नयाँ नेतृत्वको संकेत केही आएको छ त ?
त्यस्तो त ठ्याक्कै देखिसकेको छैन । तरपनि महाधिवेशन आउन एक–डेढ वर्ष बाँकी छ । युवा साथीहरुपनि अगाडि आइरहनु भएको छ । पुरानो नेताको पनि सत्ताप्रतिको लिप्सा छ । १४औँ महाधिवेशनसम्म एउटा रुपरेखा आउँछ । त्यसपछि एउटा मजबुत र सुदृट कांग्रेसको रुपमा अगाडि आउँछ ।

१४औँ महाधिवेशन समयमै होला भन्ने यहाँलाई कत्तिको विश्वास छ ?
समयमा त हुन्छ तर हाम्रो विधानमा कार्यकाल समाप्त भएको मितिले एक वर्ष अर्काे कार्यकाल थप्न सकिने भन्ने प्रावधान राखिएको छ । सम्भवतः विधान अनुसारै महाधिवेशन हुन्छ ।

प्रभावशाली नेतृत्व विकासका लागि युवा नेताको हैसियतले तपाईंको भूमिका के हो ?
नेपाली कांग्रेस आउने तीनै तहको निर्वाचनमा पहिलो आउँछ । त्यसका लागि म अनवरत रुपमा लागेको छु । पार्टीभित्र केही कमी–कमजोरी रह्यो । आउने चुनावसम्म यो समाधान हुन्छ । लोकतन्त्रमा विश्वास गर्ने सम्पूर्ण नेपालीलाई एकजुट पारेर अगाडि बढ्नेमा म लाग्छु । पार्टी लाग्छ ।

चोभारमा यहाँ जन्मिनु भयो । सोल्टीमोडमा घर बनाएर बस्नुभएको छ, आफ्नै निर्वाचन क्षेत्र सुन्दर छैन र ?
जतिखेर मेरा पिताजीले सोल्टीमोडमा घर बनाउनुभयो, त्यतिबेला चोभारमा हिमाल सिमेन्टका कारणले अत्यन्तै प्रदूषण थियो । यहाँ पनि जमिन थियो । अहिलेको जत्ति सुविधा पनि थिएन । बच्चाहरुलाई पढ्नलाई सुविधा पनि थिएन । यातायातको सुविधा पनि सजिलो थिएन । त्यसकारण यहाँ सरेको हो । तर, मैले चोभारमै घर बनाइसकेको छु, अब उतै सर्नेहो ।

प्रतिक्रिया दिनुहोस्