‘गुठी विधेयक फिर्ता नलिइए काठमाडौं घेराबन्दी हुन्छ’



काठमाडौं ।  नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले संसदमा पेस गरेको गुठी विधेयक तत्काल फिर्ता लिन आग्रह गरे।

‘विधेयक फिर्ता लिइएन भने मुलुकमा भयावह हुन्छ। काठमाडौंको एकजना पनि घरमा बस्ने छैन। काठमाडौं घेराबन्दी हुनेछ’, मंगलबारको प्रतिनिधिसभा बैठकमा सुरुमै समय लिएर बोल्दै केसीले भने।

आफूले विद्यार्थी हुँदा कम्युनिस्टहरुले धर्म, संस्कृति र चाडपर्वहरु मान्दैनन् भन्ने सुनेको र गुठी विधेयकले त्यसलाई पुष्टि गरेको उनले बताए। ‘कम्युनिस्टहरुले संविधान मान्दैनन् भन्ने पनि सुनेको थिएँ’, उनले भने, ‘त्यो पनि पुष्टि भएको छ।’

सोमबार प्रतिनिधिसभामा गुठी विधेयकको विषयमा उठेको विषयको जवाफ दिने क्रममा भूमिसुधार मन्त्री पद्मा अर्यालले संविधानकै गलत व्याख्या गरेकी उनले बताए। ‘गुठीलाई समाप्त पार्ने खेल भएको छ’, केसीले भने, ‘यो कुनै पनि हालतमा स्वीकार हुँदैन।’

उनले माइतीघरमा गुठियारद्वारा भएको प्रदर्शनमा प्रहरीद्वारा गरिएको हस्तक्षपको विरोध गरे। उनले सो क्रममा भएको घटनाको छानबिन गर्नका लागि समिति गठन गर्न आग्रह गरे।

प्रतिक्रिया दिनुहोस्