लोकसेवाको विज्ञापन रोक्न सांसदहरूकै दबाब



काठमाडौं, (नेस) । प्रतिनिधिसभाका सांसदहरुले लोकसेवा आयोगको विज्ञापन रोक्न सरकारलाई दवाब दिएका छन् ।

बिहीबारको बैठकको विशेष समयमा बोल्ने सांसदहरूले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन कार्यान्वयन नभएको भन्दै ध्यानाकर्षण गराएका थिए ।

सांसद प्रदिप यादवले लोकसेवा आयोगको विज्ञापन रद्द गर्न संसदीय समितिले दिएको निर्देशन पालना नहुनु संसदीय गरिमा र मर्यादाको विरुद्धमा भएको जीकिर गर्नुभयो ।

आयोगका कर्मचारी र विभागीय मन्त्रीले विभिन्न सञ्चारमाध्यममा संविधानअनुसारको विज्ञापन भएको भन्दै दिएको अभिव्यक्तिप्रति उहाँको आपत्ति थियो ।

सांसद उमाशंकर अरगरियाले आयोगले संविधानप्रदत्त समावेशी समानुपातिकको सिद्धान्तलाई लत्याएर विज्ञापन मागेको तर्क गर्दै संविधानविपरीत काम गर्नेलाई कारबाही हुनुपर्न बताउनुभयो ।

सांसदहरूले गुठी विधेयकको विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए । कसैले त्यसको समर्थन त कसैले चर्काे विरोध गरेका थिए ।

सांसद् कृष्णभक्त पोख्रेलले भने सरकारले संविधानको धारा २ सय ९० अनुसार नै गुठी विधेयक ल्याएको दाबी गर्नुभयो । धर्म–संस्कृतिको रक्षाकै लागि उक्त विधेयक ल्याइएको भन्दै उहाँले गुठीको प्रस्तावनालगायतका दफाहरू पढेर सुनाउनुभएको थियो ।

पोखरेलले विधेयक नै नपढी भएको विरोध र त्यसबाट उत्पन्न गलत सन्देशप्रति चिन्ता व्यक्त गर्नुभएको थियो ।

सांसद नारदमुनि रानाले जेठ २३ र २९ गतेको हावाहुरीले कैलालीका विभिन्न स्थानमा ठूलो क्षति पुगेको भन्दै प्रभावितको उचित व्यवस्थापनका लागि सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

स्मरणीय छ, कैलालीमा आएको हावाहुरीले १ जनाको ज्यान गएको थियो भने धेरै घरपरिवारको विचल्ली भएको छ ।

प्रतिक्रिया दिनुहोस्