दलित परिवारलाई सुधारिएको चुल्हो वितरण



रामधन राई, खोटाङ ।
जेठ–३१, खोटाङका दलित परिवारलाई फलामे सुधारिएको चुल्हो वितरण गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ३९ परिवारलाई फलामे सुधारिएको चुलो शुक्रबार वितरण गरिएको हो ।

जनसंख्या तथा वातावरण मन्त्रालय वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको अनुदान सहयोगमा नगरपालिकाको १ नम्बर वडा कार्यालयले निम्न आय स्तर भएका दलित परिवारलाई चुल्हो बितरण गरेको जनाईएको छ । दलित समुदायको स्वास्थ्यको ख्याल गर्दै वडा कार्यालयले चुल्हो वितरण गरेको वडा सदस्य प्रकाशकुमार श्रेष्ठले बताउनुभयो ।

पिछडिएको वर्गको रुपमा हेरिएको दलित समुदाय अहिले राज्यको हरेक निकायमा प्रतिनिधित्व गर्ने संविधान बनेको नगर प्रमुख दिपनारायण रिजालले जनाउनुभयो । चुल्हो बितरण गर्ने क्रममा नगरप्रमुख रिजालले चेतना र आर्थिक अभावको चपेटामा परेका दलित समुदाय अव पछि नपर्ने भनाई राख्नुभयो ।

वडाध्यक्ष टंकप्रसाद आचार्यको अध्यक्षतामा भएको चुलो वितरण कार्यक्रममा वोल्ने वक्ताहरुले चुलोको सदुपयोग गरि फाईदा उठाउन आग्रह गरेका छन् । १५ वडा रहेको नगरमा सबै दलित घरपरिवारलाई चुलो वितरण गरिने भए पनि पहिलो चरणमा ४ सय ९० घरपरिवारलाई वितरण गरिने नगरपालिकाले जनाएको छ । नगरमा १२ सयभन्दा बढि दलित घरपरिवार रहेको तथ्याङक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्