प्रथम बाह्रविसे नगरस्तरीय खेल शुरु



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
प्रथम बाह्रविसे नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शील्ड छनोट प्रतियोगिता सुरु भएको छ । पूर्व कानुन मन्त्री एवम सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का प्रतिनीधि सभा सांसद शेरबहादुर तामाङले आइतबार बाह्रविसे नगरपालिकाद्धारा आयोजित प्रथम बाह्रविसे नगरस्तरीय छनोट खेलको उद्घाटन गर्नुभएको छ ।

सोमबारसम्म चल्ने छनोट प्रतयोगितामा एथलेटीक्स, भलिवल र मार्शल आर्ट अन्तर्गत कराँते तथा तेक्वान्दोमा नगरपालिकाभित्रका माध्यमिक विद्यालहरु सहभागी बनेका छन् । नगरभित्रका विभिन्न ११ माध्यमिक विद्यालयहरुबीच विधागत रुपमा प्रतिष्पर्धा हुनेछ । नगरस्तरीय छनोट प्रतियोगिताबाट क्षेत्रीय हुँदै जिल्लास्तरीय राष्टपति रनिङ शील्डका लागि खेलाडी छनोट हुनेछन् ।

समाजको समग्र विकासका लागि खेलकुद क्षेत्रको विकास अपरिहार्य रहेको भन्दै खेलकुद क्षेत्रको विकासमा स्थानीय तहहरुले ध्यान दिनुपर्नेमा बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले जोड दिनुभयो । ‘स्वास्थ्यका लागि खेलकुद आवस्यक छ, खेलकुदको विकास गर्दै स्वस्थ नागरिक तयार गरेर समृद्धिमा जुटाउनुपर्दछ’, मेयर शेर्पाले भन्नुभयो, ‘शिक्षा, स्वास्थ्य, सडक र बिजुलीमा मात्र हैन अब हामी खेलकुदलाई प्राथमिकतामा राखेर योजना बनाउनेछौं ।’

प्रतिक्रिया दिनुहोस्