उपत्यकाका सुकुम्बासी भन्छन्- ‘राज्यले विकल्प देओस, वस्ती छोड्न तयार छौ’



टीका बन्धन, काठमाडौं
काभ्रेको चलाल गणेशथानकी मिना कोइराला पति सुरज र दुई छोरा छोरी सहित काठमाडौं आएको साढे ३ दशक नाघिसक्यो । २०४१पछि त्रिपुरेश्वरको वागमति किनार बंशीघाटमा बसोबास गर्न थालेका कोइराला दम्पत्तिले छोरा, छोरीको घरजम काठमाडौंबाटै गरे । बंशीघाटमै हुर्किएका नाती नातिनाको समेत जोडी बाध्ने बेला भइसक्यो, तीन पुस्ता विभिन्न पेशा व्यवसायमा आवद्ध छन् । ‘हामी यहाँ आउनुभन्दा अघि ६ घर परिवार थिए, हामी थपिएपछि ७ घर भयौ, बोरा र टिनका टुक्रा टालटुल गरेर छाप्रो बनायौ, त्यसपछि यहाँको बसोबास शुरु भयो’–कोइरालाले विगत स्मरण गर्दै भनिन् । बंशीघाटमा अहिले १ सय ९० परिवार छन् ।

रामेछापको डिमी पोखरीका हुकुमबहादुर लामा २०२७मा घरबाट भागेर काठमाडौं आउँदा १२ बर्षका थिए, उनको मन काठमाडौंको चहल–पहलले जित्यो । लामा २०३०पछि शंखमुल किनारामा बसोबास गर्न थाले, यतै घरजम भयो । छोरा–छोरी यतै हुर्किए, पढे बढे । तत्कालिन वडाध्यक्ष विदुर विक्रम शाहले बसोबासको अनुमति दिएपछि सो भेगमा लामा लगायतका परिवार बस्ने वातावरण मिलेको थियो । सो बेला ५÷६ वटा मात्रै टहरा रहेको बताउँदै लामाले भने–‘त्यो बेला यहाँ धेरै खुल्ला थियो, काठमाडौं र पाटनका मान्छेको खेतबारी थियो, अहिले त हामी १ सय ८ घर धुरी पो छौ त ।’


कोइराला र लामा परिवार प्रतिनिधी उदाहरण मात्रै हुन् वागमती नदी किनारामा बसोबास गर्नेको सुकुम्बासी परिवारको संख्या बाक्लो छ । घरधुरी र संख्या बाक्लिएपनि उनीहरु ढुक्कले बस्ने वातावरण भने छैन । बसोबास गरिरहेको घर, टहराको लालपुर्जा आफ्नो नाममा नभएपछि राज्यले कुन बेला हटाउने हो, कुन बेला लखेट्ने हो भन्ने चिन्ता भने दोहोरिरहन्छ । तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको कार्यकालमा २०६८ बैशाख अन्तिम साता थापाथलीस्थित वागमति किनाराको सुकुम्बासी बस्तीमा तत्कालिन प्रशासनले डोजर चलायो ।

‘त्यस बेला सुत्केरी र गर्भवतीले ठूलो कस्ट व्यहोर्नु प¥यो, त्यस्तै घटना फेरी दोहोरिन सक्छन्, त्यसैले हामी ढुक्कले बस्ने वातावरण छैन’–नेपाल बसोबास बस्ती संरक्षण समाजका अध्यक्ष समेत रहेका लामाले भने । उपत्यकाका ७९स्थानमा सुकुम्बासी बस्ती रहेको समाजले जनाएको छ । काठमाडौंका ७४, ललितपुरका ३ र भक्तपुरका २ ठाउँमा अव्यवस्थित बसोबासी छन् भने धेरै घर भने वागमती, विष्णुमति, मनोहरा, रुद्रमति (धोविखोला) किनारामा छन् । सुकम्बासीको बाक्लो बसोबास भने वागमति किनारामा छ, तिलगंगादेखि बल्खु किनारा आसपासमा मात्रै करिव २ हजार घर परिवारको बसोबास रहेको समाजको ठहर छ ।


तिलगंगा आँखा अस्पताल आसपासका प्रगति टोल, प्रायघाट, चाँदनी टोल, सिनामंगल कालीमाटीडोल, सिनामंगल भत्केको पुल, गैरीगाउँ, जागृति नगर, विजयटोल, शान्तिनगर, शंखमुल, थापाथली, त्रिपुरेश्वरस्थित बंशीघाट, बल्खु लगायतका भेगमा यस्तो वस्ती छ ।

धोविखोला किनारामा गोपिकृष्ण हल आसपासको पाथिभरा बस्ती, कालोपुल, देवीनगर, शान्ति विनायकमा पनि यस्ता परिवार धेरै छन् । बालाजुतर्फबाट बहने विष्णुमति खोला किनाराको माथिल्लो बालाजुको पश्चिमी किनाराको बुद्धज्योति बस्ती, तल्लो बालाजुको पूर्वतर्फको इमाटोल, धौखेल र धुमाखेलको दायाँ–बायाँ, टेकुको भिममुक्तेश्वर आसपासमा पनि सुकुम्बासी परिवार छन् ।

भक्तपुरको मनोहरा खोला किनारामा करिव ७ सय परिवारको बसोबास रहेको बताउँदै समाजका अध्यक्ष हुकुम बहादुर लामाले भने–‘त्यहाँ बाक्लो बसोबास छ, यो तथ्यांक केही वर्ष अघिको हो, घर परिवार थपघट भएका हुन सक्छन् ।’ नदी किनारा बाहेक चक्रपथको भित्री र बाहिरी भेगमा पनि वर्षौयता यस्ता परिवार बस्दै आएका छन् । ललितपुरको गोदावरीमा २ सय ३५ र भैंसेपाटीमा करिव २० घर परिवार छन् । काठमाडौंको खड्ग भद्रकाली, कालोपुल, जोरपाटी, मुलपानी, भगवान पाउ स्वयम्भु, ज्ञानेश्वर, सोह्रखुट्टे आसपासको चारघरे, कपनको सुवीगाउँ र रामहिटी, चावहिलको मैजु वहाल, कुमारीगाल, मित्रपार्क, बौद्धको राधाकृष्ण चोक र गणेश थानमा पनि यस्तै परिवार छन् ।


त्यसैगरी बुढानिकलकण्ठको हात्तिगौडा, भंगाल, सिनामंगलको महाविर गल्ली, टिचिङ अस्पताल आसपासको खाँडी पाखा र नारायण टोल, बसुन्धरा चौकी सँगैको ढिकुरी, रानीबारी, सामाखुशी, अनामनगरमा पनि वर्षौयता सुकुम्बासी बस्ती छन् । काठमाडौंको २९वडा, सिंहदरवारको पूर्वीगेटबाट करिव २ सय मिटर आसपासमा पनि यस्तो वस्ती छ । सो भेगमा २०४० आसपासदेखि अस्थायी घर टहराको बसोबास शुरु भएको सो वस्तीका अगुवा विष्णुप्रसाद खतिवडा स्मरण गर्छन् । यही ठाउँमा बसोबास गर्न थालेको ३५ बर्ष नाघिसक्यो, उनले भने–‘शुरुमा हामी १७ घर थियौ, पछि तीन घर थपिएका हुन् ।’ सो भेगमा बसोबास गर्दै आएका परिवारलाई तत्कालिन टोखा गाविस स्थानान्तरण गर्ने गृहकार्य समेत भएको थियो ।

सर्वोच्च अदालतको निर्देशन पश्चात तत्कालिन नगर विकासले घर निर्माणका लागि प्रतिपरिवार दुई आना दुई पैसा जग्गा उपलब्ध गराउने पहल अघि बढाएको थियो । भिरालो पाखोलाई सम्याएर जग्गा वितरण गर्ने र खानेपानीको व्यवस्था गर्ने प्रकृया अघि बढेपनि सो योजना विचमै तुहिएको थियो ।

मुलुकको प्रमुख प्रशासनिक कार्यालयको आडैको पर्तीजग्गामा बस्ती बसेकाले जग्गा हडप्न र आफूहरुलाई जबरजस्ती उठिबास लगाउन केही समययता भू–माफियाको चलखेल बढेको खतिवडा बताउँछन् । ‘मेरो जग्गा हो भन्दै दावी गर्नेहरु धेरै आउन थालेका छन्, एक दुई जना मात्रै आउने भए पो जग्गा उही मान्छेको हो भनेर पत्याउनु, उनले भने–‘यहाँ विचौलियाको चलखेल निकै बढ्या छ ।’ आफूहरुसँग मतदाता परिचयपत्र, पारिवारिक परिचय, वडा कार्यालयको सिफारिपत्र र विद्युत प्राधिकरणले छुटाछुट्टै मिटर समेत उपलब्ध गराएकाले हचुवाको भरमा वस्ती उठाउन नमिल्ने उनको तर्क छ ।

राज्यको भूमि नितिले अव्यवस्थित बसोबासलाई परिभाषित गरेको र गत वर्ष संशोधन भएको भूमि नीतिको आठौं संशोधनमा पनि यो विषय समावेश भएपनि राज्य सुकुम्बासी समस्या प्रति गम्भिर नदेखिएको जानकार बताउँछन् । काठमाडौं उपत्यका र अन्यत्रका सुकुम्बासी बस्तीलाई समेट्ने गरी नेपाल महिला एकता समाज, बालविकास युवा समाज, नेपाल बसोबास बस्ती संरक्षण समाज र संयुक्त सुकुम्बासी मोर्चा जस्ता संस्था क्रियाशिल छन् । मोर्चा सबै राजनीतिक दलमा आवद्ध व्यक्तिहरुको छाता संस्था हो । यस्ता वस्तीमा अहिले पक्की र सुधारिएका घर टहरा धेरै देखिन्छन्, खानेपानी, ढल निकासको सुविधा भएका वस्ती पनि बाक्लै छन् ।

तर यस्तो परिवर्तन त्यसै नआएको महिला एकता समाजकी कोषाध्यक्ष विना बुद्धाचार्य बताउँछिन् । ‘वर्षौसम्म ढल निकास थिएन, वर्षाद्को समयमा धेरै पटक घर ढुवान भएका छन्, महिनौसम्म बालबालिका र सुत्केरीले धेरै कष्ट सहनु परेको थियो, उनी भन्छिन्–‘अहिले केही सुधार भएको हो, पूर्ण सुधार त कहिले होला र ?

गैर सरकारी संस्था लुमन्तिले सन् १९९८देखि करिव एक दशक सम्म शिक्षा, खानेपानी सरसफाई, लघुवित्त र अन्य आयआर्जनका कार्यक्रम सहित विविध सीप मुलक तालिम उपलब्ध गराएपछि यस्ता वस्तीमा परिवर्तन आएको उनको भनाई छ । विगतमा सामान्य पैसा जुटाउन समस्या हुने गरेपनि अहिले लघुवित्तका विविध कार्यक्रमले जिवनस्तर सहज हुन थालेको बुद्धाचार्य बताउँछिन् । ‘सुकुम्बासी परिवारकै अगुवाई र आवद्धतामा काठमाडौंका तीन वटा सहकारी खुलेका छन् उनले भनिन्–‘तीनवटा सहकारीको पुँजीमात्रै २३ करोड भन्दा माथि पुगिसक्यो ।’

स्थानीय निकायमा जनप्रतिनिधी चुनिएपछि अव्यवस्थित बसोबासी परिवारलाई धेर थोर आड भरोसा भएको स्थानीय बताउँछन् । मतदाता परिचयपत्र, पारिवारिक परिचय अन्य अभिलेखका आधारमा वडा कार्यालयले ब्लक नम्बर प्रदान गरिरहेको छ । वडाले प्रदान गर्ने सेवा सुविधा अहिले केही सहज भएपनि घर टहरामा बसोबास गरिरहेका स्थानीय ढुक्कले बस्ने वातावरण सुनिश्चित नभएको अध्यक्ष लामा बताउँछन् । ‘मतदाता परिचयपत्र भएकाले चुनावका बेला हामी सबै दलको प्यारो बन्छौ, नेताहरु हाम्रो समस्या सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाउँछन्, उनले भने–‘तर सत्तामा पुगेपछि हाम्रा समस्या बिर्सिने नेता धेरै छन् ।’

‘हामी भोट बैंकको रुपमा मात्रै प्रयोग हुँदै आएका छौ, लामाले अघि थपे–‘यही क्षेत्रकी सांसद र अहिलेकी राष्ट्रपति विद्यादेवी भण्डारीको हस्ताक्षर भएको परिचयपत्र हामीसँग छ, तर खैं त हाम्रो समस्या सुनुवाई भएको ? कुनै निकास नखोजी सुकुम्बासी परिवारलाई अन्यत्र लखेट्न नमिल्ने लामाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्