दुर्गममा जाने कर्मचारीको सुविधा बढाइयोस्




निजामती कर्मचारीले बढुवा हुन दुर्गममा सेवा नगरे पनि हुने गरी नयाँ विधेयक विचाराधीन अवस्थामा राखिएको छ । संसद्को राज्यव्यवस्था समितिमा विचाराधीन रहेको विधेयकले निम्त्याउन सक्ने समस्यालाई संसद्ले राम्रोसँग विचार गर्न आवश्यक छ । किनभने, अहिले पनि दुर्गम क्षेत्रमा कर्मचारीको अपुग छ । उक्त विधेयक वर्तमान अवस्थाका लागि सकारात्मक छैन । किनभने दुर्गम क्षेत्रमा सरकारले अहिलेसम्म पनि उचित तरिकाले कर्मचारी व्यवस्थापन गर्न सकिरहेको छैन ।

दुर्गम क्षेत्रमा अहिले पनि धेरै कर्मचारीहरु आवश्यक छ । कर्मचारी नहुँदा नागरिकले सुविधा पाउन सकिरहेका छैनन् । कर्मचारी आपूर्ति गर्न पनि नसक्ने र दुर्गममा जाँदा बढुवाका लागि थप अंकको प्रावधान पनि हटाउँदा दुर्गम क्षेत्रमा कुन कर्मचारीले काम गर्ने भन्ने प्रश्न उठ्न सक्छ । किनभने, अंककै लागि पनि केही कर्मचारीहरु दुर्गम क्षेत्रमा काम गर्न जान्छन् ।

तसर्थ, अहिलेको अवस्थामा संसद्ले दुर्गम क्षेत्रमा काम गर्न चाहने कर्मचारीको सुविधा बढाउन आवश्यक छ । दुर्गम क्षेत्रको जिन्दगी कष्टकर रहेको हुँदा कर्मचारीलाई थप प्रोत्साहित गर्न अहिलेको भन्दा बढी सुविधा दिएर कर्मचारीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याउन आवश्यक छ । त्यसै गरी, सुविधा बढाएपछि पनि दुर्गम क्षेत्रमा सुविधा दिन नसक्ने कर्मचारीलाई कारबाहीको दायरामा ल्याउन पनि सरकाले कुनै कदम छोड्नुहुँदैन । अतः विचाराधीन अवस्थामा रहेको विधेयकको समग्र पक्षलाई सोचिनुपर्छ । अन्यथा, आगामी दिनमा दुर्गम क्षेत्रमा अहिलेको भन्दा कम कर्मचारी नदेखिएलान् भन्न सकिन्न ।
– यमुना पाण्डे, पोखरा ।

आँखा बचाउन हरप्रयास गरौं
नेपाल समाचारपत्रमा आँखाको क्यान्सरसम्बन्धी समाचार पढेपछि केही कुरा लेख्न मन लाग्यो । आँखा मानिसको सबैभन्दा महत्वपूर्ण अंग हो । यो अत्यधिक महत्वपूर्ण अंग भएकाले यसको संरक्षणमा उचित ध्यान दिनुपर्छ । एकैछिन् कल्पना गरांै त, आखा बन्द भयो भने के होला ? त्यो पीडादायी अवस्थाको कल्पना गर्दा पनि सबैजना झसङ्ग हुने गर्छन् । मानिस गम्भीर प्रकारको बिरामी हुँदा समयमा नै उपचार भएन भने त्यसको साइड इफेक्ट आँखामा परेर पनि आँखा बन्द हुने वा आँखामा दीर्घकालीन समस्या देखा पर्ने हुन सक्छ । अन्य विभिन्न प्रकारका लापार्बाहीपूर्ण कार्यले पनि आँखामा विभिन्न प्रकारका समस्या सिर्जना हुन सक्छ ।

तर, अहिले अवस्था फेरिएको छ । बढ्दो वातावरण प्रदूषण एवम् धूलोधुवाँका कारण त्यसको सिधै असर आँखामा पर्ने गरेको छ । यद्यपि, धूलोधुवाँले फोक्सोमा समेत गम्भीर प्रकारको असर पारिरहेको छ । त्यसैले, धूलोधुवाँ मानिसलाई दीर्घ रोगी बनाउने खतरनाक माध्यम बनिरहेको छ । अहिले पनि मौसम परिवर्तनको समय भएकाले चर्को घाम लाग्दा धूलोधुवाँको प्रकोपले राजधानीवासीदेखि देशभरका शहरी क्षेत्रका बासिन्दा बढी पीडित भइरहेका छन् । त्यसो त धूलोधुवाँको प्रकोपबाट गाउँले पनि पीडित हुने क्रम बढ्दो छ । सरकारकै विभिन्न अध्ययनअनुुसार नेपालमा हाल ३० लाख व्यक्तिमा आँखासम्बन्धी समस्या देखिने गरेका छन् । कतिपयलाई त आँखाको क्यान्सरसमेत भएको दुःखदायी अवस्था छ । यदि आँखाको उचित संरक्षण र संवद्र्धन हुन सकेन भने आँखामा क्यान्सरसमेत हुन सक्ने चिकित्सकहरूले बताएका छन् । विश्व स्वास्थ्य संगठन र आँखारोग विशेषज्ञका अनुसार कुल जनसंख्याको १० प्रतिशत नागरिकमा आँखासम्बन्धी विभिन्न समस्या देखिने गरेको छ ।

आँखाको समस्या नजानिदो किसिमले बढ्दै जाने भएकाले आँखामा कुनै समस्या देखियो भने छिटोभन्दा छिटो चिकित्सककहाँ गएर देखाउनुपर्छ । सन्चो भइहाल्छ भनेर त्यसै बस्न हुँदैन । बच्चाहरूमा त झन् यो रोग चाँडै नै बल्झिने भएकाले अभिभावकहरू समयमा नै सचेत र सतर्क रहनुपर्छ । आँखारोगबाट बच्नका लागि विभिन्न महत्वपूर्ण उपायहरू अपाउन सकिन्छ । आँखारोग विशेषज्ञका अनुसार सबैले वर्षमा एकपटक अनिवार्य आँखा परीक्षण गर्नुपर्छ । त्यसै गरी बच्चा जन्मेको एक वर्षभित्र अनिवार्य आँखा परीक्षण गराउन लैजानुपर्छ । यसै गरी सुगर र रक्तचाप भएका बिरामीले ६–६ महिनामा आँखाको परीक्षण गराउनुपर्छ । त्यसै गरी आँखालाई सुरक्षित राख्न लामो समयसम्म कम्प्युटर तथा मोबाइल प्रयोग गर्नुहँुदैन ।

सरकारका सरोकारवाला निकायले शहरी क्षेलाई धूलोधुवाँबाट मुक्त गराउने किसिमका योजनाहरू तर्जुमा गरी ती योजनाको सशक्त कार्यान्वयन गर्न सक्नुपर्छ । शहर बजारलाई धुवाँबाट मुक्त गराउन विद्युतीय यातायातका साधनमा बढी जोड दिनुपर्छ । जनताले धूलो र धुवाँबाट मुक्ति पाए भने पनि धेरै हदसम्म उनीहरूको आँखा सुुरक्षित हुन सक्ने विश्वास गर्न सकिन्छ । अर्कोतर्फ आफ्नो आँखालाई स्वस्थ राख्न नागरिकले पनि आँखाको सरसफाइमा विशेष जोड दिनुपर्छ भने आँखाको नियमित परीक्षण गराइरहनुपर्छ ।
– सुरजराज भण्डारी, एमबीबीएस विद्यार्थी ।

प्रतिक्रिया दिनुहोस्