घरै बसेर उच्च शिक्षा हासिल गर्नेहरूको चापाचाप छः उपकुलपति शर्मा




लेखनाथ शर्मा

उपकुलपति नेपाल खुला विश्वविद्यालय

घरमै बसेर उच्च शिक्षा अध्ययन गर्नसक्ने उद्देश्यका साथ नेपालमा खुला विश्वविद्यालयको स्थापना भएको तीन वर्ष भइसकेको छ । व्यवस्थापिका संसदबाट २०७३ असार ३० गते नेपाल खुला विश्वविद्यालय ऐन पारित भएपछि नेपालमा खुला विश्वविद्यालय स्थापना भएको हो । खुला शिक्षा प्रणालीलाई नवीनतम शिक्षण विधि तथा सूचना प्रविधिको माध्यमबाट विभिन्न विषयको उच्चस्तरीय अध्ययन– अध्यापन तथा अनुसन्धान गर्न स्थापना भएको यो विश्वविद्यालयमा हाल ६ सय ३१ विद्यार्थी अध्ययनरत छन् । समावेशी समाज निर्माणका लागि सञ्चालित यो विश्वविद्यालयले विसं २०७४ जेठ ३० गतेदेखि आधुनिक सूचना तथा सञ्चार प्रविधि र उपकरणको प्रयोग गरी खुला तथा दूर शिक्षा प्रणालीको माध्यमबाट प्राज्ञिक अनुसन्धानमूलक तथा पेशागत विकास सम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

खुला तथा दूर शिक्षा प्रणालीका मानक स्थापना गर्ने, विज्ञहरु उत्पादन गर्ने तथा पूर्वाधार विकास गर्दै राष्ट्रिय स्रोत केन्द्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रम सञ्चालन भएका छन् । स्थापनापछि हालसम्म यो विश्वविद्यालयले के–कस्ता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ भन्ने विषयमा विश्वविद्यालयका उपकूलपति प्रा.डा. लेखनाथ शर्मासंँग नेपाल समाचारपत्रका लागि ईश्वरराज ढकालले गरेको कुराकानी ।

नेपालमा खुला विश्वविद्यालय किन आवश्यक छ ? कुन ऐनका आधार यसको सञ्चालन भइरहेको छ ?

खुला तथा दूर शिक्षाको माध्यमबाट सर्वसुलभ रुपमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न खुला विश्वविद्यालय ऐन २०७३ अनुसार यो विश्वविद्यालय स्थापना भएको हो । सूचना प्रविधिको आधुनिक प्रविधिको प्रयोग गरी बजारको माग र आवश्यकताअनुसार विभिन्न विद्यामा योग्य, दक्ष र गुणस्तरीय शिक्षत जनशक्ति उत्पादन गर्न यो विश्वविद्यालय स्थापना भएको छ । देशको आर्थिक र सामाजिक विकासको मूल प्रवाहमा आउन नसकेका र पछि पारिएका, निरन्तर कक्षमा उपस्थित हुन नसक्ने जनशक्तिलाई घरमै बसेर नविनतम सूचना र प्रविधिको प्रयोग गरी अध्ययन गर्न विश्वविद्यालय स्थापना भएको हो ।

वास्तवमा भन्नुपर्दा परम्परागत उच्चशिक्षा प्रणालीमा समाहित भई उच्च शिक्षा अध्ययन गर्ने अवसरबाट वञ्चित भएका शिक्षित वर्गलाई उनीहरुको पायक पर्ने स्थान, समय र सिकाइको गतिमा उच्च शिक्षा अध्ययनको अवसर उपपब्ध गराउन स्थापित यस विश्वविद्यालयमा सूचना र प्रविधिमार्फत् पठन–पाठन हुन्छ ।

आर्थिक रुपमा कमजोर विद्यार्थीलाई लक्षित गरी शिक्षा प्रदान गर्दै आएको यस विश्वविद्यालयमा विद्यार्थीलाई अध्ययन र अध्यापनको लागि सातवटै प्रदेश कार्यालयको विभिन्न केन्द्रमार्फत पढ्ने व्यवस्था गरिएको छ ।

ड्ड त्यसो भए परम्परागत उच्च शिक्षा प्रणालीभन्दा यो बढी विश्वसनीय छ त ?
अवश्य, किनभने अहिलेको आधुनिक समयमा प्रविधिको प्रयोग गरी अध्ययन गर्ने अभ्यास विश्वव्यापी बनेको छ । विश्वका जुनसुकै देशमा यस्तो शिक्षाको माग र महत्व बढिरहेको छ । सूचना प्रविधि प्रयोग गरी अध्ययन गर्दा त्यससँंग सम्बन्धित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग सजिलै पहुँच बनाउन सकिन्छ । घर नछाडी पढ्ने र सूचना प्रविधिको प्रयोग गर्ने व्यवस्था भएकोले यस विश्वविद्यालयको शिक्षा अन्य विश्वविद्यालयको परम्परागत शिक्षाभन्दा विश्वसनीय छ ।

जुन देशका नागरिक सूचना प्रविधिसँग नजिक भएर त्यससम्बन्धी शिक्षा पाउँछन् उनीहरुको जीवनस्तर पनि उच्च हुन्छ । यसको मतलब द्रुत गतिमा विकास भएको सूचना प्रविधिसँग नजिक भएर विश्वपरिवेशको शिक्षा लिन पाउँदा विद्यार्थीको क्षमतामा विकास हुन्छ । हरेक विद्यार्थीले निजी रुपमा इ–पुस्तकालय प्रयोग गरी अध्ययन गर्दा पढाइमा विश्वसनीयता बढ्छ । घोकन्ते विद्या भन्दा पनि विद्यार्थीको सिकाइको सहयोगको लागि इ–पुस्तकालय, विद्यार्थीको लागि सहयोगी ट्युटर, विद्युतीय सिकाइ व्यवस्थापन प्रणाली, भिडियो कार्यशाला, विद्यार्थी सिकाइ समूहलगायत सिकाइ व्यवस्थापनको कारण पढाइमा थप विश्वसनीयता बढ्छ ।

ड्ड दूर शिक्षाको विधि के हो ? कसरी भर्ना हुने र पढ्ने ?

पढाइ बीचमै छाडेका, विदेशमा रहेका तथा विभिन्न कारणले कलेज जान नपाउनेहरु यस विश्वविद्यालयबाट लाभान्वित हुन्छन् । यस्तै विद्यार्थीलाई लक्षित गरी स्थापना भएको यस विश्वविद्यालयले विभिन्न सूचना प्रणालीको प्रयोग गरी पढाउने गर्दछ । आफू घरमै बसेर आफ्नो साथमा भएको मोबाइलबाट पनि पढ्नसक्ने व्यवस्था भएको यो शिक्षामा परम्परागत र सीमित शैक्षिक प्रणालीको साटो सबै नागरिकको ज्ञान, सीप सम्पन्न पार्न वैकल्पिक प्रणालीको रुपमा दूर शिक्षाको माध्यमबाट पठन–पाठन गराइन्छ ।

दूर भन्ने बित्तिकै टाढाको शिक्षा भन्ने बुझिन्छ तर हाम्रो परिभाषामा शिक्षक र विश्वविद्यालयबाट टाढा तर सूचना प्रविधिबाट नजिक रहेर पढाउने व्यवस्था भएकोले यसलाई दूर शिक्षा भनिएको हो । यसमा शिक्षक र विद्यार्थी प्रविधि–मैत्री हुनुपर्छ । पठन–पाठन विधिमा हाइब्रिटाइज्ड मोड्युल (धेरै विधिको संयुक्त स्वरुप) प्रयोग गरिएको छ । घरमा ल्यापटप, डेक्सटप वा इन्ड्रोइड मोबाइलमा कक्षा सञ्चालन गर्न लर्निङ म्यानेजमेन्ट सिस्टम (एलएमएस) र मुडल एप जोडिएको हुन्छ ।

हामीले प्रत्येक विद्यार्थीको आफ्ने आइडी बनाइदिएका हुन्छौं । पासवर्ड हालेपछि मुडलमा पाँच विषय र कोर्सहरु खुल्छन् । भन्नुको मतलब हामी सबै आधुनिक सूचना प्रविधिको मुडल तयार गरेर अध्ययन गराइरहेका हुन्छौं । विद्यार्थीले आइडीमार्फत जुनसुकै ठाउँबाट आफूले पढेका विषय जुनसुकै बेला अध्ययन गर्न पाउछन् ।

तर दिइएको विषय पढ्न आफू जहाँ भएपनि तोकिएको समयमा उपस्थित हुनुपर्छ । मुडलभित्र अनलाइन डिस्कसन फोरम स्काइप फर बिजनेश, च्याटमार्फत् विद्यार्थी र शिक्षकबीच कुराकानी गर्न सकिन्छ । प्रत्यक्ष हात मिलाउन नपाए पनि विद्यार्थीले आफूले सोधेका प्रश्नको उत्तर शिक्षकले दिने गर्छन् । दूर शिक्षा भएकोले सबै विद्यार्थीले तोकिएको समयमा प्रश्न सोधेर जिज्ञासा मेट्न पाउँछन् । अफलाईन सन्देश प्रभाह भैरहन्छ । शिक्षकले अनलाइनमार्फत् नै असाइनमेन्ट दिन्छन् । त्यो असाइनमेन्ट पूरा गरेकै हुनुपर्छ । सबै शिक्षकले पढाएको रेकर्ड हुने भएकोले शिक्षकले पनि हचुवाको भरमा पढाउनु हुदैन । कुन शिक्षकले कस्तो पढाइरहेको छ भन्ने विषयमा अनुगमन गर्ने गरेका छौं ।

परीक्षा प्रणाली कस्तो छ ? विश्वसनीयताको मुख्य आधार नै यही हो, होइन ?
धेरैलाई लाग्नसक्छ यसको परीक्षा प्रणाली अनलाईन मार्फत नै हुन्छ । तर त्यसो होइन । सेमेष्टर वाइज हुने अन्तिम परीक्षा प्रत्यक्ष हुन्छ ।

अन्य आवधिक परीक्षाहरु अनलाईनमार्फत् पनि नहुने चाहिं होइन । तर विश्वविद्यालमा भर्ना भएका विद्यार्थीले लिखित रुपमै परीक्षा दिनुपर्छ । १६ हप्ताको कोर्ष हुन्छ । नयाँ विश्वविद्यालय भएकोले हामीले कसरी परीक्षा लिने भन्ने बारेमा सोचिरहेका छौं । पूर्ण रुपमा प्रविधिको विकास नभैसकेको कारण अहिले परीक्षा केन्द्रमै बसेर लिखित रुपमा परीक्षा दिने व्यवस्था मिलाएका छौं ।

अधिकांश विषय प्रयोगात्मक हुन्छन् । सबै असाइन्मेन्ट पूरा गर्नुपर्छ । ६ महिनाको एक सेमेष्टर हुन्छ । एक वर्षे कोर्ष पढ्नेले कम्तिमा ३० क्रेडिट आवरको दुई सेमेष्टर पढेर परीक्षा दिनुपर्छ । दुई वर्षे कोर्ष पढ्नेले ६३ क्रेडिट आवर र एमफिल आइसिटिले ३९ क्रेडिट आवर पूरा गर्नुपर्छ । आन्तरिक भारको ६० प्रतिशत अंक सम्बन्धित शिक्षकले शिक्षण सिकाइको क्रममा मूल्याङकनको आधारमा अंक दिन्छन् । अर्ध शैक्षिक सत्र परीक्षा, एकाइ परीक्षा, परियोजना र अनुशन्धान कार्यको आधारमा सम्बन्धित शिक्षकले आन्तरिक मूल्याङकनको आधारमा अंक दिन्छन् ।

हरेक इन्टरर्नल एसाइन्मेन्टमा ४० प्रतिशत अनलाइन मूल्याङकन र ६० प्रतिशत तोकिएको केन्द्रमा पुगेर लिखित परीक्षा दिनैपर्छ । खुला पढाइ भएकोले एकै सेमेष्टरमा उत्तीर्ण गर्नुपर्छ भन्ने छैन । दुई वर्षको कोर्ष भए ६ वर्षभित्र पूरा गरेपुग्छ । अनलाइनमार्फत अध्ययन गरेका विद्यार्थीले १० दिनभित्र असाइन्मेन्ट बुझाइसक्नुपर्छ । तोकिएको समयमा कक्षामा बस्नैपर्छ । यदि छुटेका विद्यार्थीले सबै कक्षाको मुडलभित्र सबै क्रियाकलाप अडियो र भिडियोभित्र हुन्छ आफैले पढ्न सक्छन् । सबै परीक्षाको परीक्षाफल ग्रेडिङ पद्धतिमा हुन्छ ।

कति विषय छन् । के के पढाइ हुन्छ ? 
पोष्ट ग्य्राजुएटदेखि एमफिलसम्मको कक्षा हुन्छ । अहिले हामीले १६ वटा कार्यक्रम सञ्चालन गरिरहेका छौं । सामाजिक तथा शिक्षाशास्त्र, व्यवस्थापन र कानुन र विज्ञान स्वाथ्य र प्रविधि गरी तीन संकायमा पठन–पाठन शुरु गरेका छौं । एक वर्षे कोर्ष अन्तर्गत डिप्लोमा इन लाइब्रेरी इन्फरमेसन मेनेजमेन्ट, विज्ञान स्वाथ्य तथा प्रविधि अन्तर्गत आइसिटी एमफिल, मास्टर्स इन इन्फरर्मेसन टेक्नोलोजी, इन्फरमेशन एन्ड कम्युनिकेशन टेक्नोलोजी, पिजिडि इन इ–लर्निङ, सामाजिक संकायअन्तर्गत डेढ वर्षे एमफिल अन्तर्गत अर्थशास्त्र, राजनीति शास्त्र र समाजशास्त्र छन् । शिक्षाशास्त्र संकाय अन्तर्गत एमफिलमा नेपाली, अंग्रेजी गणित र शिक्षा, स्वाथ्य र समाज विज्ञान छन् । दुई वर्षे कोर्षमा मास्टर्स इन इ–गभर्नेन्स पढाइ भैरहेको छ । दुई वर्षे कोर्ष अन्तर्गत कानुनको एलएलबी, एमबिए, बिबिएस, बिबिए लगायतका विषय पढाइरहेका छौं ।

अब हामी नयाँ नया विषय पढाउने सोचमा छौं । पत्रकारिताको कोर्ष तयारी गरिरहेका छौं । देशलाई जस्तो विषय आवश्यक पर्छ त्यहीअनुसार नयाँ कोर्ष विकास गर्ने तयारीमा छौं । विश्वविद्यालय हिउदे र वर्षे गरी दुई पटक विद्यार्थी भर्ना आवेदन माग गर्नेगरेका छौं । एकदेखि ३ वर्षेसम्मको कोर्ष सञ्चालन गरेका छौं ।

 कहाँ बसेर पढाउने, आफ्नै सेन्टर छैन भन्नुभयो ?
हो, भर्खरै कक्षा सञ्चालन गर्न थालेकोले आफ्नै सेन्टर छैन । परीक्षाको लागि विभिन्न सेन्टर तयार गरेपनि पठन–पाठनको लागि स्थान अभाव खड्किएको छ । सात प्रदेशमा विभन्न क्याम्पस र विद्यालयसँग सहकार्य गरेर ती शिक्षण संस्थामा सूचना प्रविधिको विकास गरी त्यहींबाट पढाउने व्यवस्था गरेका छांै । बजेट अभाव भएकोले आफ्नै सम्पर्क कार्यालय खोल्न सकेका छैनौं । तयारी गर्दैछांै । हेरांै सरकारले कतिको सहयोग गर्छ । ललितपुरको पाटन संयुक्त, पोखराको जनप्रिय क्याम्पस, धनगढीको कैलाली बहुमुखी क्याम्पस, इटहरीको जनता क्याम्पस र कोहलपुरको बागेश्वरी क्याम्पसलाई परीक्षा केन्द्र तोक्ने गरेका छौं ।

 पढाई शुल्क कति छ ?
हामीले सहुलियत शुल्क अबलम्बन गरेका छौं । विश्वविद्यालयमा भर्ना भैसकेपछि तोकेको समयमा नाम दर्ता शुल्क भुक्तान गरी फाराम भनुपर्नेछ । भर्ना हुँदा ६० प्रतिशत शुल्क बुझाइ बाँकी ४० प्रतिशत शिक्षण, परीक्षा शुल्क परीक्षा फाराम भर्ने बेला बुझाउनुपर्नेछ । विश्वविद्यालयले एउटा डिग्रीका लागि २ लाख ४० हजार देखि १२ हजार ५ सयसम्म लिने गरेको छ ।

प्रयोगात्मक परीक्षा भए बढी र नभएको विषयमा कम शुल्क लिने व्यवस्था मिलाएका छौं । कानुन संकायमा स्नातक पढ्नेले १२ हजार तिरेपुग्छ भने व्यवस्थापन कानुन संकायअन्तर्गत एमएस इन डिप्लोमा मेनेजमेन्ट एण्ड गर्भर्नेन्स र एमबिए अध्ययन गर्ने विद्यार्थीले २ लाख ४० हजार तिनुपर्ने हुन्छ । हामीले तह र सेमेष्टरअनुसार कुल विद्यार्थी भर्नाको १० प्रतिशत गरिब जेहेन्दार विद्यार्थीलाई समावेशी छात्रवृत्तिको व्यवस्था गरेका छौं । कुल कोटाको ४० प्रतिशत जेहेन्दार र बाँकी ६० प्रतिशत गरिब र समावेशी समूहलाई छुट्टयाएका छाैं ।

शिक्षक कस्ता छन ? कहाँ–कहाँका शिक्षकले पढाउँछन् ?
हामीकहाँ नाम कहलिएका शिक्षक छन् । विश्वविद्यालय अन्तर्गत १ सय ४० जना शिक्षक छन् । केहीलाई पार्ट टाइममा लिएका छांै । सबै शिक्षक मेहेनती छन् । त्रिभुवन विश्वविद्यालय, काठमाडांै विश्वविद्यालयलगायत देशका अधिकांश विश्वविद्यालयका शिक्षकले पढाउँछन् । अमेरिका, जापान, वेलायत, नेदरल्याण्डलगायत विश्वका चर्चित विश्वविद्यालयबाट पढेर आएका शिक्षकले पढाउँछन् । सबै शिक्षकले पढाएको विषयको रेकर्ड हुने भएकोले शिक्षक आफैले नवीनतम विषय अध्ययन गरी पढाउने गरेका छन् । तलबको कुरा गर्दा त्रिविको भन्दा २० प्रतिशत बढी व्यवस्था गरेका छौं ।

 विश्वविद्यालयले भर्खरै नेपाल प्रेस इन्टच्युट (एनपीआई) सँग सहकार्य गर्ने सहमति गरेको समाचार प्रकाशमा आएको । के विषयमा सहकार्य गर्नुभयो । विश्वविद्यालय खुलेको तीन वर्ष पछि बल्ल सहकार्य गर्नुको कारण ?
नेपालको पत्रकारिता क्षेत्रमा प्रेस इन्टिच्युटले गरेको योगदानको विषयमा विश्वविद्यालयले विभिन्न कोणबाट अध्ययन गरेको थियो । पत्रकारिता क्षेत्रमा एनपिआईले गरेको कामप्रति विश्वविद्यालय अति सन्तुष्ट छ, त्यसैले सहकार्य गर्ने निर्णय लिएको हो । एनपिआईसँग आमसञ्चारको पाठ्यक्रम बनाउन सहकार्य गरेका हौं ।

आमसञ्चार विषय पढाउन छलफल गरिरहेको विश्वविद्यालयले एनपिआर्इंको सहकार्यमा शिक्षक व्यवस्थापन, पाठ्यक्रम निर्माण, प्रयोगात्मक परीक्षा सञ्चालन गर्न आवश्यक भौतिक र शैक्षिक सहयोग, गुणस्तरीयतासँग मिल्ने कोर्ष निर्माण गर्छौ । दुई संस्थासँग मिलेर कोर्ष बनाउँछौं । पत्रकारिता विषयमा एमफिल गर्न आउने विद्यार्थीका लागि नयाँ पाठ्यक्रमको विकास गर्न एनपिआईसँग सहकार्य गर्छौ ।

अहिलेको आवश्यकताको विषयमा अध्ययन गर्दा दूर शिक्षाको माध्यमबाट पत्रकारिता पढ्ने विद्यार्थीको संख्या बढ्न थालेको महसुस गर्यांै, त्यसपछि हामीसँग सहकार्य गर्ने संस्थाको खोजी गर्दै जादा एनपिआईनै उत्कृष्ट संस्था पायौं । हामीले अब व्यावसायिक तालिम प्रकृतिका छोटो अवधिका प्रोफेस्नल कोर्स पनि सञ्चालन गर्ने भएका छौं । यस्ता तालिम पत्रकारितको विषयमा पनि हुनेछन् ।

 कस्ता व्यक्तिहरु अध्ययन गरिरहेका छन् ?
दिनभरि जागिर वा कुनै व्यवसायमा व्यस्त व्यक्ति हामीकहाँ आउँछन् । विभिन्न निकायका उच्च पदस्थ कर्मचारी, सिडियो, सहसचिव लगायतका सरकारी सेवामा लागेका अति ब्यस्त व्यक्ति अध्ययनरत छन् । विशेषगरी सूचना प्रविधिसँग गाँसिएका सुरक्षा निकायदेखि, प्रसाशनिक क्षेत्रका व्यक्तिहरु भर्ना भएका छन् । खासगरी खुला विश्वविद्यालय सरकारी सेवामा लागेका वा जागिरे व्यक्तिका लागि पढाइको थलो बन्दैगएको छ । पेशा गर्दै पढ्दै गर्न सजिलो भएका व्यक्तिहरु यो विश्वविद्यालयमा पढिरहेका छन् ।

विश्वविद्यालयप्रति कस्तो आकर्षण छ ?
आकर्षणको त कुरै नगरौं । यो सेमेष्टरमा २ सय ८० जना विद्यार्थी भर्ना गर्न आवेदन मागेका थियांै । अहिलेसम्म ९ सयको आवेदन परेको छ । हामी प्रवेश परीक्षा लिएर विद्यार्थी छनौट गर्ने भएकोले विद्यार्थीको चाप धान्नै नसक्ने अवस्थामा पुगेका छौं । सोसल साइन्स एण्ड एजुकेशन र साइन्स, हेल्थ एण्ड टेक्नोलोजी संकायका सात विषयमा विद्यार्थी भर्ना खोलेका थियौं ।

भर्ना गरिदिनुप¥यो भनेर सोर्स लगाउनेको संख्या पनि उत्तिकै छ । तर हामी सोर्सफोर्समा होइन प्रवेश गरीक्षामा उत्तीर्ण भएका विद्यार्थीलाई मात्र छनौट गर्छौ । अहिलेसम्म सोर्सबाट भर्ना भएका विद्यार्थी छैनन् । शुरुमै राम्रो विद्यार्थी छनौट गरी उत्कृष्ट शिक्षा दिनुपर्छ भन्ने मान्यता बोकेको विश्वविद्यालयमा छानिएका विद्यार्थी मात्र भर्ना हुने भएकोले पढाइमा गुणस्तरीयता कायम भएको दाबी गर्न सकिन्छ ।

 विश्वविद्यालयले कुनै विदेशी विद्यालयसँग सहकार्य गरेको छ ?
तत्काल यही विश्वविद्यालयसँग सहकार्य गरेका छौं भन्न सकिने अवस्था छैन । अमेरिका, फिनल्याण्ड, नेदरल्याण्ड, फिलिपिन्स, नर्वे गरी पाँच मुलुकका विश्वविद्यालयसँग सम्झौता गरेका छौं । ती मुलुकका विश्वविद्यालयसँग प्राविधिक र व्यावसायिक शिक्षा, इ–लर्निङ, टिचर ट्रेडिङ गर्नेलगायतका विषयमा सम्झौता गरेका छांै । विभिन्न विदेशी खुला विश्वविद्यालयका कोर्षको बारेमा अध्ययन गरिरहेका छांै । विदेशी विश्वविद्यालयले हामीसँग सहकार्य गर्ने वचन दिएका छन् । हामी विभिन्न किसिमका योजना बनाइरहेका छौं । विदेशी विश्वविद्यालयको सहयोगमा नेपालमा खुला विश्वविद्यालयको विकासमा लागिपरेका छौं ।

पढाइको त कुरा ग¥यौ ? समकक्षताको कुरा गर्दा नेपाल र विदेशी विश्वविद्यालयसँग कोर्षको समकक्षता कस्तो छ ?
सरकारले ऐन ल्याएर खोलेको विश्वविद्यालय भएकोले नेपालमा खुलेका विश्वविद्यालयजस्तै यसको पनि समकक्षता हुन्छ र छ । पूरा तह उत्तीर्ण गरेपछि यहाँ अध्ययन सकेर गएका विद्यार्थीलाई अन्य विश्वविद्यालयले के गर्छ भन्ने उदाहरण खोज्न अझै एक वर्ष कुर्नुपर्ला । तर सरकारले सबै विश्वविद्यालयको जस्तै ऐन ल्याएर स्थापना गरेको विश्वविद्यालय भएकोले समकक्षतामा कुनै समस्या आउँदैन । हामीले त अझ सबै विषयमा पर्याप्त क्रेडिट आवरको व्यवस्था गरेका छौं । सेमेष्टर प्रणालीअनुसार पढाइ हुने भएकोले समकक्षतामा समस्या देखिदैन । यो विश्वविद्यालयबाट उत्तीर्ण भएका विद्यार्थी विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जादा कुनै समस्या हुदैन । सजिलै समकक्षता पाउन सक्छन् ।

 नयाँ खुलेको विश्वविद्यालय भएका कारण समस्या त पक्कै भोग्नुभएको होला, कस्ता छन् ?
केही समस्या छन् । हामी अझै पूर्ण रुपमा प्रविधिमैत्री हुन सकेका छैनौं । हामीले अझै सोचेजस्तो प्रविधिमैत्री शिक्षक पाउन सकेका छैनौं । विदेशमा रहेका केही शिक्षकले पढाइरहनुभएको छ । बजेट नभएको कारण प्रदेश सम्पर्क कार्यालय खोल्न सकेका छैनांै । कर्मचारीको अभाव छ । आफ्नै भवन नभएर भाडाको घरबाट कार्यालय सञ्चालन गर्दा समस्या परेको छ ।

परम्परागत पढाइबाट टाढा राखेर विद्यार्थीलाई सूचना प्रविधिमैत्री बनाउँदा प्रविधिमा केही समस्या हुनु सामान्य हो । कम स्पीड भएको नेटबाट पढाउँदा समस्या भएको सुन्ने गरेका छांै । पाइलटिङ र लर्निङ सँगै गर्नुपरेको छ । पर्याप्त पुस्तक छैन । जे भएपनि सरकारले नयाँ विश्वविद्यालय स्थापना गरेर नेपालमा खुला शिक्षाको व्यवस्था गरेर घरबाटै पढ्ने वातावरण बनाइदिएको छ, यसको सर्वपक्षीय स्वागत भएको छ । क्रमशः साना–तिना समस्या पनि निराकरण हुँदैजानेछन् ।

प्रतिक्रिया दिनुहोस्