यस्ता छन् प्रदेश–३ का स्थानीय तह




हेटौंडा ।
प्रदेश– ३ का गाउँपालिकाहरुको करिब ९४ प्रतिशत् परिवारले खाना पकाउन दाउराको प्रयोग गर्ने गरेको देखिएको छ । नगरपालिकाका पनि करिब ४६ मानिस खाना पकाउन दाउरा नै प्रयोग गर्ने गरेको देखिन्छ ।

महानगर र उपमहानगरका भने करिब ११ प्रतिशत् परिवारले खाना पकाउन दाउराको प्रयोग गर्ने गरेको देखिएको छ । महानगर, उपमहानगर र नगरपालिकाहरुका क्रमशः करिब ९८ र ९० प्रतिशत् परिवारले उज्यालोका लागि बिजुलीको प्रयोग गरेको देखिन्छ भने गाउँपालिकाहरुका करिब ६२ प्रतिशत् परिवारले उज्यालोका लागि बिजुलीको प्रयोग गर्ने गरेको देखिन्छ । यसबाट गाउँपालिकाहरुको करिब ३८ प्रतिशत् घरधुरीमा बिजुली पु¥याउन बाँकी रहेको देखिएको छ ।

प्रदेशको नीति तथा योजना आयोगले सार्वजनिक गरेको स्थानीय तहको वस्तुस्थिति विवरणअनुसार गाउँपालिकाहरुमा बैंक तथा वित्तीय संस्थाका २ सय ६१ कार्यालय देखिन्छन् । नगरपालिकामा उक्त संख्या ७ सय २ वटा छन् । तर, महानगर र उपमहानगरमा उक्त संख्या ९ सय ५ वटा देखिन्छ । ४ वटा स्थानीय तह खानीखोला, घ्याङ्लेख, रुविभ्याली र खनियाँबास गाउँपालिकामा बैंक तथा वित्तीय संस्था छैनन् ।

गाउँपालिकाहरुमा ललितपुरको बागमती गाउँपालिकाको मानव विकास सूचकांक सबभन्दा माथि देखिन्छ भने सबभन्दा पुछारमा धादिङको रुविभ्याली गाउँपालिका देखिन्छ । नगरपालिकामा कीर्तिपुरको मानव विकास सूचकांक सबभन्दा माथि देखिन्छ भने सबभन्दा पुछारमा दुधौली नगरपालिका देखिन्छ ।

महानगर र उपमहानगरमा मानव विकास सूचकांक सबभन्दा माथि काठमाडौं महानगरमा र सबभन्दा कम हेटौंडा उमहानगरमा देखिन्छ । मानव विकासको सूचकांक अनुसार माथिल्लो १५ स्थानीय तहमा ३ महानगर, १ उपमहानगर र ११ नगरपालिका पर्दछन् भने तल्लो १५ स्थानीय तहमा १ नगर र १४ गाउँपालिका पर्दछन् ।

माथिल्ला १५ स्थानीय तहमध्ये सबभन्दा माथि काठमाडौं महानगर र पुछारमा भक्तपुर नगर पर्दछ भने तल्लो १५ स्थानीय तहमध्ये सबभन्दा माथि फिक्कल गाउँपालिका पर्दछ र पुछारमा रुविभ्याली गाउँपालिका पर्दछ ।

प्रदेशको कुल जनसंख्याको २७ दशमलव २७ प्रतिशत् जनता गाउँपालिकामा बसोबास गर्छन् भने ७२.७३ प्रतिशत् नगर, महानगर र उपमहानगरमा बसोबास गर्छन् । काठमाडौं उपत्यकाका स्थानीय तहमा प्रदेशको कुल जनसंख्याको ४५.१९ प्रतिशत्को बसोबास छ । सुगम क्षेत्रका स्थानीय तहमा प्रदेशको कुल जनसंख्याको ६०.४० प्रतिशत्को बसोबास छ । जनघनत्वको हिसाबले सबभन्दा माथि रहेको काठमाडौं महानगरको जनघनत्व १९ हजार ७ सय २६ जना प्रतिवर्ग किमी छ भने अन्तिम स्थानमा रहेको गोसाइँकुण्ड गाउँपालिकाको जनघनत्व ७ जना प्रतिवर्ग किमी रहेको आयोगले जनाएको छ ।

गाउँपालिका, नगरपालिका र महानगर र उपमहानगरको कुल जनसंख्यामा १५–३९ वर्ष उमेर समूहको युवाको हिस्सा करिब क्रमशः ३६, ४६ र ५१ प्रतिशत् देखिन्छ । अति दुर्गम, दुर्गम, मध्यम र सुगम क्षेत्रको कुल जनसंख्यामा युवाको हिस्सा करिब ३४, ३५, ३८ र ५० प्रतिशत् देखिन्छ । यसबाट युवाहरु तुलनात्मकरुपले शहरी र सुगम क्षेत्रमा केन्द्रित भएको देखिन्छ ।

गाउँपालिकाहरुमा ज्यान लिने प्रमुख तीन विपद्मा क्रमशः चट्याङ, पहिरो र दुर्घटना देखिन्छ । नगरपालिकामा ज्यान लिने प्रमुख तीन विपद्मा क्रमशः दुर्घटना, चट्याङ, आगलागी देखिन्छ भने महानगर र उपमहानगरमा ज्यान लिने प्रमुख तीन विपद्मा क्रमशः आगलागी, दुर्घटना र बाढी देखिन्छ । अन्य कारणमा चट्याङ र पहिरो देखिन्छ ।

दश वर्षमा प्रति १० हजार जनामा गाउँपालिकामा ३.२ जनाले, नगरपालिकामा १.१ जनाले र महानगर र उपमहानगरमा ०.९ जनाले विपद्का कारण ज्यान गुमाएको देखिन्छ भने प्रति १० हजार जनामा गाउँपालिकामा ५.३ जना, नगरपालिकामा १.५ जना र महानगर र उपमहानगरमा १.९ जना विपद्का कारण घाइते भएको देखिन्छ ।

प्रति १० हजार भवन र संरचनामा गाउँपालिकामा ८.७ वटा, नगरमा ५.१ वटा र महानगर र उपमहानगरमा ३.५ वटा भवन र संरचनामा विपद्का कारण क्षति पुगेको देखिन्छ ।

गाउँपालिकाको कुल साक्षरता दर ५९ दशमलव ४९ प्रतिशत् रहेको देखिन्छ भने नगरपालिका र महानगर र उपमहानगरको कुल साक्षरता दर क्रमशः ७६ र ८६ दशमलव ९६ प्रतिशत् छ । तीन वटै वर्गका स्थानीय तहमा महिलाको दाँजोमा पुरुषको साक्षरता दर बढी देखिन्छ ।

गाउँपालिकाको कुल शिक्षित जनसंख्याको ठूलो हिस्सा अर्थात् ८२ दशमलव १६ प्रतिशत्ले एसएलसीमुनिको शिक्षा हासिल गरेको देखिन्छ । नगरपालिकाको कुल शिक्षित जनसंख्याको ६४ दशमलव ५ प्रतिशत्ले एसएलसीमुनिको शिक्षा हासिल गरेको देखिन्छ । महानगर र उपमहानगरको कुल शिक्षित जनसंख्याको ४८ दशमलव ०२ प्रतिशत्ले एसएलसीमुनिको शिक्षा हासिल गरेका छन् ।

प्रदेशका प्राथमिक तहमा ६२ वटा स्थानीय तहमा १ जना शिक्षकको भागमा १५ जना भन्दा कम विद्यार्थी पर्दछन् । निम्नमाध्यमिक तहमा ७ वटा स्थानीय तहमा १ जना शिक्षकको भागमा १५ जना भन्दा कम विद्यार्थी पर्दछन् । माध्यमिक तहमा २६ वटा स्थानीय तहमा १ जना शिक्षकको भागमा १५ जना भन्दा कम विद्यार्थी पर्दछन् । उच्चमाध्यमिक तहमा ४५ वटा स्थानीय तहमा १ जना शिक्षकको भागमा १५ जना भन्दा कम विद्यार्थी पर्दछन् ।

सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, सरकारी स्वास्थ्यचौकी, शहरी स्वास्थ्य केन्द्र, सामुदायिक स्वास्थ्य एकाईं र अन्य सरकारी स्वास्थ्य संस्था तथा गैरसरकारी र निजी स्वास्थ्य संस्था गरी गाउँपालिका, नगरपालिका र महानगर र उपमहानगरमा क्रमशः ४ सय ८८, ५ सय ९८ र १ हजार २ सय ३४ वटा स्वास्थ्य सेवाप्रदायक संस्था सञ्चालित छन् ।

लोपोन्मुख जातिको सूचीमा रहेका कुसुन्डा, बनकरिया, राउटे, सुरेल, हायु, राजी, किसान, लेप्चा, मेचे र कुशवाडियामध्ये हायु, लेप्चा, राजी र मेचे जातिहरु ११ स्थानीय तहमा ३ हजार ६ सय ९२ जना छन् ।

गाउँपालिकामा महिला जनप्रतिनिधि करिब ४५ प्रतिशत् र पुरुष जनप्रतिनिधि करिब ५५ प्रतिशत् छन् । नगरमा सो हिस्सा क्रमशः ४४ प्रतिशत् र ५६ प्रतिशत् छ । महानगर र उपमहानगरमा सो हिस्सा क्रमशः ४२ प्रतिशत् र ५८ प्रतिशत् देखिन्छ ।

महिला जनप्रतिनिधि सबभन्दा बढी भएको स्थानीय तह मकवानपुरको इन्द्रसरोवर गाउँपालिका हो, जहाँ करिब ५२ प्रतिशत् महिला जनप्रतिनिधि छन् भने सबभन्दा कम महिला जनप्रतिनिधि भएको स्थानीय तह ललितपुर महानगर हो, जहाँ ३८ प्रतिशत् महिला जनप्रतिनिधि छन् ।

७४ मध्ये ५ वटा गाउँपालिका कार्यपालिकाको कार्यालयमा इमेल र इन्टरनेट सुबिधा भएको देखिँदैन । ५ सय ४२ वडामध्ये २ सय ८० वटा वडा कार्यालयमा इमेल र इन्टरनेट सुबिधा छैन ।

प्रतिक्रिया दिनुहोस्