सांसदलाई ल्यापटप, चलाउने कसले ?



गंगा बराल, काठमाडौं
संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सांसदलाई ल्यापटप दिने निर्णय गरेको छ । यसको पक्ष र विपक्षमा सांसदहरु छन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद भीमबहादुर रावलले सांसद आफैं ल्यापटप किन्न सक्ने भएकाले सचिवालयले दिनु नपर्ने बताउनुभएको छ । सचिवालयले जेष्ठ १९ गते गोरखापत्रमा विज्ञापन प्रकाशित गरी ल्यापटप सप्लाइ गर्नका लागि सूचना जारी गरेको छ ।

सचिवालयले सांसदको क्षमताको बृद्धि गर्न र पेपरलेस प्रविधिको बिकास गर्न ल्यापटप दिने निर्णय गरेको सचिवालयका सचिव डा. भरतराज गौतमले बताउनुभयो । ‘अन्य देशमा पनि यस प्रकारको सुविधा दिइएको छ, उहाँहरुलाई प्रविधिमैत्री बनाउन र दैनिक संसदीय गतिविधिमा सहज होस् भनेर ल्यापटप दिने तयारी भएको हो’, डा. गौतमले भन्नुभयो– ‘अब यो प्रक्रियामा गएको छ, टेन्डर भएको छ, कस्तो खालको दिने भन्ने पछि नै थाहा हुन्छ ।’

गौतमले यसअघिका कुनै पनि संसद् वा संविधानसभामा सांसदलाई ल्यापटप नदिएको बताउनुभयो । ल्यापटप चलाउन सांसदले जान्दछन् कि जान्दैनन् भन्ने पनि प्रश्न उब्जिएको छ । कसैकसैले यसको दुरुपयोग हुन सक्ने खतरा पनि औंल्याएका छन् । मकवानपुर–१ बाट निर्वाचित नेकपाका सांसद कृष्णप्रसाद दाहालले सचिवालयले नै ल्यापटप दिने हो भने राम्रो भएको बताउनुभएको छ । ‘अरु कसैसँग नमागी नै दिने हो भने ठीक छ तर अरुसँग मागेर वा कसैबाट लिएर दिनुचाहिँ राम्रो पक्ष हुँदैनथ्यो ।’

राष्ट्रियसभाका नेपाली कांग्रेसका सांसद प्रकाश पन्थले सदुपयोग हुने हो भने ल्यापटप वितरण प्रभावकारी हुने बताउनुभयो । ‘कोठामा कागजको चाङ नै लागिसक्यो, कति त कहिले हराउँछन् थाहै हुँदैन’, पन्थले भन्नुभयो– ‘ल्यापटपमा सबै सामाग्री राख्न सकियो भने सजिलो हुन्छ तर छोराछोरी र नातिनातिनीलाई फेसबुक चलाउन मात्र प्रयोगचाँही हुनु भएन ।’ यसअघि पनि सचिवालयले दलका नेता र समितिका सभापतिलाई ल्यापटप वितरण गरेको थियो तर कार्याकाल सकिएपछि पनि अझै धेरैले फिर्ता गरेका छैनन् । सचिवालयको जिन्सी स्टोरले केही ल्यापटप आउन बाँकी रहेको जनाएपनि नाम भने उपलब्ध गराएको छैन । माथिको आदेश भन्दै कर्मचारीहरु यसबारे विवरण दिन मान्दैनन् ।

गत संविधानसभा २०७० मा पनि संसदमा प्रतिनिधित्व गर्ने ३१ र २ स्वतन्त्र सभासदले ल्यापटप पाएका थिए । चाइनिज राजदुतावासले ‘लेनोभो’ नामको ल्यापटप सचिवालयलाई उपलब्ध गराएर सचिवालयले बाँडेको थियो । फिर्ता गर्ने शर्तमा दिएको ल्यापटप पनि सभासदले फिर्ता गरेनन् । सबै सभासदलाई पुग्ने गरी दुतावासले दिएको भनिएपनि सबैलाई सचिवालयले दिएको थिएन, यो विषय त्यतिबेला पनि उठेको थियो । नेपाली जनता पार्टीका तत्कालीन सभासद हरिचरण साहले पनि दुतावासले ल्यापटप दिएको स्वीकार्नुभयो ।

‘ल्यापटप दिएकै हो, फिर्ता गर्नुपर्ने थियो तर मेरो त संसदीय दलको कार्यालयबाट नै हरायो ’ साहले भन्नुभयो ‘ अरु माननीयले पनि फिर्ता गरेजस्तो लाग्दैन ।’ नेकपाकै सांसद आशाकुमारी विकले सचिवालयको निर्णय स्वागतयोग्य भएको बताउनुभयो । ‘जान्नेका लागि यो राम्रो हो, पाएपछि नजान्नेले पनि सिक्नुपर्छ भन्ने हुन्छ’ विकले भन्नुभयो ‘ मन्त्रीलाई पेपरलेस बनाएपछि सांसदलाई पनि पेपरलेस बनाउनु राम्रो हो, संसदीय दलमा थोरै कम्प्युटर छन्, केही काम पर्दा चलाउनै पाइँदैन ।’

प्रतिनिधिसभाका २ सय ७५ र राष्ट्रियसभाका ५९ सांसदले ल्यापटप पाउने भनिएपनि प्रतिनिधिसभामा अहिले ३ जना सांसद छैनन् । कैलाली–१ बाट निर्वाचित राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीलाई कैलाली जिल्ला अदालतले गत फाल्गुण २२ गते जन्मकैदको फैसला सुनाएपछि उहाँ संसदमा हुनुहुन्न । त्यसैगरी कास्की–२ बाट निर्वाचित नेकपाका सांसद रबिन्द्रप्रसाद अधिकारीको गत फाल्गुण १५ गते हेलिकोप्ट दुर्घटनामा परी निधन भएको छ । त्यस्तै पर्सा–३ बाट निर्वाचित संघीय समाजवादी फोरम नेपालका सांसद हरिनारायण प्रसाद रौनियार पनि निलम्बनमा पर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्