डेढ वर्षमा बुटवलमा डुङ्गा चलाईन्छः मेयर सुवेदी



यमलाल भुसाल, बुटवल ।
प्रदेश पाँचको अस्थायी राजधानी बुटवलमा पूर्वाधार निर्माणसंगै बिकासले उच्च गति लिएकाले यस क्षेत्रमा भएका होटलको स्तर बृद्धि गर्नुपर्ने तथा ठूला होटलमा लगानी बढाउनु पर्नेमा एक कार्यक्रममा बोल्ने वक्ताहरुले औंल्याएका छन् ।

भैरहवामा निर्माणधिन अन्तर्राष्ट्रिय बिमानस्थल निर्माण सम्पन्न भएपछि विश्वको पर्यटनको केन्द्र रुपन्देही बन्ने र बुटवलमा बन्दै गरेको अन्तर्राष्ट्रिय स्तरको सभाहल निर्माण सम्पन्न भए पश्चात यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम समेत हुने भएकाले स्टार लेवलका होटलमा लगानी अवको पहिलो प्राथमिकता हुनु पर्ने उनीहरुले औंल्याए ।

होटल तथा रेष्टुरेन्ट व्यबसायी संघ बुटवलको शनिबार बुटवलमा भएको १९ औं साधारण सभामा बोल्ने वक्ताहरुले व्यबसायीले व्यबसायिक मर्यादा पालना गर्न समेत सुझाव दिएका छन् ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले विमानस्थल र अन्तर्राष्ट्रिय सभाहल निर्माण सम्पन्न भएपछि विश्वका पर्यटकको केन्द्र पनि रुपन्देही बन्ने र अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम समेत बुटवलमै हुने भएकाले त्यतिवेलालाई मध्येनजर गरेर स्टार लेवलका होटलमा लगानी गर्न अपरिहार्य रहेको बताउनु भयो ।

उहाँले ठूलो होटलमा पुँजी ठूलो लाग्छ, एक्लैले लगानी गर्न नसकिन सक्छ भन्दै सबै व्यबसायीको लगानी हुनेगरी सहकारीका माध्यमबाट ठूला होटलमा लगानी गर्न समेत सुझाव दिनुभयो । मेयर सुवेदीले सामुदायीक वनले ओगटको जग्गालाई बहुउपयोग गर्ने गरी रणनीति बनाउन जरुरी रहेको बताउनु भयो ।

डेढ वर्ष भित्रमा बुटवलको नरेनापुरमा डेढ किलो मिटर डुंगा चलाउने गरी काम भैरहेको बताउंदै कालिकापथ र श्रवणपथलाई आन्तरिक वाइपास सडकको रुपमा विस्तार गरिने समेत उहाँले बताउनु भयो ।

त्यस्तै होटल व्यबसायी महासंघनेपालका संस्थापक अध्यक्ष माधव नेपालले जमिनका कारण ठूला होटलमा लगानी ठूलो भएका कारण सरकारले जग्गा व्यबस्थापन गरेर लिजमा दिने हो भने स्टार लेवलका होटल सञ्चालनकालागि व्यबसायी तयार रहेको बताउनु भयो । उहाँले बुटवलको कालिका मन्दिरदेखि योगिकुटी सम्मको भित्री बाटो होटलको हवको रुपमा बिकास भएकाले उक्त सडकलाई सुधार गर्नुपर्ने माग गर्नुभयो ।

त्यस्तै होटल तथा रेष्टुरेन्ट व्यबसायी महासंघका प्रदेश अध्यक्ष भास्कर काफ्लेले होटल व्यबसायीले व्यबसायिक मर्यादा कायम राख्नुपर्ने र समयसापेक्ष रुपमा सेवामा सुधार गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले सरकारले पर्यटनलाई मुलुकको बिकासको पहिलो आधारको रुपमा लिएपनि यस क्षेत्रको बिकासकालागि बजेट विनियोजनमा कन्जुस्याईँ गरेको बताउनु भयो ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै होटल तथा रेष्टुरेन्ट व्यबसायी संघका अध्यक्ष समुन्द्र जिसीले पछिल्लो समयमा होटल व्यबसायमा लगानी बढेपनि प्रष्ट नीतिको अभाव र भएको नीति पनि सहि रुपमा कार्यान्वयन नहुँदा लगानीमा चुनौती थपिएको बताउनु भयो ।

कार्यक्रममा नेकपाका बुटवल नगर अध्यक्ष बाबुराम पन्थी, रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष उज्वल कसजु, होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ प्रदेश नम्बर पांचका बरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, संघका निर्वमान अध्यक्ष मोदनाथ वेलवासे ,पत्रकार महासंघ रुपन्देहीकी उपाध्यक्ष निरु गौतम, होटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन सिद्वार्थनगरका अध्यक्ष लिलाधर भट्टराई, संघका वरिष्ठ उपाध्यक्ष जीवन श्रेष्ठ, पत्रकार डायलसनअधिकारी लगायतले पर्यटन व्यवसायलाई सफल बनाउन सरकारले रकम विनियोजन गरी प्रभावकारी रुपमा काम अगाडी बढाउन माग गर्नु भयो । कार्यक्रममा कालिदास स्मृति अक्षयकोषवाट उत्कृष्ट पर्यटन पत्रकारिता पुरस्कार पत्रकार डायलसनअधिकारीलाई प्रदान गरिएको थिायो । त्यस्तै संघका कार्यालय प्रमुख टिका ज्ञवालीलाई पनि सम्मान गरिएको हो ।

पत्रकार अधिकारीलाई नगद ७ हजार पांच सयसहित पुरस्कृत गरिएको हो । साधारण सभाले अध्यक्ष जिसी महासचिव माधव खनालको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टंक प्रसाद पराजुलीको आर्थिक प्रतिवेदन पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्