बैतडीमा महिला क्रिकेट शुरु



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दशरथचन्द नगरपालिकामा शुक्रवारदेखि उन्नाईस बर्षमुनीको उप–मेयर कप महिला टि –ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
निंगलाशैनी खेल मैदान देहिमाण्डौंमा भएको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका ६ थालिगडाले विजयी सुरुवात गरेको छ । थालिगडाले दशरथचन्द नगरपालिका ५ दशरथचन्दलाई ९ विकेटले स्तब्ध पार्दै विजयी सुरुवात गरेको हो ।

टस जितेर पहिला ब्याटिंग गरेको दशरथचन्द १३ दशरमलव ३ ओभरमा ११६ रनमा समेटियो । ११७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको थालिगडाले ९ दशमलव ५ ओभरमा १ विकेटको क्षतीमा लक्ष्य भेट्टायो । थालिगडाका लागी सुनिता लुहारले अर्धसतकिय पारी खेल्दै अविजित ५८ रन बनाए भने विद्या कार्कीले पनि अविजित ४४ रन हिर्काए ।

यसअघि दशरथचन्दका लागी कृष्णा नाथले ४९ रन जोडेका थिए । कसिलो बलिंग गरेका थालिगडाका सुनिता लुहारले ३ विकेट हात पारे । दशरथचन्दका लागी १ मात्र विकेट कृष्णा नाथले झारे । खेलका म्यान अफ द म्याच सुनिता लुहार भएका स्कोरर दिपेन्द्र बोहराले जानकारी दिए ।

यसअघि दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्द, नेपाली कांग्रेस बैतडीका पुर्व सभापती शिवराज भट्ट लगायतको उपस्थितीमा प्रतियोगिताको उद्घाटन गरिएको थियो ।

दशरथचन्द नगरपालिकाको आयोजना र बैतडी जिल्ला क्रिकेट संघको प्राविधिक सहयोग तथा नगर क्रिकेट समितिको व्यस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

प्रतियोगिताको प्रथम पुरस्कार ३० हजार,द्वितीय पुरस्कार २५ हजार नगद, ट्रफी र प्रमाणपत्र रहेको छ । यस्तै म्यान अफ द सिरीजलाई ५ हजार नगद, ट्रफी र प्रमाणपत्र पुरस्कार दिईने नगर क्रिकेट समितिका संयोजक रमेश भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस्