न्युजिल्यान्डको लगातार दोस्रो जित



लन्डन, (एजेन्सी)

न्युजिल्यान्डले आईसीसी क्रिकेट विश्वकपअन्तर्गत लगातार दोस्रो जित हात पारेको छ।
बुधबार भएको खेलमा न्युजिल्यान्डले बंगलादेशमाथि रोमाञ्चक २ विकेटको जित हासिल गरेको हो। इंग्ल्यान्डको ओभल मैदानमा २ सय ४५ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डले कप्तान केन विलियमसनलाई झण्डै शुरूमै गुमाउन पुगेको थियो। भाग्यवश रनआउट हुनबाट जोगिएपछि विलियमसनले मौकाको फाइदा उठाए। उनी र रोस टेलरले ५५÷२ बाट १ सय ६० रनसम्म पुर्याएका थिए। विलियमसन ४० रन बनाएर मेहदी हसनको बलमा आउट भएका थिए। यसपछि टेलर पनि १ सय ९१ रनको योगफलमा आउट भएका थिए। मोसाडेकको बलमा आउट हुन अगाडि उनले ८२ रनको योगदान दिए।

टेलर आउट भएपछि न्युजिल्यान्डले २ सय १८ रनको योगफलसम्म थप २ विकेट गुमाएको थियो। जिम्मी नीसाम (२५ रन) लाई मोसोडेकले र कोलिन डी ग्रान्डहोम (१५ रन) लाई मोहम्मद सैफुद्दिनले आउट गरेका थिए। सात विकेट हात पारेपछि बंगलादेशले अर्को स्तब्ध नतिजा निकाल्न अग्रसर भएको थियो।

तर आठौं विकेटका लागि म्याट हेनरी र मिचेल सान्टनरले २० रनको साझेदारी गरे। हेनरीलाई सैफुद्दीनले आउट गर्दा न्युजिल्यान्ड जितबाट ७ रनले टाढा थियो। सान्टनर र फेर्गुसनले आवश्यक रन बटुल्दै १७ बल बाँकी राखी लक्ष्य पार गरेर न्युजिल्यान्डको सम्भावित हार टारेका थिए। सान्टनर १७ रनमा र फेर्गुसन ४ रनमा नटआउट रहेका थिए। बंगलादेशको तर्फबाट मेहदी, मोसाडेक, सैफुद्दिन र सकिब उल हसनले २÷२ विकेट लिएका थिए।

यसअघि ब्याटिङमा बंगलादेशले ४९.२ ओभरमा अलआउट हुँदै २ सय ४४ रन जोडेको थियो। जसमा शकिबले सर्वाधिक ६४ रन जोडेका थिए। न्युजिल्यान्डका बलरमा म्याट हेनरीले सर्वाधिक ४ विकेट लिएका थिए। यसअघि बंगलादेशले दक्षिण अफ्रिकालाई र न्युजिल्यान्डले श्रीलंकालाई हराएका थिए।

प्रतिक्रिया दिनुहोस्