५ दशकदेखी रोल नम्बर १३ नलेखिएको विद्यालय !



अनिल खत्री, गुल्मी । सुन्दा अचम्म लाग्न पनि सक्छ । तर गुल्मीको एउटा विद्यालयमा झण्डै ५ दशकदेखि एउटा रोल नम्बर १३ नराखि विद्यार्थीको हाजिरी गर्दै आएको छ । जिल्ला सदरमुकाम तम्घासको महेन्द्र माध्यमिक विद्यालयको कक्षा ९ मा रोल नम्बर १३ नलेखेको अहिले ४४ वर्ष बढी पुगेको छ ।

विद्यालयको कक्षा ९ मा पढ्ने विद्यार्थीहरूले रोल नम्बर १३ सुनेका छैनन् । विद्यार्थीहरू मात्र होइन, शिक्षकहरू पनि रोल नम्बर १३ बाट निकै टाढा छन् । २०३२ सालदेखि उक्त विद्यालयमा रोल नम्बर १३ नलेखिँदै आएको हो । कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ । सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ ।

विद्यार्थी लगातार मृत्यु भएको भन्दै विद्यालयले कक्षा ९ मा रोल नम्बर १३ लेखिएको छैन । विद्यालयमा भर्ना भई कक्षा ९ मा अध्ययन गर्ने १३ रोल नम्बर भएका बालबालिकाको विभिन्न समयमा मृत्यु भएका कारणले विद्यालयले नै रोल नम्बर १३ लेख्न छोडेको हो ।

विद्यालयका सहायक प्राचार्य युवराज ज्ञवालीका अनुसार रोल नम्बर १३ भएका विद्यार्थीको निधन भएका कारणले रोल नम्बर १३ लेख्न छोडिएको बताउनुभयो । उहाँका अनुसार विद्यालयको कक्षा ९ मा १३ रोल नम्बर भएका तत्कालिन अर्खले गाविस ७ भण्डारी टोलका ढुण्डीराज भण्डारीको २०२५ सालमा परीक्षा दिने क्रममा पेट दुखेर मृत्यु भएको थियो ।

त्यस्तै दोस्रो पटक २०३० सालमा तत्कालिन तम्घास गाविस ४ का जुनप्रसाद श्रेष्ठको २०३१ सालमा तत्कालिन तम्घास गाविस १ रमेश श्रेष्ठको मृत्यु भएको थियो । २०३२ सालमा तम्घास पुरानोबजारका कृष्णप्रसाद पाण्डेयको विद्यालयमै परेको चट्याङ लागेर मृत्यु भएको थियो ।

विद्यालयमा लगातार विद्यार्थीहरुको मृत्यु भएका कारण विद्यार्थी अविभावकहरुले कक्षा ९ मा १३ अशुभ भएको भनेका कारण सबैको सल्लाह अनुसार लेख्न छोडिएको विद्यालयका सहायक प्रधानाध्यापक ज्ञवालीले बताउनुभयो । पहिले पहिले १३ रोल नम्बर लेख्ने गरेतापनि हाल भने लेख्न छोडिएको ज्ञवालीले बताउनुभयो । सबैको मनमा अशुभ भन्ने रहेका कारण कसैले पनि १३ रोल नम्बर लेख्न सुन्न नि चाहँदैनन् ।

अप्रिय घटना घटेका कारण अहिल पनि घटना हुन्छ की भन्ने डरले १३ रोल्नम्बर नलेखिएको विद्यालय व्यवस्थापन समितिका सदस्य घनश्यमा पाण्डेयले बताउनुभयो । लगातार ४ जना विद्यार्थीको १३ रोल नम्बर भएका मृत्यु भएको र विद्यार्थीहरुले पनि १३ रोल नम्बर राख्न नचाहेका कारण विगत देखी यसलाई निरन्तरता दिँदै आएको पाण्डेयले बताउनुभयो ।

कक्षा ९ को रोल नं १३ सधैं खाली हुन्छ सो कक्षामा रोल नम्बर १२ पछि एकैपटक १४ आउँछ । २००९ सालमा स्थापना भएको विद्यालय हाल उक्त विद्यालयमा १२ कक्षासम्म पठन पाठन हुँदै आएको छ ।

बिज्ञान, शिक्षा बिज्ञान, मानविकी, व्यवस्थापन १२ सय बढी विद्यार्थीहरु पठन पाठन गर्दै आएको विद्यालयले जनाएको छ । जिल्लाकै सामुदायिक विद्यालयमा उत्कृष्ट विद्यालयमा परिचित छ । विद्यालय नमुना विद्यालयको रुपमा छनौट समेत भएको छ ।
विद्यालयमा पढ्न जिल्ला र छिमेकी जिल्लाहरुमा समेत विद्यार्थीहरु आउने गर्दछन् ।

प्रतिक्रिया दिनुहोस्