दलभित्रै बेमेलको अवस्था



राजनीतिक दलमा देखिएको बेमेलका कारण मुलुक अस्थिरतातर्फ धकेलिन थालेको छ । सत्तारुढ दल नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्रको आन्तरिक खिचातानीले मुलुकको विकासमा समेत गम्भीर असर पर्न थालेको छ ।

सत्तरुढ दल नेकपाभित्र पार्टी एकीकरणको प्रक्रिया अझै टुंगोमा पुग्न सकेको छैन भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस गुट–उपगुटमा विभाजित भएपछि प्रमुख प्रतिपक्षले सरकारले अघि सारेका कैयौं ‘जनविरोधी’ क्रियाकलापको बारेमा सशक्त विरोधसमेत गर्न सकेको छैन । प्रमुख प्रतिपक्षी दलले मुलुकमा देखिएका तमाम विकृतिविरुद्ध जसरी आवाज उठाउनुपर्ने हो त्यस्तो हुन नसक्नुले मुलुक बर्बादीको बाटोतर्फ उन्मुख हुन थालेको छ ।

वर्तमान सरकार बनेपछि भएका विभिन्न खाले विवादास्पद निर्णयदेखि मुलुकमा शान्तिसुरक्षा कायम गर्न नसकेका विषय, वाइडबडी खरिद प्रकरण, निर्मला हत्या प्रकरणलगायतका विषयमा प्रतिपक्षी दलले सरकारलाई जसरी सचेत गराउन सक्नुपर्ने थियो त्यो हुन सकेन । सत्तारुढ दलभित्र देखिएको बेमेलले उनीहरुसँग दुई तिहाइको बहुमतको सरकार भएको भनिए पनि जनताले त्यसको अनुभूति गर्न पाएका छैनन् । चुनावका बेला सत्तारुढ दलले अघि सारेका नारा, नारामा नै सीमिति हुनुले पनि जनतामा निराशा बढ्दो क्रममा रहेको छ ।

सत्तारुढ दल भौतिकरुपमा एक भए पनि भावनात्मकरुपमा अझै एक हुन सकेको देखिँदैन । पूर्वएमाले र पूर्वमाओवादीका कार्यकर्तामा दुई फरक पार्टीका कार्यकर्ताको जस्तो व्यवहार अझै कायम छ । यसले पार्टीभित्रको असन्तुष्टि भुसको आगोजस्तै फैलन थालेको छ । पार्टी एकता भएको एक वर्षभित्र सबै तहमा एकता टुंग्याउने घोषणा गरे पनि पार्टी एकता भएको १५ महिना बितिसक्दा पनि पार्टीका सबै तहमा एकता हुन नसक्नुलाई दुर्भाग्य नै मान्नुपर्दछ । शक्ति सम्पन्न सरकार आएपछि मुलुकमा देखिएका तमाम विकृति र विसंगतिको अन्त्य हुने विश्वास गरिएको भए पनि त्यस्तो हुन सकेन । भ्रष्टाचार दिन–प्रतिदिन बढ्दो छ । भ्रष्टाचार नियन्त्रण गर्ने नियामक निकायलाई सरकारले प्रभावमा पार्न खोजेको आरोप लाग्ने गरेको छ ।

प्रमुख प्रतिपक्षी दल निरीह बन्दा सरकार स्वेच्छाचारी शैलीमा अगाडि बढ्ने कोशिश गरिरहेको छ । ‘चेक एन्ड ब्यालेन्स’ नै नभएपछि सरकारले निरङ्कुश शैली अपनाउन थालेको आरोप जनस्तरबाट लाग्न थालेको छ । विदेशी शक्तिहरुको चलखेल पनि बढ्दो अवस्थामा रहेको छ । सरकारले बाँडेको सपना सपनामा नै सीमित भएपछि निराशा पनि चरमोत्कर्षमा पुगेको छ । यस्तै रबैया सरकार र प्रतिपक्षी दलले देखाउने हो भने अर्को क्रान्तिको शुरुवात नहोला भन्न सकिन्न । त्यसैले सत्तारुढ दल र प्रमुख प्रतिपक्षी दल सच्चिनुको विकल्प छैन । यसतर्फ दुवै दलको ध्यान जान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्