भरपर्दा छैनन् ग्रामीण सडक



नेपाल समाचारपत्र, दैलेख
दैलेखका ११ वटै स्थानीय तहले अहिले धमाधम सडक निर्माण गरिरहेका छन् । स्थानीय तह मात्र नभई संघीय र प्रदेश सरकारबाट समेत सडक निर्माणका कार्य भईरहेका छन् । बिनासर्भे डोजर अप्र्रेटरको भरमा खोलिएका दैलेखका अधिकाँस ग्रामिण सडकहरु भरपर्दो छैनन् । जथाभावी खनिएका सडक कतै ग्रेड नमिलाई खनिएका छन् भने कतै साँधुरा छन् । त्यस्ता सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । त्यो मध्येको दैलेख सदरमुकामको पुरानो बजार देखि मौला डाँडा जोड्ने सडक ग्रेड नमिलाई खनिएको पाईएको छ ।

दैलेखको नारायण नगरपालिका वडा नं. १ पुरानो बजार देखि वडा नं. ९ को मौलाडाँडा जोड्ने उक्त सडक ग्रेड नमिलाई खनिएको स्थानीयले गुनासो समेत गरेका छन् । दैलेख–सुर्खेत सडक खण्डको वैकल्पीक मार्ग समेत रहेको यो सडक निर्माणको जिम्मा आरबी कन्ट्रक्सन दैलेखले पाएको थियो । निर्माणाधिन उक्त सडकको प्रतिनीधि सभा सांसद पार्वती कुमारी विशुन्के, नारायण नगरपालिकाका इन्जिनियर विशेष शर्मा, कार्यकारी अधिकृत निरक रावल लगाएतको टोलीले अनुगमन समेत गरेको छ ।

सडक अनुगमन पश्चात पत्रकारहरुसँग कुरा गर्दै सांसद विशुन्केले सडक दिगो र गुणस्तरिय हुनुपर्ने बताउनुभयो । उहाँले ग्रेड नमिलाई निर्माण गरिएको स्थानमा ग्रेड मिलाउन निर्माण कम्पनीलाई आग्रह समेत गर्नुभयो । चालु आर्थीक बर्षमा सांसद विशुन्केको पहलमा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत दैलेखको दुई वटा सडक रणनैतिक सडक सञ्जालमा परेका छन् । नारायण नगरपालिका वडा नं. १ पुरानो बजार देखि वडा नं. ९ को मौलाडाँडा र लोहोरे खोला–चौराठा जोड्ने सडक रणनैतिक सडक सञ्जालमा परेको सांसद विशुन्केले बताउनुभयो ।

नारायण नगरपालिकाका इन्जिनियर विशेष शर्माले ग्रेड नमिलेका स्थानमा आरसिसी र पिसिसी गर्नुपर्ने बताउनुभयो । संघीय सरकारको रणनैतिक सडक सञ्जालमा परेको उक्त सडकको कतिपय स्थानमा ग्रेड नमिलेको स्थानीयको आरोप छ । सडक डिभिजन सुर्खेतका प्रमुख गुरुप्रसाद अधिकारीका अनुसार उक्त सडकको भ्याट बाहेक ८४ लाख ६९ हजार बराबरको स्टमेट गरिएको थियो । सडक निर्माणको सम्झौता भने भ्याट बाहेक ४८ लाख ३८ हजार रहेको सडक डिभिजन सुर्खेतका प्रमुख अधिकारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्