जिल्ला लिग शुरु, वर्षेनी टीम घट्दै



बाँक ।
बाँके जिल्लामा वर्षेनी जिल्ला लिग फुटबल खेल्ने टीम घट्दै गएको छ । बाँके जिल्ला फुटबल संघमा दर्ता भएका क्लवले भाग लिने यो प्रतियोगितामा वर्षेनी संख्या घट्दै गएको हो ।

गतवर्ष १४ वटा टीमले जिल्ला लिग खेलेकोमा यसपाली ११ वटा टीमले सहभागिता जनाएको छ । शनिबारदेखि बाँकेमा जिल्ला लिग फुटबल शुरु भएको छ । जिल्लामा अघिल्लो वर्ष २७ र त्यसअघि ४२ वटा क्लव थिए । संघमा ‘राजनीति’ गर्नका लागि क्लव दर्ता गर्नेहरुले जिल्ला लिगमा टीम उतार्न नसकेपछि क्लव स्वतः खारेज भएको हो । बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाहीले जिल्ला लिगमा भाग नलिने क्लवको दर्ता खारेज हुने बताउनुभयो । ‘जिल्ला लिगमा टीम कम हुँदै जानुको कारण नै त्यही हो । जसले जिल्ला लिगमा टीम उतार्दैन त्यो क्लव खारेजीमा परिहाल्छ, संघका अध्यक्ष शाहीले भन्नुभयो, एउटा टीमसम्म उतार्न नसक्ने क्लवलाई राखेर के फाइदा ?’

शनिबारदेखि शुरु भएको जिल्ला लिगमा ११ वटा क्लवले प्रतिस्पर्धा गर्दैछन् । प्रहरी तालिम केन्द्रमा शुरु भएको जिल्ला लिगको पहिलो दिनको खेलमा नवदुर्गा युवा क्लव, कम्दी र बुद्ध युवा क्लव, मुक्तिपुर विजयी भएका छन् ।

नवदुर्गा युवा क्लवले युनाइटेड क्लव, नेपालगञ्जलाई ५–० गोलले पराजित ग¥यो । एकतर्फी भएको खेलमा नवदुर्गाका लागि निमबहादुर हमालले दुई, जीवन चन्द, देवराज गिरी र यामबहादुर बुढाथोकीले एक/एक गोल गरेका थिए । अर्को खेलमा बुद्ध युवा क्लवले जयकिसन क्लव, सैनिकलाई २–० गोलले पराजित गरेको छ । बुद्धका लागि अनिस लामा र तिलक भण्डारीले एक/एक गोल गरेका थिए ।

प्रतियोगिताको उद्घाटन प्रहरी तालिम केन्द्रका गणपति एसएसपी डा. देवबहादुर बोहराले गरेका थिए । एसएसपी बोहराले रेफ्री अमर घलेलाई बल हस्तान्तरण गरेर खेलको उद्घाटन गरेका थिए । जिल्ला लिगको विजेताले प्रदेशमा सहभागिता जनाउन पाउँछ । प्रदेश च्याम्पियनले केन्द्रमा खेल्न पाउने प्रशिक्षक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्