दोबिल्ला कार्किनेटा सडक निर्माण नसकिँदै भत्कियो



दुर्गाप्रसाद शर्मा, पर्वत
ग्रामीण पहुँच कार्यक्रमको सहयोगमा पर्वतको कुस्मा नगरपालिकादेखि फलेवास नगरपालिकाको कार्कीनेटा जोड्ने सडक भत्किन सुरु भएको छ । निर्माण अवधि ६ महिना बाँकी छँदै निर्माण पक्ष र अनुगमन गर्ने कार्यालयको प्रभावकारी अनुगमन नगर्दा ढलान गरिएको बाटो अधिकांस ठाउँमा भत्किएको हो । दोबिल्ला–सिल्मी–ठूलीपोखरी–कार्कीनेटा १४ किलोमिटर सडक निर्माणको क्रममै भत्किन सुरु भएपछि स्थानीयवासी समेत अचम्मित बनेका छन् ।

‘कम गुणस्तरको काम हुँदा सडक बनीनसक्दै भत्किन थालेको छ’ सिल्मी–ठूलीपोखरी–‘कार्कीनेटा सडक उपभोक्ता समितिका अध्यक्ष राजेन्द्र सुबेदीले भन्नुभयो–‘हामीले पटक पटक कार्यालयको ध्यानाकर्षण गराउँदा सुनुवाई भएन ।’ कम गुणस्तरको कच्चा पदार्थ र सिमेन्टको मात्रा कम हुँदा २ महिनामै फूटेर चिरा चिरा परिसकेको सुबेदीले बताउनुभयो । ‘ढलान सबै फूटिसकेको छ’ उहाँले भन्नुभयो–‘सडक माथि झुण्डिएको पहिरो समेत खस्न सुरु भईसकेको छ ।’

सडक निर्माणका लागि १४ करोड विनियोजन भई गत २०७३ सालदेखि निर्माण सुरु भएको हो ।जिल्ला पूर्वाधार कार्यालय पर्वतका अनुसार उक्त आयोजनाको निर्माण अवधि आगामी भदौसम्म रहेको बताइएको छ । कार्यालयका प्रमुख ईन्जिनियर दयाराम अधिकारीका अनुसार सडकको ७० प्रतिशत काम सकिएको बताउनुभयो ।

उहाँका अनुसार सडकको डिजाईन ईस्टिमेट अनुसार नै काम भएको बताउनुभयो ।‘१० सेन्टिमिटर बाक्लो र रड नहालेको ढलान भएकाले भत्किएको हो’ उहाँले भन्नुभयो–‘ग्रामीण पहुँच कार्यक्रमको नीति र ईस्टिमेट अनुसार नै काम भएको छ ।’ उहाँले ईस्टिमेटमा कम गुणस्तर भएकाले निर्माण कम्पनीले थपेर गराउन नसक्ने बताउनुभयो । ‘हामीले जस्तो डिजाईन दिएका छौं त्यहि अनुसार भएको छ’ उहाँले भन्नुभयो–‘थोरै दिएर घेरै काम गराउन सक्ने अवस्था छैन ।’

यसैबीच उक्त सडकको सडकको अनुगमन गरिएको छ । नेकपा पर्वतका सचिव सुदीप कुँवर, नेकपा कुश्मा नगर कमिटी अध्यक्ष शंकर गिरी, जिल्ला आयोजना कार्यालय पर्वतका प्रमुख दयाराम अधिकारी लगायतले सडकको अनुगमन गर्नुभएको हो । सडक स्तरोन्नतिका क्रममा केही ठाँउमा गरिएको ढलान र नाली कम गुणस्तर भएका कारण सुधार गर्नुपर्ने देखिएको सहभागिहरुले बताएका छन् । उक्त सडक आगामी वर्षसम्ममा कालोपत्रे गर्ने गरि योजना समेत अगाडी बढेको छ ।

प्रतिक्रिया दिनुहोस्