कांग्रेस नेतृत्वलाई खबरदारीः सशक्त भ्रातृ संगठनलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?



नेपाल समाचारपत्र, काठमाडौं
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले समयमै अधिवेशन गरेर आफ्ना शसक्त भ्रातृ संगठनहरुलाई चलायमान बनाउन नसक्दा पार्टी नेतृत्वले चर्को आलोचना खेपिरहनुपरेको छ । पार्टीका शीर्ष नेताहरु भ्रातृ संगठन लथालिङ्ग बनाएको कारण कांग्रेस बलियो हुन नसकेको र कम्युनिष्ट सरकारको गलत क्रियाकलापको पर्दाफास गर्न नसकिएको पनि बताइएको छ ।

नेपाली कांग्रेसको नर्सरी मानिँदै आएका नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन छ । शीर्ष नेताहरुले भागवण्डाको आधारमा छनोट गरिएका नेताको भरमा रहेको तरुण दलको अवस्था पनि त्यस्तै छ । नेपाल दलित संघ, नेपाल प्रेस युनियन मात्र हैन समयमै अधिवेशन गरेर अन्य भ्रातृ तथा शुभेच्छुक संघ संगठनलाई पनि कांग्रेसले चलायमान बनाउन सकेको छैन । प्रजातन्त्र सेनानी संघ र नेपाल किसान संघको अधिवेशन नभएको दशक पुगिसक्यो ।

नेविसंघ महाधिवेशन पक्षधर विद्यार्थी समूहले पार्टी नेतृत्वलाई सुध्रिन र सुधार गर्न खबरदारी गर्न थालेको छ । आफ्ना सशक्त भ्रातृ संगठनहरुलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ भन्दै नेतृत्वको ध्यानाकर्षण पनि गराएका छन् । पार्टीभित्र यथास्थितिवादी र परिवर्तनशील दुई धार रहेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य अर्जुन नरसिंह केसी भन्नुहुन्छ– ‘सभापति शेरबहादुर देउवा यथास्थितिवादी धारको नेतृत्व गर्छन् ।’ जसका कारण पार्टीभित्र नयाँ जागरण पैदा हुन नसकेको उहाँ बताउनुहुन्छ । पार्टी नेतृत्वले पार्टीलाई प्रजातान्त्रिक परिपाटीबाट नचलाएको, भ्रातृ संगठनलाई लथालिङ्ग बनाएको कारण अधिनायकवादी कम्युनिष्टहरुको हर्कत पर्दाफास गर्न नसकिएको नेता केसीको भनाइ छ ।

पटकपटक म्याद थप्दा पनि तोकिएको समयमा महाधिवेशन गर्न नसकेपछि सभापति नैनसिंह महरले राजीनामा दिए पनि नेविसंघ अहिले नेतृत्वविहीन छ । ‘नेविसंघलाई कांग्रेस उत्पादन गर्ने नर्सरी पनि भनिन्छ’, नेविसंघका नेता मोतीलाल भण्डारी भन्नुहुन्छ– ‘पार्टीको महत्वपूर्ण निकायलाई निकम्मा बनाएर पार्टी कसरी बलियो हुन्छ ?’ नेविसंघको अधिवेशन गर्नेतर्फ पार्टी नेतृत्व गम्भीर नभइरहेको बेला राजधानीमा एक कार्यक्रमको आयोजना गरी कांग्रेस नेता अर्जुन नरसिंह केसी, नवीन्द्रराज जोशी, गुरुराज घिमिरे तथा नेविसंघका पूर्वपदाधिकारीहरु समेतले नेविसंघको नेतृत्व रिक्त राखेकोमा पार्टी नेतृत्वको आलोचना गरेका थिए ।

यसअघि भएको महाधिवेशनमा नेतृत्वमा आफ्नो पक्ष नआउने पक्का भएपछि कांग्रेस शीर्ष नेताहरुको भागवण्डामा चयन भएका चार पदाधिकारीकै भरमा रहेको नेपाल तरुण दलको अर्को अघिवेशन गर्न हतारो भइसक्यो । त्यस बेला अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाई, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग शाही र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विद्वान् गुरुङलाई चयन गरिएको घोषणा गर्दै कार्यसमितिका बाँकी सदस्यपछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताइएको थियो । अर्को अघिवेशन गर्ने बेलासम्म पनि कार्यसमितिका बाँकी सदस्य चयन हुने छाँट देखिएको छैन ।

तरुण दलको संशोधित विधानअनुसार खुलातर्फ २३, प्रदेशबाट २८, महिलाबाट ८, आदिवासि जनजाति मधेसबाट चार÷चार जना, दलित अल्पसंख्यकबाट तीन÷तीन जना तथा थारु मुस्लिमबाट एक÷एक जना निर्वाचित हुनुपर्नेछ । संशोधित विधानमा अध्यक्षले दुई सचिवसहित १६ जना मनोनित गर्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्