क्रसर उद्योगको व्यवस्थापन गर



सामान्यतः क्रसर उद्योग सञ्चालन गर्न राजमार्गबाट पाँच सय मिटर, खोलाकिनारबाट पाँच सय मिटर, हाइटेन्सन लाइनबाट एक सय मिटर, शिक्षण संस्था, स्वास्थ्य संस्था, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका स्थान, सुरक्षा निकाय, वन, निकुञ्ज र आरक्ष, घनाबस्तीबाट दुई किलोमिटर दूरीमा उद्योग रहनुपर्ने मापदण्ड तोकिएको छ । मापदण्डविपरीत बस्ती र विद्यालयनजिक खुल्न लागेको उक्त क्रसरले स्थानीय निकायसँग अनुमति नलिएको र वातावरणीय प्रभाव मूल्यांकनविना नै सञ्चालन हुन लागेको बताइएको छ ।

नेपालमा क्रसर उद्योगको दादागिरी देशभरि नै व्याप्त छ । पहुँच र प्रभावका भरमा केही व्यक्तिले जथाभावीरुपमा मापदण्डविपरीत क्रसर सञ्चालन गरिरहेका छन् । क्रसर उद्योग स्थापनाले धूलो, उच्च ध्वनि तथा वातावरणीय प्रदूषण बढाएको गुनासो त सामान्य भइसकेका छन् । सरकारी निकायको नियमन र अनुगमन गर्ने निकायको उदासीनताका कारण विभिन्न जिल्लामा नदी–खोलामा अवैधरुपमा ढुंगा–गिटी, बालुवाको उत्खनन बढ्दै गइरहेको छ ।

कतिपय स्थानमा त स्थानीय निकायकै मिलेमतोमा नदी–खोला दोहन भइरहेको छ । केही स्थानीय तहले आम्दानीको आन्तरिक स्रोत नै ढुंगा–गिटी, बालुवाको उत्खननलाई बनाएको देखिन्छ । केही मुठ्ठीभरका सीमित व्यक्ति वा समूहको स्वार्थका निम्ति जथाभावीरुपमा नदी–खोलाको अनियन्त्रित दोहनका कारण दूरगामी वातावरणीय असर देखिन थालेका छन् । ढुंगा–गिटी, बालुवा जम्मा गर्ने भनेर लिइएको जुटपानीको जग्गामा क्रसरका लागि संरचना बनाउँदा पानीको मुहानै सुकेर आठ सय परिवार प्रभावित हुनु दादागिरीको पराकाष्ठा हो । क्रसर उद्योगका कारण पानीको मुहान सुकेपछि कालिका नगरपालिकाले वैकल्पिकरुपमा बोरिङबाट पानीको व्यवस्था गर्न सुझाएको छ । प्राकृतिकरुपमा सृजित पानीको मुहान मासेर बोरिङबाट पानी निकाल्न लगाउनु अवैज्ञानिकमात्रै होइन स्थानीय निकायको निरीहता पनि हो ।

नदी–खोलाको दोहन र ढुंगा–गिटीको चोरीनिकासी नियन्त्रणका लागि सरकार असफल भइसकेको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले ढुंगा–गिटी, बालुवा उत्खनन तथा उपयोगको दर्ता, अनुमति, नवीकरण, खारेजी र व्यवस्थापनको जिम्मा गाउँपालिका र नगरपालिकालाई दिएको छ । अहिले नदीजन्य पदार्थ उत्खनन तथा निकासी स्थानीय तहको सिफारिसमा जिल्ला समन्वय समितिले अनुमति दिने गरेको छ । मापदण्डविपरीत क्रसर उद्योग सञ्चालन भइरहे पनि त्यसलाई नियन्त्रण गर्न सरकारले प्रभावकारी कदम चाल्न नसक्नुको सोझो अर्थ हो– नेता, कार्यकर्ताको प्रत्यक्ष लगानी र दलहरुका लागि आर्थिक लाभ ।

नदी–खोलामा महिनौँदेखि अनियन्त्रित र अवैधरुपमा ढुंगा–गिटी, बालुवाको उत्खनन भइरहँदा पनि चासो नदिनु सम्बन्धित सरकारी निकायको गैरजिम्मेवारीपन हो । नदीजन्य पदार्थ उत्खननमा मात्रै होइन क्रसर उद्योग सञ्चालनका लागि पनि वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय परीक्षण जरूरी हुन्छ । नदीजन्य पदार्थको उत्खनन तथा क्रसर उद्योगको नियमन–अनुगमन प्रभावकारी नहुँदा सीमित व्यक्तिको मिलेमतोमा अनुमति नलिएरै दादागिरी चल्दै आएको छ । पानीको स्रोत सुक्ने, जलचरको जीवनचक्र प्रभावित हुने, बाढीपहिरोको जोखिम बढ्ने समस्यालाई मध्यनजर गर्दै स्थानीय तहले प्रस्ट नीति–नियम बनाएर नदीको अवैध उत्खनन नियन्त्रण तथा क्रसर उद्योगको व्यवस्थापन गर्नु जरूरी देखिएको छ ।

मदन भण्डारीको स्मरण
नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका दूरदर्शी नेता मदन भण्डारीको निधन भएको २६ वर्ष पुगेको छ । ०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय मोटर दुर्घटनामा भण्डारीको निधन भएको थियो । उक्त दुर्घटना षड्यन्त्रमूलक हत्या हो या चालक अमर लामाको लापरबाही हो भन्ने रहस्य अझै खुल्न सकेको छैन । एक मात्रै साक्षी जिप चालक लामाको डेढ दशकअघि नै हत्या भएका कारण यो दुर्घटनाको रहस्य इतिहासको गर्भमा अनुत्तरित नै रहने सम्भावना देखिएको छ ।

सामान्य दुर्घटना नभएर हत्या नै भएको ठहर त्यतिवेला नै मदन भण्डारीको पार्टी नेकपा एमालेले गरेको थियो । त्यसयता नेकपा एमालेका मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल र केपी शर्मा ओली गरी चारजना प्रधानमन्त्री भइसकेका छन् । ओली त दोस्रो कार्यकालका लागि प्रधानमन्त्री छन् । भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी पनि दोस्रो कार्यकालका लागि राष्ट्रपतिपदमा आसिन छन् । दुईपटक प्रधानमन्त्री भइसकेका पुष्पकमल दाहाल प्रचण्ड पनि यतिवेला मदन भण्डारीले पुनर्ताजगी गरेको पार्टीमै छन् । तर, मदन भण्डारीको हत्या भएको हो या दुर्घटना मात्रै हो ? भन्ने प्रश्नको निक्र्योल गर्नेतर्फ ध्यान गएको देखिँदैन ।

वर्षाैँ बितिसकेको र प्रमाण नष्ट भइसकेका कारण अब पार लाग्दैन भनेर पनि नेकपाका नेताहरूले निच मारेका हुन सक्छन् । तर राज्यले चाहने हो भने एउटा अनुसन्धान आयोग खडा गर्न नसकिने होइन । अनुसन्धान आयोगले आफ्नो काम गर्दैजाँदा कसैको केही विगार हुँदैन । हत्या हो या दुर्घटना मात्रै हो ? भन्ने कुराको जबसम्म निक्र्योल हुँदैन तबसम्म मदन भण्डारीको आत्माले शान्ति पाउँदैन । आफू सत्तामा नपुग्दा सम्म हत्या भयो भन्दै हंगामा मच्चाउने, हत्यारा पत्ता लगाएर कारबाही गछौं भन्दै मत मागेर चुनाव जित्ने तर सत्ता प्राप्ति भइसकेपछि निच मारेर बस्ने प्रवृत्ति भनेको ठूलो राजनीतिक बेइमानी हो ।
जुन वेला विश्वभरिका कम्युनिस्ट पार्टी तथा सत्ताहरू आफ्नै कारण चकनाचुर हुँदै गइरहेका थिए त्यही वेला नेपालको कम्युनिस्ट पार्टी (नेकपा) एमाले असाधरण रूपमा संगठित तथा लोकप्रिय भइरहेको थियो । नेकपा एमाले असाधरण रूपमा संगठित र लोकप्रिय बन्दै जानुको एक मात्रै कारण थियो मदन भण्डारीको दूरगामी सोच । उनले ‘सिद्धान्तका निम्ति जीवन होइन, जीवनकालागि सिद्धान्त हो’ भन्ने नयाँ अवधारणा अघि सारे ।

‘के भइरहेछ त्यो हेर्ने मात्र होइन, के हुनुपर्छ र के हुन सक्छ’ भनी सर्वमान्य विकल्प खोजी गर्न सकिएन भने कम्युनिस्ट आन्दोलन समाप्त हुन्छ भन्दै प्रभावशाली भाषणको माध्यमबाट कार्यकर्तामा उर्जा भर्ने काम उनले गरे । जुन वेला विश्वभरि नै कम्युनिस्ट पार्टीहरूलाई उग्रवामपन्थी चिन्तनका कारण हिंसा र अधिनायकत्वको प्रतिक मानिन्थ्यो त्यो वेला उनले दलीय प्रतिस्पर्धामा आधारित जनमतको माध्यमद्वारा पनि कम्युनिस्ट पार्टीले सत्ता प्राप्त गर्न सक्छन् भन्ने कुरालाई प्रमाणित गरिदिए । अहिले उनीलाई धेरैले बिर्सिदिए । उनको मृत्युबारे सत्यतथ्य खोज्न त परै जाओस्, स्मरणमा पनि कन्जुस्याइँ गरेको देखिन्छ ।
– रुपा चन्दारा, कपुरकोट, सल्यान ।

प्रतिक्रिया दिनुहोस्