४ वर्षमै हजार भिडियो



रश्मी थापा
करिब ४ वर्षअघि मात्र मोडलिङ क्षेत्रमा पाइला चालेकी करिश्मा ढकाल हाल नेपाली लोकगीतको क्षेत्रमा चल्तीको मोडलका रूपमा राज गर्न सफल भएकी छिन्। यो छोटो अवधिमै उनले अभिनय गरेको म्युजिक भिडियोको संख्या हजार नाघिसके।

उमेरले २० मात्र टेकिन् तर सानो उमेरमा ठूलो सफलता उनको विशेषता बनेको छ। गोरखा स्थायी घर भएकी करिश्माको सपना भने सीए बन्ने थियो। तर, एसएलसीलगत्तै सेल्फी बोलको तीजगीतको म्युजिक भिडियोमा अभिनय गरेपछि उनको सपना अन्तै मोडियो। त्यो गीतको म्युजिक सफलतासँगै करिश्मा पनि दर्शकको नजरमा परिनन्। केही समयपछि अरू गीतको म्युजिक भिडियोमा पनि अफर आउन थाल्यो। उनी काम गर्दै जान थालिन्। एकपछि अर्कोमा अभिनय गर्दै उनी म्युजिक भिडियोमै व्यस्त हुन थालिन्।

‘पहिलो गीत सेल्फीमा काम गर्दा निर्देशक प्रकाश भट्ट दाइले स्पटमै उसले गर्न सक्दैन, अर्को कलाकार लिनुपर्छ पनि भन्नुभएको थियो। मैले स्कुलबाहेक अन्य ठाउँमा डान्स सिकेको पनि थिइनँ। यस कराण डान्स गर्दा अलि गाह्रो भएको थियो’, करिश्माले पहिलोपटक क्यामरा फेस गर्दाको क्षण सम्झिँदै भनिन्– ‘त्यसमाथि मैले मोडलिङमै कन्टिन्युनिटी दिन्छु भन्ने पनि सोचेको थिइनँ। तर, त्यो भिडियोपछि मलाई अर्को म्युजिक भिडियोका लागि अफर आयो। एकपछि अर्को म्युजिक भिडियोमा काम गर्दै जाँदा अन्त कतै गएर डान्स सिकिराख्नुपरेन। डान्स नसिके पनि मेहनत गर्दै गएँ र डान्स इम्प्रुभ हुँदै गयो।’
केही गीतको म्युजिक भिडियोलाई छोडेर भन्ने हो भने उनले धेरैजस्तो फास्ट बिट र डान्सिङ नम्बरका गीतमा अभिनय गरेकी छिन्। ‘केही आधुनिक गीतमा पनि अभिनय गरेको छु। तर, अधिकांश गीत डान्सिङ छन्। यस्ता गीतमा मलाई धेरै अफर आउँछन्।’ –करिश्माले भनिन्।

२०६५÷०६६ देखि नै विद्यालयबाट विभिन्न नृत्य प्रतियोगितामा भाग लिने गरेकी उनलाई एसएलसी परीक्षापश्चात् नै म्युजिक भिडियोमा अभिनय गरेका कारण पढाइलाई निरन्तरता दिन निकै गाह्रो भएछ। तैपनि आफूले समय मिलाउँदै अध्ययनलाई पनि सँगै लगिरहेको उनी बताउँछिन्। ‘व्यस्तता बढ्दै जाँदा पढाइका लागि समय मिलाउन निकै गाह्रो हुने भएपछि ट्युसन क्लास लिएर भए पनि पढिरहेको छु।’ –स्नातक पहिलो वर्षमा अध्ययनरत करिश्मा भन्छिन्।

परिवारको हौसला तथा साथका कारण यस क्षेत्रमा सफलता पाएको बताउने उनी यस क्षेत्रमा आउनका लागि पनि परिवारको हात रहेको सुनाउँछिन्। ‘मेरो सानुबुबा श्रीकृष्ण बम मल्ल तथा सानोममी लक्ष्मी बम मल्ल यही क्षेत्रमा हुनुहुन्छ। उहाँहरूकै प्रभावका कारण पनि म यस क्षेत्रमा आएकी हुँ।’ –उनले भने। मोडलिङ क्षेत्रमा लागेर आफूले नाम, दाम र चर्चाका साथै सन्तुष्टि कमाएको करिश्मा बताउँछिन्। उनी भन्छिन्– ‘हामी कलाकारको नाम, दाम र चर्चा सबै हुन्छ। तर, सबै कुरा र स्याटिसफ्याक्सन हो त्यो मसँग छ जस्तो लाग्छ।’

करिश्माले हालसम्म अभिनय गरेका गीतका म्युजिक भिडियोमा सेल्फी, सेल्फी–२, सेल्फी–३, उही खोलीको पानी, झुमा, सालको पात हे माया, दारू सड्काउँला जस्ता गीत चर्चित छन्। करिश्मा म्युजिक भिडियोको मोडलिङ र अभिनयसँगसँगै रंगमञ्चीय कार्यक्रममा पनि उत्तिकै व्यस्त रहन्छिन्। ‘कलाकार र स्टेज एक–अर्काको परिपूरक हुन्। जब स्टेज चढ्छु दर्शकको हुटिङ आउँदा निकै एक्साइटेड हुँदै काम गरिरहेको हुन्छु।  दर्शकको माया र साथले झन् इनर्जी आउँदो रहेछ।’ –उनी भन्छिन्।

करिश्माले मोडलिङ क्षेत्रमा गरेको मेहनत तथा सफलताको कदर स्वरूप दुईपटक ओएस नेपाल म्युजिक अवार्ड, नेपाल म्युजिक अवार्ड, सुन्दरादेवी अवार्ड, बिन्ध्यवासिनी अवार्ड, लोकदोहोरी म्युजिक अवार्ड र सगरमाथा म्युजि अवार्डमा उत्कृष्ट मोडलको अवार्ड चुमेकी छिन्।

प्रतिक्रिया दिनुहोस्