पुलिसले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि



काठमाडौँ ।
प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लवले जितेको छ । त्रिभुवन आर्मीलाई ४ विकेटले हराउँदै पुलिस क्लवले जीत हासिल गरेको हो ।

कीर्तिपुर क्रिकेट मैदानमा पहिले ब्याटिङ गरेको आर्मी ३३ ओभर तीन बलमा १ सय २५ रनमा अलआउट भयो ।

उसका लागि राजु रिजालले ३२ र सोमपाल कामीले ३५ रन बनाउनु बाहेक अन्य खेलाडी सस्तैमा आउट भए । जसमा रोहित पौडेल १८ र भिम सार्की २० रनमा पेभेलियन फर्किए । पुलिसका पवन सरार्फ र ललितनारायण राजवंशीको कसिलो बलिङ सामु आर्मीका ब्याट्सम्यान निरिह रहे ।

पुलिसका पवनले ७ ओभरमा ४ मेडल राख्दै १२ रन खर्चेर ४ विकेट लिए । ललितले ९ दशमलव ३ ओभर बलिङ गर्दै १ मेडन सहित ३६ रन खर्चेर ४ विकेट लिए । सागर ढकालले १ विकेट हात पारे ।

जवाफमा पुलिसले ४० ओभर तीन बलमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । सुरुवात राम्रो गर्न नसकेको पुलिसले दुई रनमा पहिलो विकेट गुम्यो भने ५४ रनमा दोस्रो विकेट झर्यो । त्यसपछि ७५ रनमा तेस्रो तथा ७६ रनमा चौथो विकेट गुमाउन पुग्यो ।

पुलिसका अनिल शाहले मात्र दुई रनमा आउट भए भने अमित श्रेष्ठले ४४ रनकोे योगदान गरे । अमीत र सुनील धमलाले दोस्रो विकेटका लागि ५२ रनको साझेदारी भएको थियो । तर त्यसपछि आरिफ शेख मात्र ६, पवन सराफ एक र दिपेन्द्र सिंह ऐरी ७ रनमा आउट हुन पुगे ।

त्यसपछि फेरी कुशल भुर्तेललाई ६ रनमा गुमाएपछि पुलिसले छैटौ विकेट गुमायो । पुलिसका लागि सुनील धमलाले अविजीत ४२ रन बनाए । अन्तिममा मञ्जित श्रेष्ठले ११ रन जोडे । बलिङमा आर्मीका करण केसीले तीन तथा साहब आलमले दुई विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्