हवाई सेवा अवरुद्ध हुँदा बिरामीलाई समस्या



धनवीर दाहाल, रुकुम ।
रुकुम, सल्यान र जाजरकोटलाई लक्षित गरी संचालन गरिएको चौरजहारी बिमान स्थलमा बिगत एक महिना देखी हवाई सेवा बन्द छ । प्राबिधिक समस्या र पाइलटहरुको बिदाको कारण देखाउँदे हवाई सेवा अवरुद्ध भएपछि सेवाग्राही मारमा परेका छन् । विशेष गरी बिरामीलाई समस्या भएको छ ।

नेपाल बायुसेवा निगम चौरजहारी स्टेशन प्रमुख सुरेन्द्र नेपालीले पाइलटको बिदाको कारण अवरुद्ध भएको भएपनि छिटो भन्दा छिटो सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

हप्ताको दुई दिन नेपालगन्ज र काठमाडौमा उडान हुने यस बिमानस्थलमा एक महिना देखि जहाज आएको छैन । चौरजहारी बिमानस्थल कालोपत्रे भएपछि गत कार्तिक पहिलो साताबाट सञ्चालनमा आएको थियो । कालोपत्रे हुदै गर्दा डेढ बर्ष बन्द गरिएको थियो ।

कालोपत्रे गरिएको सत्र महिनापछि सुरु भएको बिमानस्थल एक महिना अघिबाट फेरि बन्द भएको छ । २०२८ सालबाट सञ्चालनमा आएको चौरहारी बिमानस्थलबाट रुकुम पश्चिम, जाजरकोट र सल्यानका सर्वसाधारणले सेवा लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्