धर्मगुरुद्वारा बालविवाह रोक्ने प्रतिबद्घता



नेपाल समाचारपत्र, लमजुङ
लमजुङका धर्मगुरुहरूले बालविवाह रोक्ने प्रतिबद्घता व्यक्त गरेका छन् । धर्म, संस्कृति र रीतिरिवाजका नाममा हुँदै आएका बालविवलाई रोक्न विभिन्न धर्मका धर्म गुरुले लिखित प्रतिबद्घता व्यक्त गरेका हुन ।

‘परम्परागत हानिकारक अभ्यास न्यूनीकरणका लागि धर्मगुरुहरूको भूमिका’ विषय एक दिवसीय प्रशिक्षणका अवसरमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । सो कार्यक्रम महिला हिंसा विरूद्ध अन्तर धार्मिक राष्ट्रिय सञ्जालको आयोजना तथा ग्रामिण समुदायीक विकास केन्द्र र जनचेतन अभिवृद्धि र विकास अध्ययन समितिको सहकार्यमा भएको हो ।

विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष घनश्याम सुवेदीले उमेर नै नपुगी बिवाह गरी सुत्केरी हुँदा आमा र बच्चा दुवैको ज्यान जान सक्ने खतरा हुने लगायतका समस्या देखा पर्ने भएको हुँदा बालविवाह रोक्ने पर्ने बताउँदै अबका दिनमा आफूले बालविवाह नगराउने प्रतिवद्धता व्यक्त गर्दछु भन्नुभयो ।

तमु पेल्हु संघकी जिल्ला सचिव मनमाया गुरुङले गाउँमा बाल विवाहविरुद्घ संञ्जाल गठन गरेर बाल बिवाह सम्बन्धि जनचेतना फैलाउने तथा बाल बिवाह गर्ने र गराउनेलाई कानुनी दायरामा ल्याई कारबाही अघि बढाउने गरेमा बाल विवाहमा कमी आउने बताउनु भयो । उहाँले भन्नुभयो, ‘अब सबै मिलेर बालबिवाह जिल्लाबाट नै मुक्त गर्नुपर्छ ।’

कार्यक्रमको उद्देश्यमा प्रकाश पार्दै आरसिडिसीका शिक्षा परियोजनाका संयोजक प्रमोद घिमिरेले बाल बिवाह न्यूनिकरण गर्न जिल्लामा विभिन्न जनचेतना मूलक कार्यक्रमहरू सञ्चालन गरी अभियानकै रूपमा लागि परेको बताउनु भयो ।

धार्मिक गुरूहरूलाई जन्मदेखि मृत्यु पर्यन्तका गतिविधिमा प्रत्यक्ष वा परोक्ष सहभागी हुने भएको तथा उहाँहरूप्रति समाजले श्रद्धा गर्ने, उहाँहरूका भनाईलाई अनुसरण गर्ने भएको हुँदा प्रत्येक धार्मिक, सांस्कृतिक तथा धार्मिक अगुवाहरूलाई सामाजिक रुपान्तरणमा सहभागी बनाउने उद्देश्यका कार्यक्रमको रहेको उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्