सडक खन्दा पहिरो लड्दा दुई जना पुरिए



हेटौंडा ।
मकवानपुरको विकट राक्सिराङ गाउँपालिका– ८, टोड्केमा सडक निर्माण गर्ने क्रममा पहिरो लड्दा दुई जना पुरिएका छन् । सामुदायिक उपभोक्ता समितिद्वारा निर्माणाधीन शीलाधुनीबाट ठूलो टोड्के पुग्ने कृषि सडक खन्ने क्रममा बाटोमा खसेको पहिरोमा पुरिनेमा चितवन शक्तिखोरका १७ वर्षीय रोशन बुढाथोकी र २३ वर्षीय सुदीप श्रेष्ठ रहेको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

बिहीबार दिउँसो करिब १२ बजे खसेको पहिरोमा पुरिनेको खोजीका लागि पहिरो समस्या बनेको प्रहरीले जनाएको छ । उक्त स्थानमा ढुंगा खसिरहेको स्थानीयले बताएका छन् । डोजरको करिब आधा भाग पुरिएको छ ।

टोड्केमा सडक निर्माण गर्ने क्रममा सुक्खा पहिरोले दुई जनालाई पुरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिनुभयो ।

एक्साभेटरले सडक खन्ने क्रममा माथिबाट पहिरो लडेपछि चालक भाग्न सफल भए पनि दुई जना भने भाग्न नसकेपछि पहिरोमा पुरिएको उहाँले बताउनुभयो । चालकको परिचय खुल्न सकेको छैन । बिकट गाउँ भएकोले प्रहरी पुग्न समय लाग्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक पावनकुमार झाले बताउनुभयो । मनहरीबाट घटनास्थल पुग्न हलुका सवारीसाधनमा करिब ३ घण्टा लाग्छ ।

प्रतिक्रिया दिनुहोस्