कांग्रेसले दोस्रो चरणअघि सबै संरचना बनाउने



रामकृष्ण चापागाईँ, काठमाडौं
नेपाली कांग्रेसले भदौ २४ गतेदेखि शुरु हुने जागरण अभियानको दोस्रो चरण प्रवेशपूर्व नै संविधान र पार्टीको संशोधित विधानबमोजिमको सम्पूर्ण संरचना बनाउने भएको छ ।

उक्त अभियानबारे जानकारी दिन बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्व प्रकाश शर्माले उक्त जानकारी दिनुभएको हो ।

कांग्रेसको संघीय संरचनाअनुसार संशोधित विधानमा तल्लो तहमा पनि कार्यसम्पादन समितिलगायत अन्य समिति बनाउनुपर्नेछ । उक्त अभियानका क्रममा कार्यकर्ताले तल्लो तहको अधिवेशन छिटो गर्नुपर्ने सुझाव दिएका थिए । काँग्रेसले विधानअनुसार केन्द्रीय विभागहरु पनि गठन गरेको छैन ।

पहिलो चरणअन्तर्गत ‘एकमहिने हिमाल, पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’ सम्पन्न गरेको कांग्रेसले उक्त चरणमा आम कार्यकर्ताले विधानअनुसार पार्टी संरचना नबनाइएकाले नेतृत्वको चर्को आलोचना गरेका थिए ।

कांग्रेसको विधानमा टोल, गाउँ÷नगर वडा, गाउँपालिका÷नगरपालिका÷उपमहानगरपालिका र महानगरपालिका, प्रदेश क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय र प्रदेश कार्यसमिति हुनुपर्ने उल्लेख छ ।

– एक महिनामा दुई हजार कार्यक्रम
-३१ हजार ६ सय कांग्रेसमा प्रवेश
– दोस्रो चरणमा पूर्वप्रतिष्ठानको प्रशिक्षण
-असार तेस्रो साता केन्द्रीय बैठक

प्रथम चरणको एक महिनामा जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरीय कार्यक्रम, भेला र गरी २ हजारभन्दा बढी कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा पार्टीका शुभचिन्तक, बुद्धिजीवी, व्यवसायी सहभागी भएका थिए ।
यस्तै विदेशस्थित जनसम्पर्क समितिमार्फत पनि अभियानका उद्देश्यहरु सम्प्रेषण भएको प्रवक्ता शर्माको भनाइ थियो ।

उहाँले सरकारको अधिनायकवाद–उन्मुख गतिविधिले बढाएको तीव्र असन्तुष्टि जागरणमार्फत देशव्यापी रुपमा प्रकट भएको दावी गर्नुभयो ।
प्रवक्ता शर्माले प्रथम अभियानम्ँ देशभरिब्ँट ३१ हजार ६ सय ४२ मानिस कांग्रेसमा प्रवेश गरेको जानकारी दिनुभयो ।

दोस्रोचरण असोज ७ सम्म
कांग्रेसको जागरण अभियानअन्तर्गत दोस्रोचरणको कार्यक्रम असोज ७ गतेसम्म चल्ने र प्रथम चरणमा खटिएका केन्द्रीय प्रतिनिधिले असार १४ गतेभित्र लिखित प्रतिवेदन बुझाउनुपर्ने प्रवक्ता शर्माले बताउनुभयो ।

उहाँका अनुसार उक्त प्रतिवेदन केन्द्रीय समितिमा आएपछि प्रथम चरणको समीक्षा, अन्य आवश्यक समसामयिक मुद्दामा छलफल गरी निर्णय गर्न केन्द्रीय बैठक असार तेस्रो साता बोलाइने छ ।

पत्रकार सम्मेलनमा प्रवक्ता शर्माले नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाबारे यथाशीघ्र निर्णय गरिने बताउनुभयो ।

यस्तै केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पनि दोस्रो चरणपूर्व विभिन्न तहमा कार्यक्रम गर्ने भएको छ । साउनको पहिलो साता कांग्रेसका तर्फबाट जितेका देशभरिका गाउँपालिका अध्यक्ष र उपाध्यक्षहरुका लागि ‘सेवा, संगठन र समृद्धि’ नामक प्रशिक्षण दिइनेछ ।

सात प्रदेशका जिल्लालाई १४ फरक समूह बनाई १४ स्थानमा प्रशिक्षण दिइनेछ । साउन पहिलो साता प्रदेश १ को धनकुटा र कर्णाली प्रदेशको सुर्खेतमा प्रशिक्षण चलाइने छ ।

यस्तै नेपाली जनसम्पर्क समितिहरुका लागि यही जुन २१–२३ सम्म डेनमार्कमा ३३ देशका नेपाली जनसम्पर्क समितिका महाधिवेशन प्रतिनिधिको सहभागिता रहने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्