प्रमलाई भेटको चटारो



नेपाल समाचारपत्र, काठमाडौं ।
युरोप भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली उच्चस्तरिय भेटवार्तामा व्यस्त रहनुभएको छ । मंगलबार उहाँले बेलायती समकक्षी टेरिजा मेसँग भेटवार्ता गर्नुभयो ।

भेटमा दुवै प्रधानमन्त्रीले वर्षौ पुरानो सम्बन्ध स्मरण गर्दै द्धिपक्षिय सम्बन्धलाई समय सापेक्ष बनाउने बारेमा छलफल गर्नुभयो । बेलायती प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटमा भएको वार्तामा ओलीले बेलायती सेनाबाट निवृत्त भएका गोर्खालीले उठाउँदै आएको असमान सेवा सुविधाबारे ध्यानाकर्षण गराउनुभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

१७ वर्षको अन्तरमा प्रधानमन्त्री तहमा बेलायत भ्रमण भएको हो । बेलायतले नेपालको विकास निर्माणमा पु¥याउँदै आएको सहयोगको प्रशंसा गर्नुभएका प्रधानमन्त्री ओलीले नेपालको आर्थिक समृद्धिको पथमा बेलायती सहयोग अपरिहार्य रहेको बताउनुभएको थियो । आफू र आफ्नो देश सँधै पुरानो मित्रराष्ट्रको विकास निर्माणमा सघाउन तत्पर रहने बेलायती प्रधानमन्त्रीले बताउनुभएको बताइएको छ ।

दुवै प्रधानमन्त्रीबीच करिव आधा घन्टा भेटवार्ता भएको थियो । सो भेटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पराराष्ट्र सचिव शंकर बैरागी बेलायतका लागि नेपाली राजदूत दुर्गाबादुर क्षत्री लगायत सहभागी रहनु भएको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

स्वीजरल्यान्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) को सतबार्षिकी सम्मेलनलाई सम्बोधन गरेर प्रधानमन्त्री ओली जेनेभामा लन्डन पुग्नुभएको थियो ।

सोमबार राति लण्डन पुग्नुभएका उहाँलाई त्यहाँको हिथ्रो अन्तर्राष्ट्रिय विमानस्थलमा बेलायतका रक्षा राज्यमन्त्री मार्क ल्यान्केस्टर, नेपाली राजदूत क्षेत्री लगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले पार्लियामेन्ट कमिटिलाई सम्बोधन गर्दै नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे अवगत गराउनुभएको थियो ।

दुई दिने लण्डन भ्रमणका क्रममा उहाँले बेलायती राजकुमार ह्यारीसँग पनि भेटवार्ता गर्दै हुनुहुन्छ । यसैवीच प्रधानमन्त्री ओलीले शान्ति, लोकतन्त्र र विकास एकअर्काका परिपूरक भएको बताउँदै नेपालले समग्र लोकतन्त्रलाई जोड दिएको बताउनुभएको छ ।

अक्सफोर्ड विश्वविद्यायमा अक्सफोर्ड विश्वविद्यालय युनियनले आयोजना गरेको विशेष समारोहका अतिथिका रुपमा आमन्त्रित ओलीले आफू नेतृत्वको सरकारले सामाजिक न्याय र समृद्धिलाई प्राथमिकता दिएको धारणा राख्नुभयो ।

नेपालसहितका धेरै मुलुक गरिबी, असमानता, जलवायु परिवर्तन र आतंकवादबाट पूर्ण रुपले मुक्त नरहेका उहाँको भनाई थियो ।

यस्तै प्रधानमन्त्री ओलीसँगको भेटमा बेलायतमा रहेका नेपालीले नेपाल–बेलायतवीच सिधा हवाई उडान सञ्चालन गर्न माग गरेका छन् । दोहोरो नागरिकता सुविधा, असमान पेन्सन सुविधा लगायतको विषयलाई कुटनीतिक तवरबाट सम्बोधन गर्न गैरआवासीय नेपाली संघ बेलायतले ओलीको ध्यानकर्षण गराएको थियो । संघले प्रधानमन्त्री ओलीलाई गरेको अभिनन्दनका क्रममा त्यहाँ रहेका नेपालीले यस्तो ध्यानाकर्षण गराएका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले जानकारी दिनुभयो ।

बेलायत भ्रमण पश्चात ओली नेतृत्वको नेपाली टोलीले ३ दिन फ्रान्सको भ्रमण गर्नेछ । प्रधानमन्त्रीले फ्रान्सेली समकक्षी इडोर्ड फिलिपसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्रले जनाएको छ ।

नेपाल–फ्रान्स वीच द्धौत्यसम्बन्ध स्थापना भएको ७० औं बर्षगाँठका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री ओलीले त्यहाँका व्यसायीसँग भेटवार्ता गर्नु हुनेछ । सोमबार अन्तर्राष्ट्रिय श्रम सङ्गठनको सम्मेलनको क्रममा ओलीले नर्वेली समकक्षी एर्ना सोल्बर्गसँग द्धिपक्षिय भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्