चक्रपथको बाँकी काम गर्न चिनियाँको तयारी, नेपाल पक्षको कुनै सुरसार छैन



सुरेश तामाङ, काठमाडौं ।
कोटेश्वर–कलंकी १० किलोमिटर सडक खण्ड फराकिलो र चिटिक्क पारेर चिनियाँहरु स्वदेश फर्किसकेका छन् । चिनियाँ पक्षले चक्रपथको बाँकी खण्ड पनि यस्तै बनाउने विशेष चासो राख्दै विस्तृत अध्ययन गरी डिजाईन बनाएर फर्किने बेला पनि भईसकेको छ । तर नेपाल पक्षले भने अहिलेसम्म कुनै सुरसार देखाएको छैन ।

चिनियाँ पक्षले यसअघि नै कलंकी–महाराजगंज ८ किमि खण्डको विस्तृत अध्ययन गरेर स्वदेश फर्केका थिए । उनीहरु त्यो काम सम्पन्न गरेर नेपाल आउने समय भएको तर कहिले आउने भन्ने केही जानकारी नभएको काठमाडौं चक्रपथ सुधार योजनाका इन्जिनियर निरन्जन शर्माले बताउनुभयो ।

कोटेश्वर–कलंकी खण्ड जस्तै चक्रपथको बाँकी खण्डमा काम गर्न पनि आर्थिक र प्राविधिक सहयोग चिनिया पक्षले व्यहोर्ने जनाईएको छ । तर त्यस अघि नेपाल पक्षले भने बाटोमा पर्ने संरचना, बिजुलीको पोल, रुख हटाउनु पर्ने हुन्छ । तर नेपालले कसरी हटाउने काम पनि भएको छैन ।

आर्थिक वर्ष २०७६÷७७ मा यस सडक विस्तारको लागि सरकारले १ अर्ब ८१ करोड रुपियाँ बजेट विनियोजन गरिसकेको छ ।


विभाग अन्तर्गतको काठमाडौं चक्रपथ सुधार योजनाले सडक विस्तारका लागि सहज बनाउन बाटोमा पर्ने रुख, पोल, घर टहरा हटाउन संबन्धित निकायलाई पत्रचार गरिसकेको जनाएको छ ।

बाँकी खण्डमा रुख, पोल लगायतको लगत उठाउने काम चक्रपथ सुधार योजनामा जिम्मेवार सर्ने सडक विभाग बैदेशिक महाशाखाका इन्जिनियर छविलाल पौडेलले बताउनुभयो ।

‘अहिले खासै केही भएको छैन । त्यस खण्डमा निकाल्नु पर्ने रुख, बिजुलीको पोलको लगत चक्रपथ योजनाले लिन्छ । त्यसपछि हटाउने काम गर्ने काम अघि बढ्छ ।’, उहाँले भन्नुभयो ।

उहाँका अनुसार चिनीयाहरु सर्बे गरेर डिजाईनको काम गरिरहेको र फर्किने बेला भएको छ ।

कोटेश्वर–कलंकी जस्तै रफतारमा बन्नु पर्ने चक्रपथको बाँकी खण्डको विस्तार गर्ने योजना नबन्दा अन्योल सिजर्ना भएको छ । सडक साँघुरिकै कारण चक्रपथका बाँकी खण्डमा सवारी साधन जाममा पर्ने अबस्था विद्यमान रहेको छ ।

सडकमा हाइटेन्सन लाईन, नाङ्गो विजुलीको तार, पोल, रुख चक्रपथमा यस्ता विस्तारका योजना नबन्दा सवारी आवागमनमा अप्ठेरो पारिरहेको छ । विभागले अहिलेसम्म दुरसञ्चार, विद्युतप्राधिकरण लगायतलाई विजुलीको तार, पोल, ढल हटाउन समेत पत्रचार समेत गरेको छैन ।

विस्तार पूर्व नेपाल पक्षले यी सबै हटाएर सहयोग गर्नु पर्ने हुन्छ । निर्माण थालेको तीन वर्ष भित्र काम सम्पन्न गर्ने लक्ष्य सहित विस्तार हुन लागिएको यस खण्डमा ६ अर्व लागत लाग्ने अनुमान विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्