कोशीमा विशेषज्ञ चिकित्सक अभाव



सरोज यादव, विराटनगर
कोशी अस्पताल विराटनगरमा दरबन्दीअनुसारको विशेषज्ञ चिकित्सक सरकारले नपठाउँदा उपचारार्थ आउने विरामीहरु मर्कामा परेका छन् । पूर्वकै सबभन्दा ठूलो सरकारी अस्पताललाई सरकारले विशेषज्ञ सेवा दिने अस्पतालको रुपमा विकास गर्ने नीति बनाए पनि हालसम्म दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सक पठाएको छैन । विशेषज्ञ चिकित्सक नहुँदा दैनिक रुपमा आउने सयौं विरामीले सास्ती भोग्नु परेको छ ।

कोशी अस्पताल एक सय शैयाको सञ्चालन हुँदा तोकिएको दरबन्दी ३ सय ५० बेडको हुँदा समेत पूर्ति हुन नसेको हो । १ सय शैयाको अस्पताल हुँदा सरकारले तोकेको दरबन्दीमा ३ सय ५० शैया सञ्चालन भइरहेको अस्पताल प्रशासनले जनाएको छ । २०६१ साल तत्काल श्री ५ को सरकार (सचिवस्तरीय) भदौ २८ गते भएको निर्णय अनुसार शैया थप गरेर २ सय ५० पुर्याएको थियो तर शैया थप गरे पनि आफ्नै स्रोत र साधनवाट सञ्चालन गर्न दिएको निर्देशन अनुरुप अस्पतालले विशेषज्ञ बिना सेवा सञ्चालन गर्दै आएको छ ।

देशकै दोस्रो पुरानो अस्पतालका रूपमा रहेको सो अस्पतालमा नेपाल सरकारको २ सय ४९ जनाको विशेषज्ञ चिकित्सक सहितको जम्मा दरबन्दी रहेको छ । तर अस्पतालमा ११ औं तहको प्रमुख कन्सल्टेन्टको १९ वटा दरबन्दीमध्ये ६ जना मात्र रहेका छन् । त्यस्तै ९ औ र १० औ तहको बरिष्ट कन्सल्टेन्टको ४२ जनाको दरबन्दी मध्ये १८ जना मात्र कार्यरत रहेको अस्पताल प्रशासनले जनाएको छ । मेडिकल अधिकृतको दरबन्दी २४ जना रहेकोमा सो दरबन्दी भने पूरा रहेको छ ।

प्रदेश १ को १४ वटै जिल्लासहित प्रदेश २ को सप्तरी, सिरहाका उल्लेखनीय रुपमा विपन्न र गरिव विरामी उपचार गर्न आउने अस्पतालको रुपमा चिनिने कोशीमा विकास समितिको २ सय ६७ वटा दरबन्दीमध्ये सबै पूर्ति गरेको छ । तर अस्पतालमा कार्यरत चिकित्सकहरु दैनिक निजीमा बढी समय दिने गरेकाले उपचारार्थ आउने विरामीहरु गुणस्तर सेवा लिनबाट बञ्चित हुने गरेका छन् । विकास समितिकाले पदपूर्ति गरेपनि चिकित्सकहरुलाई करारमा नियुक्ति गरेकाले उनीहरु समेत क्लिनिकमुखी बनेका छन् ।

अस्पालमा ११औ तहको एनेस्थेसियोलोजिष्ट, अर्थोपेडिक सर्जरी, डेन्टिस, मेडिसिन, सर्जरी, अप्थामोलोजी, प्याथोलोजी, नेफ्रोलोजिष्ट लगायतका बिशेषज्ञ चिकित्सक लामो समयदेखि अभाव रहेको छ । अस्पतालको भौतिक संरचना र शय्या थप गरिए पनि त्यसअनुसार सरकारले दरबन्दी नथपेका कारण बिरामीहरूको सेवा दिन कठिनाई भएको अस्पतालका निमित मेडिकल सुपरिटेण्डेन्ट डा.लक्ष्मीनारायण यादवले बताउनुभयो ।

अस्पतालमा नेपाल सरकारका तर्फबाट २ सय ४९ जना र अस्पताल विकास समितिमार्फत् २ सय ६५ जना गरी चिकित्सक, नर्स लगायतका कर्मचारी कार्यरत छन् । निजी क्लिनिक र नर्सिङ होमहरूमा भन्दा सरकारी अस्पतालमा उपचार खर्च कम पर्ने भएका कारणले पनि अस्पतालमा बिरामीको चाप बढ्ने गरेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्