झापामा ८ जनामा डेंगु देखियो



उत्तम नेपाल, भद्रपुर ।
झापामा डेंगु रोगको संक्रमण शुरु भएको छ । अघिल्लो बर्ष भयावह रुपमा देखा परेको डेंगु संक्रमण यो बर्ष पनि देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अघिल्लो बर्ष झापामा ५ सय ३५ जनामा डेंगुरोगको संक्रमण देखा परेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो बर्ष ८ जनामा संक्रमण भइसकेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत बेदप्रसाद घिमिरेले जानकारी दिनुभयो । अघिल्लो बर्ष डेंगुको संक्रमणबाट दुईजनाको ज्यान गएको उहाँको भनाइ छ ।

झापाका तीनवटा स्थानीय तहमा डेंगु संक्रमित भेटिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । स्थानीय तहका स्वास्थ्य प्रतिनिधिहरुले बिहीबार जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको डेंगु नियन्त्रण सम्बन्धी बैठकमा उक्त तथ्यांक पेश गरेको स्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

भद्रपुर नगरपालिकामा एकजना, दमक नगरपालिकामा दुईजना र विर्तामोड नगरपालिकामा पाँचजना संक्रमित भेटिएको उहाँको भनाइ छ । बिर्तामोडको एक अस्पतालमा ६ जना डेंगु संक्रमित बिरामीको उपचार भइरहेको जनाइएको छ ।

तीन जना झापा र तीन जना सुनसरीको धरानका रहेका छन् । भद्रपुरमा फेला परेका डेंगु संक्रमितको मेची अञ्चल अस्पतालमा उपचार भइरहेको जनाइएको छ । त्यसैगरि दमक अस्पतालमा दुई जना डेंगु संक्रमितको उपचार भइरहेको जनाइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय झापामा भएको बैठकमा डेंगु फैलिन नदिन रोकथामका सबै उपाय अपनाउने निर्णय भएको स्वास्थ्य कार्यालय प्रमुख मधुसुदन कोइरालाले जानकारी दिनुभयो । डेंगुका लार्भा खोजेर मार्ने कोइरालाले बताउँनुभयो । झापाका सबै पालिकाले एडीज एजिप्टाई प्रजातिको लामखुट्टे, अण्डा तथा लार्भा नस्ट गर्ने अभियान चलाउने निर्णय भएको उहाँले बताउँनुभयो ।

प्रतिक्रिया दिनुहोस्