मिडिया विधेयकप्रति कलाकारको आपति



काठमाडौं । प्रस्तावित ‘नेपाल मिडिया काउन्सिल विधेयक’प्रति कलाकारले समेत आपति जनाएका छन् । कलासँग सम्बन्धीत संस्था परिवर्तन नेपालले विधेयकमा उल्लेखित केही शब्दावलीप्रति आपति जनाउँदै ध्यानाकर्षण जनाएको हो ।

संस्थाका अध्यक्ष तथा बरिष्ठ कलाकार मोहन निरौलाद्वारा जारी विज्ञप्तिमा विधेयकमा उल्लेखित केही शब्दावलीका कारण कलाकारहरु स्तब्ध बन्न पुगेको उल्लेख छ ।

‘परिवर्तन नेपाल सधैँ नेपालमा कलाकारिता क्षेत्रको विकास, समृद्धि र पेशागत स्वतन्त्रताको पक्षमा उभिदै आएको सर्वविदितै छ । सयौँ नेपाली कलाकारहरुले कलाकारिताको माध्यमबाट समाजलाई सुधार्दै चलचित्र, लघुचलचित्र, वृत्तिचित्र, धारावाहिक टेलिचलचित्रमार्फत नराम्रा र गलत संस्कार, प्रवृत्तिलाई निरुत्साहित गर्दै आएको तथ्य जगजाहेर नै छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

‘मिडिया काउन्सिल बिधेयकमा चलचित्र, वृत्तचित्र, लघुचलचित्रलाई समेत मिडिया काउन्सिल मातहत नियमन गर्ने व्यवस्था गरिने कार्य चलचित्र विकास बोर्डको अधिकार समेत खोस्ने हुनु सिंगो चलचित्र क्षेत्रकै लागि दुर्भाग्यपूर्ण छ’ विज्ञिप्तिमा उल्लेख छ’

हालै संसदमा पेश भएको ‘नेपाल मिडिया काउन्सिल सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७६ को दफा २ को उपदफा (छ) मा ‘विधुतीय प्रशारण तथा अनलाईन पत्रकारिता’को दयराभित्र ‘अन्तर्वार्ता, टिप्पणी, श्रव्यदृष्य, चलचित्र, लघु चलचित्र, वृत्तचित्र’ को नियमन नेपाल मिडिया काउन्सिलमार्फत गर्ने प्रस्ताव छ । जसलाई कलाकारलाई स्वीकार्य नहुने विज्ञप्तिमा जनाइएको छ ।

‘चलचित्र, वृत्तचित्र र लघुचलचित्र समेतको दोहोरो नियमन गर्ने गरी ल्याउन लागिएको नेपाल मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता गर्न परिवर्तन नेपाल जोडदार माग गर्दछ’ निर्देशक समेत रहेको निरौलाद्वारा बुधबार जारी विञप्तिमा भनिएको छ, ‘नेपाल मिडिया काउन्सिलले टेलिभिजनबाट प्रशारित हुने धारावाहिक श्रृंखलाहरु समेतको नियमन हुने तथा त्यस्ता टेलिचलचित्रमा व्यक्त अभिव्यक्तिका विरुद्धमा समेत नेपाल मिडिया काउन्सिलमा उजुरी दर्ता भई कलाकारमाथि दण्ड जरिवना हुनसक्ने देखिएको छ, देखिन्छ । कलाकारहरुले स्वतन्त्रतापूर्वक अभिव्यक्ति दिने नसक्ने अवस्था आउन सक्नेतर्फ सबैको ध्यान आकषर्ण गराउदछौँ ।’

प्रतिक्रिया दिनुहोस्